न्यायको पूर्ण आशा र अटल विश्वास बोकेर मातृभूमि फर्किएको छु: सिताराम कट्टेल ‘धुर्मुस’

डिसी नेपाल
२४ जेठ २०८३ १४:१४

काठमाडौँ । लोकप्रिय हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) ले आफू न्यायको पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको बताएका छन् ।

लामो समयको मौनता र उतारचढावपछि सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कट्टेलले स्वदेश फिर्तीको भावनालाई मार्मिक रूपमा व्यक्त गरेका हुन् । सामाजिक संजालमा लेख्दै उनले भनेका छन्, “न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु।”

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना लगायतका विभिन्न विवाद र मानसिक तनावका बीच विदेशमा रहेका कट्टेलले आफ्नै माटोको काखमा सुख-दुःख साट्ने इच्छा व्यक्त गरेका छन् । उनले अगाडि लेखेका छन् “आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख-दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।”

विगतमा देशका विभिन्न संकटहरूमा अहोरात्र खटिएका कट्टेल र कुञ्जना घिमिरे (सुन्तली) को जोडी रंगशाला निर्माणको आर्थिक संकट र कानुनी उल्झनमा परेपछि केही समययता ओझेलमा परेको थियो। कट्टेलको यो पछिल्लो अभिव्यक्तिले उनी कानुनी र सामाजिक रूपमा न्याय पाउने बलियो विश्वासका साथ स्वदेश फर्किएको संकेत गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *