‘यो त केवल ट्रेलर हो, फिल्म बाँकी छ’: शिक्षामन्त्रीलाई ककरोच पार्टीको चेतावनी
नयाँ दिल्ली। भारतमा तीव्र रूपमा सामाजिक सञ्जालबाट प्रभाव जमाउँदै जमिनको राजनीतिमा ओर्लिएको युवाहरूको संगठन ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई तत्काल पदबाट बर्खास्त गर्न वा सात दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ।
शनिबार नयाँ दिल्लीको ऐतिहासिक प्रदर्शन स्थल जन्तरमन्तरमा आयोजित विशाल विरोध प्रदर्शनका क्रममा पार्टीका प्रवक्ता आशुतोष रंकाले प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष यस्तो माग राखेका हुन्।
सीजेपीले हालैका राष्ट्रिय परीक्षाहरूमा देखिएका गम्भीर कमजोरी, प्रश्नपत्र बाहिरिएको (पेपर लीक) प्रकरण र परीक्षा प्रणालीको बदनामीको सम्पूर्ण जिम्मेवारी शिक्षामन्त्रीले लिनुपर्ने अडान राख्दै आएको छ। प्रदर्शनपछि ककरोच जनता पार्टीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा भिडियो सन्देशमा प्रवक्ता रंकाले शनिबारको आन्दोलन केवल सुरुवात मात्र भएको स्पष्ट पारेका छन्।
उनले सरकारलाई चेतावनी दिँदै भनेका छन्, ‘आजको दिन केवल एउटा सामान्य विरोध प्रदर्शन थियो भन्ने सोच्नेहरूलाई हामी भन्न चाहन्छौँ- यो केवल एउटा ट्रेलर मात्र हो। हामी यो सरकारलाई स्पष्ट रूपमा सात दिनको समय दिइरहेका छौँ। यदि शिक्षामन्त्री धर्मेन्द्र प्रधानमा देशको लोकतन्त्र र करोडौँ विद्यार्थीको भविष्यप्रति अलिकति पनि जिम्मेवारी बोध छ भने उनले यो अवधिभित्रै राजीनामा दिनुपर्छ, अन्यथा प्रधानमन्त्री मोदी आफैँले उनलाई बर्खास्त गर्नुपर्छ। यदि यो माग पूरा भएन भने हामी सात दिनपछि योभन्दा कडा रूपमा सडकमा ओर्लिनेछौँ।’
यो आन्दोलन भारतको बहुचर्चित मेडिकल प्रवेश परीक्षा ‘नीट-युजी २०२६’ को प्रश्नपत्र बाहिरिएको विवाद र ‘सीबीएसई’ को कक्षा १२ को परीक्षा मूल्यांकन प्रणाली (अन-स्क्रिन मार्किङ सिस्टम) मा देखिएका गम्भीर अनियमितताहरूसँग जोडिएको छ।
प्रश्नपत्र बाहिरिएपछि ‘नीट’ परीक्षा नै आगामी जुन २१ का लागि सारिएको छ भने यसले देशभरीका लाखौँ विद्यार्थी र अभिभावकहरूलाई आक्रोशित तुल्याएको छ। प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले “हामीले मेक इन इन्डिया मागेका थियौँ, तर सरकारले हामीलाई लीक इन इन्डिया दियो” भन्दै व्यङ्ग्यात्मक प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
यसका साथै आइआईटी रुड्कीद्वारा सञ्चालित जेईई (एडभान्स) परीक्षाका २ लाखभन्दा बढी परीक्षार्थीहरूको डेटा ‘क्लाउड स्टोरेज’ को कमजोरीका कारण बाहिरिएको खुलासा भएपछि सीजेपीले सरकारको साइबर सुरक्षा संयन्त्रमाथि पनि कडा प्रश्न उठाएको छ।
यो आन्दोलनको नेतृत्व गर्नका लागि ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के अमेरिकाको बोस्टनबाट सिधै नयाँ दिल्ली आइपुगेका थिए। दिल्ली विमानस्थलमा ओर्लिँदा उनी भारतीय संविधानका निर्माता डा. भीमराव अम्बेडकरको आत्मजीवनी हातमा लिएर बाहिरिएका थिए।
दिल्ली पुलिसले सर्वोच्च अदालतको निर्देशिका बमोजिम विशेष सर्तहरू तोक्दै जन्तरमन्तरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने अनुमति दिएपछि सीजेपीका समर्थकहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका हुन्।
पार्टीका मुख्य प्रवक्ता सौरभ दास र अर्का प्रवक्ता विजेता दहियाले लोकतन्त्रमा नागरिकले पाँच वर्षमा एकपटक भोट दिएर राजा चुन्ने नभई आफ्ना प्रतिनिधिहरूलाई कर्मचारी सरह कामप्रति जबाफदेही बनाउनुपर्ने धारणा राखेका छन्।
सुरुमा भारतीय न्यायपालिकाका प्रधानन्यायाधीशले अदालतको एउटा बहसका क्रममा प्रयोग गरेको ‘ककरोच’ (साङ्लो) शब्दलाई आत्मसात् गर्दै सामाजिक सञ्जालमा सुरु भएको यो व्यङ्ग्यात्मक अभियान (सटायरिकल मुभमेन्ट) ले केही दिनभित्रै इन्स्टाग्राममा २ करोडभन्दा बढी युवा फलोअर्स कमाउँदै भारतको राजनीतिमा एउटा नयाँ डिजिटल र भुइँ-तहको दबाब समूहको रूपमा हलचल पैदा गरिदिएको छ।







डिसी नेपाल







Facebook Comment