‘नेपाली ब्रो’ को डरलाग्दो रूप: बाटो ढुकेर आफ्नै पत्नीको रड प्रहार गरी हत्या
काठमाडौँ । टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित ४२ वर्षीय कुमार थापा मगरले आफ्नी ४२ वर्षीया पत्नी ईश्वरी भुजेलको निर्मम हत्या गरेका छन्।
तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा शुक्रबार राति करिब १०:१० बजे कुमारले ईश्वरीमाथि फलामको रड प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेकी ईश्वरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको हो।
योजनाबद्ध आक्रमण र हत्या
जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार ईश्वरी सैनिक सेवामा कार्यरत थिइन् भने उनीहरूबीच केही समयदेखि सम्बन्ध विच्छेदको तयारी चलिरहेको थियो।
शुक्रबार बेलुकी ईश्वरी कामबाट फर्किने समयको पूर्वअनुमान गरी कुमार पैँयुटारस्थित घर अगाडि बाटो ढुकेर बसेका थिए। ईश्वरी स्कुटीमा सवार भई घरनजिकै पुग्नासाथ कुमारले उनीमाथि रडले घातक प्रहार गरेका थिए।
अस्पताल पुर्याउँदा पुर्याउँदै मृत्यु
घटनालगत्तै स्थानीय प्रत्यक्षदर्शीहरूले रक्ताम्मे अवस्थाकी ईश्वरीलाई तत्कालै उद्धार गरी स्थानीय तारकेश्वर अस्पताल पुर्याएका थिए। तर, अत्यधिक रक्तस्रावका कारण उनको अवस्था जटिल बनेपछि थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पताल (टीचिंग) रिफर गरिएको थियो। शिक्षण अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी वार्ड) मा उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
अभियुक्त ‘नेपाली ब्रो’ प्रहरी नियन्त्रणमा
आफूलाई सामाजिक सञ्जालमा रेस्लर र फाइटरका रूपमा समेत चिनाउने अभियुक्त कुमार थापा मगरलाई प्रहरीले घटना घटेको केही बेरमै शुक्रबार राति बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो। एसपी भट्टराईका अनुसार पक्राउ परेका कुमारलाई हाल जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखेर घटनाको सम्बन्धमा थप कानुनी अनुसन्धान अगाडि बढाइएको छ।







डिसी नेपाल







Facebook Comment