राजनीतिक नियुक्तिको विकल्पमा एकीकृत कार्यविधि: आठ विश्वविद्यालयले पाउँदै नयाँ उपकुलपति
काठमाडौं। मुलुकका विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदनहरूमध्ये अल्पसूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ।
उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको बैठकले उम्मेदवारहरूको सर्टलिस्ट सार्वजनिक गर्ने निर्णय गरेको हो। यस पटक ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम पहिलो पटक एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्तिको कदम अघि बढाइएको छ।
सार्वजनिक गरिएको अल्पसूचीअनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समान १०-१० जना उम्मेदवारहरू छानिएका छन् भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ जना उम्मेदवारहरू सर्टलिस्टमा परेका छन्।
यी सर्टलिस्टमा परेका उम्मेदवारहरूका सम्बन्धमा सरोकारवालाहरूले आगामी २०८३ जेठ २५ गतेभित्र आफ्नो राय सुझाव दिन सक्नेछन्। प्राप्त सुझाव र विज्ञहरूको मूल्यांकनका आधारमा मात्रै अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।
गत वैशाख २४ गते सरकारले रिक्त उपकुलपति पदका लागि खुला दरखास्त आह्वान गरेपछि कुल २१८ वटा आवेदन परेका थिए। जेठ १३ गते बसेको सिफारिस समितिको बैठकले ती आवेदनहरूको प्रारम्भिक परीक्षण गरी योग्य आवेदकहरूको दरखास्त स्वीकृत गरेको थियो। सोही स्वीकृत आवेदनहरूमध्येबाट विज्ञ टोलीले दिएको अङ्कका आधारमा यो सर्टलिस्ट तयार पारिएको हो।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन शाहले उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरेका थिए। उक्त समितिले विज्ञहरूको नेतृत्वमा एउटा उपसमिति गठन गरी प्रारम्भिक छनोटको जिम्मेवारी सुम्पेको थियो।
शिक्षा मन्त्रालयका अनुसार, नयाँ कार्यविधि बमोजिम नियुक्ति प्रक्रियामा पूर्ण पारदर्शिता, योग्यता प्रणाली (मेरिटोक्रेसी) र प्रक्रियागत निष्पक्षता सुनिश्चित गर्न पहिलो पटक यसरी विज्ञ समितिमार्फत प्रारम्भिक छनोटको व्यवस्था मिलाइएको हो।







डिसी नेपाल







Facebook Comment