मेलबर्नको नेपाली मन्दिरमा भजन कीर्तन र सागा दावा दुचेन
मेलबर्न। अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने नेपाली समुदायमा आफ्नो सनातन वैदिक धर्म, संस्कृति तथा भजन परम्पराको संरक्षण, संवर्द्धन एवं पुस्तान्तरण गर्ने उद्देश्यका साथ आध्यात्मिक गतिविधिहरू निकै तीव्र रूपमा अगाडि बढेका छन्।
यसै पवित्र लक्ष्यका साथ मेलबर्नस्थित नेपाली मन्दिरमा नियमित रूपमा महिनाको छ दिन भजन कीर्तन कार्यक्रमको आयोजना गरी नाचगान र भक्तिभाव प्रस्तुत गर्ने गरिएको छ।
यो कार्यक्रम दुई फरक समूहद्वारा सञ्चालन भइरहेको छ, जसअन्तर्गत एउटा टोलीले प्रत्येक शनिबार बेलुकी साढे पाँच बजेदेखि नियमित भजन कीर्तन गर्दछ भने अर्कोतर्फ युवा समुदायले पाक्षिक रूपमा अर्थात् महिनाको पहिलो र तेस्रो आइतबार बेलुकी साढे पाँच बजे नै विशेष भजन कार्यक्रम चलाउँदै आएका छन्।
विगत एक वर्षभन्दा बढी समयदेखि निरन्तर चलिरहेको यस साप्ताहिक भजन कीर्तनका अलावा आयोजकहरूले समय-समयमा भव्य ‘महा-भजन’ कार्यक्रम समेत आयोजना गर्ने गरेका छन्।
यस्ता महा-भजनहरूमा भक्तजनहरूको सहभागिता निकै उत्साहजनक रहने गरेको छ, जहाँ हालसम्म ५०० को हाराहारीमा नेपालीहरूको उपस्थिति भइसकेको छ र यो संख्या लगातार बढ्दो क्रममा छ।
हालै मात्र दोस्रो महा-भजन सफलतापूर्वक सम्पन्न भइसकेको परिप्रेक्ष्यमा आयोजकहरूले अब छिट्टै नै तेस्रो महा-भजन आयोजना हुने दिन घोषणा गर्ने तयारी गरिरहेका छन्।
भजन कीर्तनको यस आध्यात्मिक लहरकै बीच मेलबर्नको नेपाली मन्दिरमा करिब ३० वर्षका युवा रवी योन्जनको नेतृत्व र संयोजनमा पवित्र बौद्ध पर्व ‘सागा दावा दुचेन २०२६’ कार्यक्रम समेत भव्यताका साथ सम्पन्न भएको छ।
तिब्बती बौद्ध क्यालेन्डर अनुसार चौथो महिनालाई ‘सागा दावा’ भनिन्छ, जसलाई बौद्ध दर्शनमा अत्यधिक पुण्य आर्जन गर्ने महिनाको रूपमा लिइन्छ। सन् २०२६ मा यो पवित्र महिना मे १७ तारिखदेखि जुन १५ तारिखसम्म रहने तालिका रहेको छ।
विशेष गरी मे ३१, २०२६ का दिन परेको ‘सागा दावा दुचेन’ लाई तिब्बती बौद्ध धर्ममा वर्षकै सबैभन्दा पवित्र र महान् दिन मानिन्छ। यसै ऐतिहासिक दिनमा भगवान् बुद्धको जीवनका तीन प्रमुख घटनाहरू अर्थात् उनको पावन जन्म, बुद्धत्व (ज्ञान प्राप्ति) र महापरिनिर्वाण (देहत्याग) भएको हुनाले विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि यो दिन विशिष्ट र ऊर्जावान् रहने गर्दछ।
प्रसिद्ध आध्यात्मिक गुरु सदगुरुका अनुसार नेपालका कतिपय भूभागहरू प्राकृतिक रूपमै एउटा ‘आध्यात्मिक शरीर’ को रूपमा अवस्थित रहेका छन्।
नेपालको यही विशिष्ट आध्यात्मिक ऊर्जा र सामर्थ्यका कारण खप्तड बाबा, शिवपुरी बाबा, डा. रामनाथ अघोरी जस्ता भारतका ठूला-ठूला सिद्ध पुरुषहरूले समेत नेपाललाई नै आफ्नो साधना र कर्मभूमि बनाएका थिए भने आजका दिनमा पनि विश्वका अनगिन्ती सिद्ध पुरुषहरू नियमित रूपमा नेपाल आउने गर्दछन्।
भगवान् बुद्ध र अनेकौँ ऋषिमुनिहरूको पवित्र तपोभूमि एवं क्रिडास्थल रहेको नेपाल पुनः विश्वकै प्रमुख आध्यात्मिक केन्द्रका रूपमा स्थापित हुने बहसहरू यतिबेला अन्तर्राष्ट्रिय स्तरमै चल्न थालेका छन्।
यो महान् उद्देश्य प्राप्तिका लागि नेपालभित्र विभिन्न किसिमका आध्यात्मिक व्यक्तित्वहरू सक्रिय भइरहेका छन्। नेपालको यो बैभव र महिमालाई मनैदेखि महसुस गर्नेहरूका लागि त झन् यसरी विदेशमा रहेर पनि नेपाली युवा तथा समुदायले आफ्नो मौलिक पहिचान, धर्म र संस्कृति बचाउन देखाएको सक्रियता र उल्लासले थप गौरव र आल्हादित तुल्याउँछ।
प्रवासमा आयोजना हुने यस्ता सांस्कृतिक कार्यक्रमहरू केवल धार्मिक र आध्यात्मिक दृष्टिकोणले मात्र नभई मानसिक शान्ति र वैज्ञानिक दृष्टिकोणबाट पनि उत्तिकै महत्त्वपूर्ण छन्, किनकि यसले विदेशी भूमिमा रहेका नेपालीहरूलाई आफ्नो जरा र पहिचानसँग जोड्ने एउटा बलियो कडीका रूपमा कार्य गरिरहेको छ।














डिसी नेपाल







Facebook Comment