असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने

डिसी नेपाल
२४ जेठ २०८३ १८:११

काठमाडौं। राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६ हुने भएको छ। आगामी असार ६ र ७ गते ललितपुरको हेरिटेज गार्डेनमा सम्मेलन हुन लागेको महासंघले जनाएको छ।

‘नेतृत्वमा नारी ः समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित आयोजना हुने यस सम्मेलनको उद्देश्य सहकारी क्षेत्रमा संलग्न महिला किसानहरूको योगदान र प्रभावलाई उजागर गर्ने रहेको छ।

त्यसैगरी, सहकारीहरूमा लैङ्गिक–उत्तरदायी नीति तथा अभ्यासलाई सुदृढ गर्नु र सहकारीमार्फत महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरणमा सहयोग गर्नु समेत रहेको महासंघका महाप्रबन्धक डा. बाबुकाजी थापाले बताए।

साथै, महिलाहरूलाई नेतृत्व तहमा पुग्न आवश्यक सीप, ज्ञान र अवसर प्रदान गर्दै महिला नेतृत्वलाई सुदृढ बनाउने, विश्वका विभिन्न देशमा सहकारी क्षेत्रमा भएका सफल अभ्यासहरूको आदान–प्रदानमार्फत नवीन सोच र रणनीति विकास गर्ने र महिला–पुरुषको समान सहभागिता सुनिश्चित गर्न नीतिगत पहल गर्न उक्त सम्मेलन गर्न लागिएको उनले जानकारी दिए।

विभिन्न देशका महिला सहकारीकर्मीहरूबीच सहकार्य र सम्बन्ध विस्तार गर्ने लक्ष्य समेत सम्मेलनले राखेको छ। यसका अतिरिक्त उद्यमशीलता, रोजगारी र बजार पहुँच अभिवृद्धिमा जोड दिँदै महिलामैत्री सहकारी नीतिको निर्माण तथा नीति निर्माण प्रक्रियामा महिलाको प्रभावकारी सहभागिता बढाउने पनि यस सम्मेलनको उद्देश्य रहेको छ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला सहकारी अभियन्ता, सरकारी निकाय तथा विभिन्न संघ संस्थाका महिला प्रतिनिधिहरू, विकास साझेदारहरू, महिला उद्यमीहरू, अनुसन्धानकर्ताहरू सहभागी हुनेछन्।

संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भमा सम्मेलनले कृषि, खाद्य सुरक्षा र ग्रामीण विकासमा महिलाको योगदानलाई विशेष प्राथमिकताका साथ उजागर गर्नेछ।

नेपालमा कुल गार्हस्थ उत्पादनको एक चौथाइ हिस्सा ओगट्ने कृषि क्षेत्रमा ८ प्रतिशतभन्दा बढी ग्रामीण महिलाहरू प्रत्यक्ष रुपमा संलग्न रहेका छन। देशभर सञ्चालित ३२ हजारभन्दा बढी सहकारीहरूमा महिलाको सक्रिय सहभागिता करिब ५६ प्रतिशत रहेको तथ्यांकले पनि सहकारी र कृषिमा महिलाको मजबुत उपस्थितिलाई दर्शाउँछ।

सम्मेलनमा नेपालसहित विभिन्न देशका महिला सहकारीकर्मी, नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार, अन्तर्राष्ट्रिय सहकारी संस्थाका प्रतिनिधि तथा उद्यमी महिलाहरूको सहभागिता रहनेछ। कार्यक्रममा नेपाली सहकारी आन्दोलनमा महिलाको अवस्था, महिला सशक्तीकरण, नेतृत्व विकास, खाद्य सुरक्षा, वित्तीय समावेशीकरण, डिजिटल रूपान्तरण, उद्यमशीलता विकास, बजार विस्तार तथा सहकारीमार्फत रोजगारी सिर्जनाजस्ता विषयमा प्रस्तुति र प्यानल छलफल सञ्चालन हुनेछन्।

विभिन्न देशका उत्कृष्ट अभ्यास र सफलताका कथाहरू समेत सम्मेलनमा प्रस्तुत गरिनुका साथै महिला सहकारी उत्पादन प्रदर्शनी, सीप प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा सफल सहकारीहरूको अवलोकन भ्रमणसमेत समावेश गरिएको छ।

सम्मेलनबाट महिलाको नेतृत्वदायी भूमिका थप सुदृढ हुने, सहकारी क्षेत्रमा लैङ्गिक समावेशिता बढ्ने, अन्तर्राष्ट्रिय सहकार्य र सञ्जाल विस्तार हुने तथा महिला उद्यमीहरूका लागि नयाँ अवसर सिर्जना हुने अपेक्षा छ।

सम्मेलनमा सहभागिताका लागि गुगल अनलाइन फारममार्फत रजिष्ट्रेशन हुने व्यवस्था गरिएको र रजिष्ट्रेशन शुल्क प्रति सहभागी पाँच हजार तय गरिएको महासंघले जनाएको छ। सीमित सिट रहकाले सम्मेलनमा सहभागि हुन चाहने महिला सहकारीकर्मीलाई समयमै आफ्नो सीट सुरक्षित गर्न महासंघले आव्हान गरेको छ।

सम्मेलनमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मुख्य सहकार्य रहेको छ। यसका साथै राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, साना किसान विकास लघुवित्त, आइएलओ नेपाल र हेफर इन्टरनेशनल लगायतका संस्थाहरु सह आयोजकका रूपमा रहनेछन्।

विभिन्न केन्द्रीय तथा जिल्ला सहकारी संघहरू, सहकारी संस्थाहरु र निजी बैंक, वित्तीय संस्था तथा व्यवसायिक प्रतिष्ठानहरूले पनि सम्मेलनमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने महाप्रबन्धक डा. थापाले जानकारी गराए।

सम्मेलनपश्चात् काठमाडौ घोषणा २०२६ जारी गरिने र त्यसले नीतिगत सुधार, महिला नेतृत्वको विकास र उद्यमशीलता प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *