रास्वपा बागमती प्रदेश अधिवेशन: ९ जिल्लामा नयाँ नेतृत्व चयन, को कहाँ? (सूची)

डिसी नेपाल
२४ जेठ २०८३ १०:४८

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश अन्तर्गतका आफ्ना संगठनात्मक संरचनाहरूलाई तल्लो तहदेखि नै बलियो बनाउने उद्देश्यका साथ जिल्ला अधिवेशनहरूलाई तीव्रता दिएको छ।

यसै क्रममा बागमती प्रदेशका कुल १३ जिल्लामध्ये ९ वटा जिल्लामा अधिवेशन सफलतापूर्वक सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने यो अभियान अन्तर्गत विभिन्न जिल्लाहरूमा उत्साहजनक रूपमा नेतृत्व चयन प्रक्रिया अगाडि बढेको झाले जानकारी दिए।

सम्पन्न भएका ९ जिल्लाका अधिवेशनहरूबाट पार्टीले नयाँ जिल्ला सभापतिहरू प्राप्त गरेको छ। जसअनुसार संघीय राजधानी समेत रहेको काठमाडौं जिल्लाको सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् भने भक्तपुरमा रामेश्वर बस्नेतले नेतृत्वको जिम्मेवारी पाएका छन्।

त्यसैगरी, काभ्रेपलाञ्चोक जिल्ला सभापतिको रूपमा प्रबिन ढकाल चयन भएका छन् भने सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी र दोलखामा दिनेश बस्नेत जिल्ला सभापति पदमा निर्वाचित भएका छन्।

यस्तै नुवाकोटको कमान रामेश्वर गजुरेलले सम्हाल्ने जिम्मेवारी पाउँदा, धादिङको सभापतिमा राजन अर्याल र मकवानपुर जिल्लाको सभापतिमा सन्जिव पाठक निर्वाचित भएका छन्।

यसै संगठनात्मक अभियानकै निरन्तरता स्वरूप बाँकी रहेका जिल्लाहरूमध्ये चितवन, रसुवा र ललितपुरमा भने आज अधिवेशनका बाँकी प्रक्रिया र नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ। यी जिल्लाहरूमा पनि नयाँ कार्यसमिति चयनका लागि पार्टी कार्यकर्ता र प्रतिनिधिहरूमा विशेष उत्साह देखिएको छ।

अर्कोतर्फ, सिन्धुपाल्चोक जिल्लामा भने हिजो नै अधिवेशनको औपचारिक सुरुवात गरिएको भए तापनि आन्तरिक तथा विविध प्राविधिक कारणहरू उत्पन्न भएपछि हालका लागि उक्त अधिवेशन स्थगित गरिएको छ।

त्यहाँ स्थगित भएको अधिवेशनलाई अनुकूल समय मिलाएर छिट्टै पुन: सञ्चालन गरिने र नयाँ कार्यसमिति चयनको प्रक्रियालाई पूर्णता दिइने पार्टी स्रोतले जनाएको छ। बागमती प्रदेशका सबै जिल्लाहरूमा अधिवेशन सम्पन्न भएसँगै रास्वपाले प्रदेश तहमा आफ्नो सांगठनिक उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *