काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ जनाको उद्धार
काठमाडौं। काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ। महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४ मंसिर १ गतेदेखि २०८३ जेठ २१ गतेसम्म २ हजार ४२१ जना सडक आश्रित व्यक्तिको उद्धार गरिएको जनाएकाे छ।
महानगरपालिकाले मानव सेवा आश्रम, नेपाल प्रहरी तथा अन्य साझेदार संस्थासँगको समन्वयमा सडकमा कष्टपूर्ण जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनःस्थापनाको काम गर्दै आएको जनाएको छ।
विज्ञप्तिअनुसार उद्धार गरिएकामध्ये १ हजार ५७१ जना पुरुष र ८५० जना महिला रहेका छन्। उनीहरूमध्ये ८८३ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ५३४ जनाको सामाजिक पुनःस्थापना गरिएको छ।
महानगरपालिकाले २०७४ सालमा मानव सेवा आश्रमसँग सम्झौता गरी अभियान सुरु गरेको थियो। त्यसयता विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्दै सडक सहयोगापेक्षी व्यवस्थापनका लागि एकीकृत तथा एकद्वार प्रणाली लागू गरिएको जनाएको छ।
सडक आश्रित व्यक्तिहरूको अवस्था र आवश्यकता पहिचान गर्न हाल काठमाडौंको तिलगंगामा ‘होल्डिङ सेन्टर’ सञ्चालनमा रहेको छ। २०८३ वैशाख २४ गतेदेखि सञ्चालनमा आएको उक्त केन्द्रमा जेठ २१ गतेसम्म २०२ जना उद्धार गरिएका व्यक्तिलाई सेवा प्रदान गरिएको छ। तीमध्ये ६३ जनाको पारिवारिक पुनर्मिलन, ७१ जनाको सामुदायिक पुनःस्थापना तथा ४२ जनाको स्वेच्छिक बहिर्गमन भएको महानगरले जनाएको छ।
महानगरपालिकाका अनुसार उद्धार गरिएका अधिकांश व्यक्तिमा मानसिक तथा शारीरिक स्वास्थ्य समस्या, सामाजिक व्यवहारमा कमी, आफ्नो परिचय दिन नसक्ने अवस्था, कुपोषण तथा सरसफाइसम्बन्धी समस्या देखिएका छन्। केही व्यक्ति मादक पदार्थ तथा लागूऔषधको दुव्र्यसनका कारण सडकमा आएको पाइएको छ भने कतिपयले माग्ने कार्यलाई पेशाकै रूपमा अपनाएको देखिएको छ।
विज्ञप्तिमा सडक सहयोगापेक्षी व्यवस्थापनलाई बहुक्षेत्रीय विषय भएको उल्लेख गर्दै गरिबी, अशिक्षा, बेरोजगारी, कुलत, पारिवारिक तथा सामाजिक द्वन्द्वजस्ता कारण न्यूनीकरण गर्न आगामी नीति, योजना र कार्यक्रम केन्द्रित गरिने जनाइएको छ।
महानगरपालिकाले भविष्यमा सहयोगापेक्षी बन्नुपर्ने अवस्था नै सिर्जना हुन नदिने गरी व्यक्तिगत, पारिवारिक तथा सामाजिक व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने तथा मानवता प्रवद्र्धनका कार्यलाई स्वचालित र दिगो प्रणालीमार्फत सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।
प्रेस विज्ञप्तिमा सडक आश्रित मानवहरूको सेवामा समर्पित स्वयंसेवक, मानव सेवा आश्रम, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, अभियन्ता तथा सञ्चारकर्मीहरूको योगदानको उच्च प्रशंसा गरिएको छ। काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरद्वारा जारी विज्ञप्तिमा अभियानलाई थप प्रभावकारी बनाउन सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।







डिसी नेपाल







Facebook Comment