ओझलमा ऐतिहासिक ढोलथान
म्याग्दी। बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र रहेको बेनी नगरपालिका–९ घतानस्थित ऐतिहासिक ढोलथान ओझेलमा छ।
विसं १६३१ देखि तत्कालीन राजाहरू हिउँदका चार महिना बेनी र अरु आठ महिना ढोलथानमा बसेर पर्वत राज्य सञ्चालन गरेको इतिहास छ। पर्वत राज्य नेपालमा बिलय भएको समय अर्थात् विसं १८४३ सम्म ढोलथानमा राज्यको राजधानीको रूपमा रहेको थियो।
ऐतिहासिक महत्त्व बोकेको प्राकृतिक हिसाबले रमणीय सो स्थान पछिल्लो सयम विकास पूर्णाधार, सहज सडक पहुँत तथा प्रचारप्रसारको कामीले ओझेलमा परेको स्थानीय भेषबहादुर सेनले बताए। “संरक्षण र आवश्यक प्रवर्द्धनको अभावमा ढोलथानको ऐतिहासिक महत्त्व र प्राकृतिक विशेषता स्थानीयस्तरमै सीमित भएको छ”, उनले भने, “यहाँसम्म पुग्ने सडक स्तरोन्नति, पूर्वाधार विकास र प्रचारप्रसार गर्न सकेमा पर्यटकीय गन्तव्यको रूपमा विकास हुने प्रशस्त सम्भावना छ। यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ।”
समुन्द्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको ढोलथानबाट धौलागिरी, अन्नपूर्ण, निलगिरि, बराहशिखर, माछापुच्छ्रे हिमशृङ्खला, नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकी नदी, म्याग्दी, पर्वत र बागलुङका ग्रामीण बस्ती तथा पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ। यहाँ तत्कालीन दरबारका भग्नावशेषका साथै १६औँ शताब्दीका ऐतिहासिक सामग्रीहरू पनि छन्।
भत्किएको दरबार र वरपरका भग्नावशेषलाई सङ्घीयतापछि बेनी नगरपालिका र प्रदेश सरकारको सहयोगमा संरक्षण गरी उद्यान बनाइएको छ। यस क्षेत्रको ऐतिहासिक महत्त्वलाई उजागर गर्न सडक, पदमार्ग र उद्यान निर्माण गरेर प्रवर्द्धन गर्ने योजना रहेको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए।
“विस्तृत परियोजना प्रतिवेदन बनाएर प्रदेश र सङ्घीय सरकारलाई योजना तथा बजेट मागेका छौँ”, उनले भने, “ढोलथान पुग्ने सडकलाई सहज बनाउन प्राथमिकताका साथ पहल गरेका छौँ। यदी त्यो कार्यान्वयन भएमा यसले पर्यटकीय गन्तव्यको रूप धारण गर्ने विश्वास छ।”
यहाँ प्रदेश सरकारको सहयोगमा सार्वजनिक शौचालय, पदमार्ग र बगैचा निर्माण गरेर उद्यान बनाइएको छ। बेनी नगरपालिकाले पदमार्ग र प्रतिक्षालय निर्माण गरेको छ।
बेनीदेखि पुलाचौर नयाँगाउँ हुँदै ४५ मिनेट, तोरीपानी, ढावा हुँदै एक घण्टा १५ मिनेट सवारीसाधनको यात्रामा ढोलथान पुगिन्छ। बेनीदेखि गुफाको डिल, पछै, घतानकोत, ढोलथान, जगन्नाथ, ढडेकोट दरवार जोड्ने पदमार्गको यात्राका क्रममा अन्य धार्मिक र पर्यटकीयस्थल भ्रमण गर्न सकिन्छ। पैदलयात्रा गरेर बेनीदेखि दुई घण्टा ३० मिनेटमा ढोलथान पुग्ने गरिएको छ।







डिसी नेपाल







Facebook Comment