कंगाेमा इबोला महामारी भयावह बन्दै: आगामी ३ महिनामा संक्रमित संख्या २० हजार नाघ्ने चेतावनी
काठमाडौं। अफ्रिकी मुलुक कंगाे लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारीले तीव्र रूप लिन थालेको छ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको पछिल्लो विश्लेषणअनुसार संक्रमितहरूको समयमै पहिचान र व्यवस्थापन हुन नसके आगामी तीन महिनाभित्र संक्रमितको संख्या २० हजारभन्दा बढी पुग्ने ६५ प्रतिशत जोखिम रहेको छ।
विशेषज्ञहरूका अनुसार महामारी नियन्त्रणका लागि संक्रमितलाई तत्काल पहिचान गरी आइसोलेसन (अलग) मा राख्नु अनिवार्य हुन्छ। तर, प्रभावित क्षेत्रहरूमा स्वास्थ्य सेवाको सीमित पहुँच, जनशक्ति अभाव र सुरक्षा चुनौतीका कारण संक्रमितको वास्तविक संख्या यकिन गर्न कठिन भइरहेको छ।
इबोला नियन्त्रण अभियानका वरिष्ठ अधिकारी सतीश पिल्लईले स्थलगत अवस्था चुनौतीपूर्ण रहेको बताउँदै हाल भइरहेका प्रयासहरू पर्याप्त नभएको उल्लेख गर्नुभयो। उहाँका अनुसार उपचार र आइसोलेसनमा राख्नुपर्ने बिरामीको संख्या अनुमानभन्दा धेरै हुन सक्ने संकेतहरू देखिएका छन्।
बजेट अभाव र अन्तर्राष्ट्रिय अपिल
यसैबीच, विश्व स्वास्थ्य संगठन र अफ्रिकी संघको सार्वजनिक स्वास्थ्य निकायले कंगाे तथा छिमेकी मुलुकहरूमा फैलिएको यो महामारी रोक्न आगामी ६ महिनाका लागि ५१ करोड ८० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाएका छन्। उक्त रकम संक्रमितको उपचार, निगरानी, खोप अभियान, जनचेतना र सीमा क्षेत्रको स्वास्थ्य सुरक्षा सुदृढीकरणमा खर्च गरिनेछ।
दुर्लभ भाइरसको संक्रमण र क्षति
गत मे १५ मा कंगाेको उत्तरपूर्वी क्षेत्रमा औपचारिक रूपमा यो महामारीको घोषणा गरिएको थियो। स्वास्थ्य अधिकारीहरूका अनुसार घोषणा हुनुअघि नै समुदायमा दुर्लभ ‘बन्डिबुग्यो’ प्रजातिको इबोला भाइरस फैलिइसकेको अनुमान छ।
पछिल्लो तथ्यांकअनुसार कंगाेमा हालसम्म ३८१ जनामा संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये ६४ जनाको मृत्यु भएको छ। संक्रमण विशेषगरी तीनवटा प्रान्तमा केन्द्रित छ, जसमा इटुरी प्रान्त सबैभन्दा बढी प्रभावित छ। कुल संक्रमितमध्ये ९० प्रतिशत र मृतक सङ्ख्याको ७६ प्रतिशत इटुरीकै रहेका छन्।
छिमेकी देशमा पनि त्रास
यो महामारी कंगाेमा मात्र सीमित नरही छिमेकी मुलुक युगान्डामा समेत फैलिन थालेको छ। युगान्डामा हालसम्म १६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक जनाको मृत्यु भएको छ। निको हुनेतर्फ भने हालसम्म कंगाेमा ७ र युगान्डामा २ जना संक्रमित उपचारपछि पूर्ण स्वस्थ भएका छन्।
स्वास्थ्य अधिकारीहरूले महामारी अझै नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिँदै संक्रमितको खोजी, कन्ट्याक्ट ट्रेसिङ, उपचार सेवाको विस्तार र जनचेतनाका लागि अन्तर्राष्ट्रिय समुदायसँग तत्काल सहयोगको अपिल गरेका छन्।







डिसी नेपाल







Facebook Comment