दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
ललितपुर। सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा हुने व्यवस्था लागू भएपछि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा आन्तरिक पर्यटकको आगमन बढेको छ। आज पनि चिडियाखानामा आगन्तुकको चहलपहल उल्लेखनीय रूपमा बढेको हो।
चिडियाखाना प्रशासनका अनुसार अन्य दिनमा दैनिक करिब एक हजार ७०० देखि एक हजार ८०० जना आगन्तुक आउने गरेकामा शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजार जनाले भ्रमण गर्ने गरेका छन्।
चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार वार्षिक रूपमा करिब १० लाख आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेका छन्। आइतबारको बिदाका कारण आगन्तुक सङ्ख्या थप बढ्ने र त्यससँगै आम्दानीमा पनि वृद्धि हुने अपेक्षा गरिएको उनले बताए।
चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकका लागि रु १००, विद्यार्थीका लागि रु १५० तथा अन्य आगन्तुकका लागि रु २५० प्रवेश शुल्क लिने गरेको छ।
गत आर्थिक वर्षमा करिब रु १८ करोड आम्दानी गरेको चिडियाखानाले चालु आवमा करिब रु २१ करोडसम्म आम्दानी गर्ने अनुमान गरेको छ। सूचना अधिकारी कोइरालाका अनुसार चिडियाखाना परिसरमा प्रक्रियागत रूपमा सञ्चालन भएका बोटिङ, रेष्टुरेन्ट, चिल्ड्रेन पार्कलगायत गतिविधिले पनि आम्दानी बढाउन योगदान पुर्याएका छन्।
चिडियाखानाका कार्यालय प्रमुख सत्यनारायण शाहले बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म टिकट काउन्टर खुला रहने बताउँदै बेलुकातिर आगन्तुकको सङ्ख्या अझ बढी हुने जानकारी दिए। उनका अनुसार चिडियाखानामा पूर्वाधार सुधारका काम पनि भएका छन्।
आगन्तुकको सुविधाका लागि फल्चा निर्माण, प्रकाश व्यवस्थापन तथा अन्य संरचनागत सुधार गरिएकाले भ्रमण अनुभव थप सहज बनेको छ। चिडियाखानाको टिकट काउन्टर साँझ ६ः०० बजेसम्म हुनुका साथै साँझ ७ः०० बजेसम्म चिडियाखाना परिसर खुला रहने व्यवस्था गरिएकाले पनि आगन्तुकको आकर्षण बढ्दै गएको उनले बताए।







डिसी नेपाल







Facebook Comment