मराङ गाउँमा सामुदायिक होमस्टे सञ्चालन

डिसी नेपाल
२१ जेठ २०८३ २२:२१

मुस्ताङ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ मराङ गाउँमा ग्रामीण सामुदायिक होमस्टे (घरबास) सञ्चालनमा ल्याइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङको समन्वयमा मराङमा ’लोमराङ सामुदायिक होमस्टे’ आजदेखि सञ्चालनमा आएको हो।

उपल्लो मुस्ताङको मराङ गाउँमा ४८ घरधुरीको बसोबास छ। तीमध्ये १८ घरधुरीले पाहुना राख्न मिल्ने होमस्टे सञ्चालन गरेका हुन्। राष्ट्रिय गौरवको जोमसोम–कोरला मुख्य राजमार्गअन्तर्गत सडकबाट पश्चिमतर्फ करिब पाँच किलोमिटर दूरीमा अवस्थित मराङ गाउँ पर्यटनका हिसाबले आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको छ।

लोमान्थाङ र चराङका गाउँमा पर्यटकको आगमन हुँदा मराङ गाउँमा भने पर्यटन प्रवर्द्धन हुन सकिरहेको छैन। कृषि र पशुपालन पेसामा मात्रै आश्रित मराङ गाउँका स्थानीयलाई होमस्टेमार्फत पर्यटनसँग जोड्ने र आयआर्जन बढाउने गरी एक्यापले प्राविधिक सहयोग गरेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए।

स्थानीयको आर्थिक विकास र जीविकोपार्जनमा सुधार होस् भन्ने उद्देश्यले मराङ गाउँका एक तिहाइ घरधुरीलाई होमस्टेमा आबद्ध गराइएको उनले उल्लेख गरे। धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उपल्लो मुस्ताङमा विश्वकै पहिलो र पुरानो दाबी गरिएको लोघेकर गुम्बा (घर गुम्बा) अवस्थित छ। गुरु पद्मसम्भव अर्थात् गुरु रिन्पोछेद्वारा निर्माण गरिएको लोघेकर गुम्बा आठौँ शताब्दीमा निर्माण गरिएको स्थानीय बताउँछन्।

गुरु पद्मसम्भवले राक्षसको वध गरेकाले मराङको सो स्थानमा धार्मिक गुम्बा निर्माण गरिएको बौद्ध धर्मग्रन्थमा उल्लेख छ। सोही कारण यस क्षेत्रको प्रचारप्रसार गर्न सकेमा पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयले आयआर्जनका अवसर पाउने भएकाले मराङमा लोमराङ सामुदायिक होमस्टे सञ्चालन गरिएको हो।

होमस्टे सञ्चालन तथा व्यवस्थापनका लागि उपसमितिसमेत गठन गरिएको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिका उपाध्यक्ष छिरिङ ल्हामो गुरुङ अध्यक्ष र कुङ्गा गुरुङ सचिव रहेको होमस्टे सञ्चालन तथा व्यवस्थापन उपसमिति गठन भएको एक्याप लोमान्थाङले जनाएको छ।

होमस्टेमा आबद्ध सबै घरधुरीले आरामका लागि कक्षसहित आवश्यक पूर्वाधारको व्यवस्थापन गरिसकेको होमस्टे उपसमितिका अध्यक्ष गुरुङले जानकारी दिए। उनका अनुसार मराङमा सुरु गरिएको सामुदायिक होमस्टेमा ३३ कोठासहित ८८ वटा शय्याको (बेड) व्यवस्था गरिएको छ।

“होमस्टे आजैदेखि सञ्चालनमा ल्याएका छौँ। घरबासमा पाहुना राख्न मिल्ने गरी सबैले व्यवस्थापन गरिसकेका छन्”, उपसमिति अध्यक्ष गुरुङले भने, “करिब ७० जना पाहुना राख्न सक्ने क्षमता तयार भएको छ। हामी अब पर्यटन व्यवस्थापनका लागि सामूहिक रूपमा अघि बढ्ने छौँ।” उनका अनुसार मराङ होमस्टेमा आएका पर्यटकले स्थानीय अर्गानिक खानाका परिकार र लोमुस्ताङको स्थानीय संस्कृति अवलोकन गर्न पाउनेछन्।

होमस्टेमा फापरको ढिँडो, याक र च्याङ्ग्राको सुकुटी लगायत स्थानीय उत्पादनको स्वाद चाख्न पाइने गुरुङको भनाइ छ। समूहगत रूपमा आएका पर्यटकले चाहेमा लोमुस्ताङको सांस्कृतिक कार्यक्रम तथा भेषभूषासमेत देखाउन मिल्ने गरी व्यवस्था गरिएको उनले बताएनुभयो।

एक्याप लोमान्थाङले मराङको सामुदायिक होमस्टे प्रवर्द्धनका लागि प्राविधिक सहयोगलाई जारी राख्ने जनाएको छ। एक्यापका प्रमुख पौडेलका अनुसार फोहोर व्यवस्थापनका लागि होमस्टेमा आबद्ध १८ घरधुरीलाई दुई/दुई थान फोहोर राख्ने डस्टबिन वितरण गरिएको छ। यसैगरी होमस्टे घरधुरी नम्बर, होर्डिङ बोर्ड र होमस्टेलाई ब्रान्डिङ गर्ने कार्यमा एक्यापले सहयोग गरेको छ।

मराङलाई फोहोरमुक्त गाउँका रूपमा विकास गर्न सरसफाइलाई पहिलो प्राथमिकतामा राखिएको छ। उपल्लो मुस्ताङको मराङस्थित लोमराङ सामुदायिक होमस्टे औपचारिक रूपमा आजदेखि सञ्चालनमा आएको उपसमितिका अध्यक्ष गुरुङले जानकारी दिए।

यसको दर्ता प्रक्रिया भने अन्तिम चरणमा पुगेको होमस्टे उपसमितिले जनाएको छ। गण्डकी प्रदेशको होमस्टे कार्यविधि, २०७५ अनुसार स्थानीय निकायमा होमस्टे दर्ता गरिने छ। यसैगरी एक्यापअन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ को नियम २१ र २२ बमोजिम एक्याप कार्यालयमा दर्ता गर्ने गरी अन्तिम तयारी भइरहेको उपसमिति अध्यक्ष गुरुङले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *