पढ्नै पर्ने एउटा पुस्तक : कक्षाकोठामा ३५ वर्ष
काठमाडौं। ‘कक्षाकोठामा ३५ वर्ष’ विद्यालय तहका एक शिक्षकको लामो अनुभवको जीवन्त सँगालो हो, जसले जीवनका साढे तीन दशक अध्यापन क्षेत्रमा बिताए। यस कृतिका लेखक गोविन्द लुइँटेल हुन्।
समकालीन समाजमा पत्रकार तथा सम्पादकका रूपमा सुपरिचित गोविन्द लुइँटेल एक कुशल शिक्षक पनि थिए भन्ने तथ्य धेरैका लागि नयाँ र अनौठो हुन सक्छ।
उनै लुइँटेलको यो नयाँ कृतिले विद्यार्थी, सहकर्मी शिक्षक, प्रधानाध्यापक, अभिभावक र विद्यालय शिक्षाका प्रशासकहरूसँगका अनेकौँ रोचक एवं भोगाइका कथाहरूलाई प्रस्ट पारेको छ।
नेपाली वाङ्मयमा पेशागत अनुभवका अनेकौं पुस्तकहरू पढ्न पाइन्छ। राजनीतिक नेता, प्रशासक, कर्मचारी, कूटनीतिज्ञ, सैनिक, प्रहरी तथा व्यापारी लगायत अनेक क्षेत्रका व्यक्तिहरूका अनुभव र आत्मकथाहरू बजारमा प्रशस्त उपलब्ध छन्।
तर, ‘कक्षाकोठामा ३५ वर्ष’ परम्परागत आत्मकथा मात्र होइन, बल्कि यो त लेखकले शिक्षकका रूपमा सँगालेका वास्तविक अनुभवहरूको अनुपम संग्रह हो।
यस पुस्तकमा शिक्षाको जटिल सिद्धान्त, कुनै भारी दर्शन वा निरस निर्देशनहरू समेटिएका छैनन्। यसमा त केवल शिक्षण पेशामा रहँदा स्वाभाविक रूपमा प्राप्त भएका भोगाइ र अनुभवका सरल कथाहरू मात्र बुनिएका छन्। सम्भवतः नेपालको शैक्षिक इतिहासमा यस प्रकारको जगमगाउँदो पुस्तक पहिलो पटक पाठकमाझ आएको हो।
कक्षाकोठामा ३५ वर्ष’ परम्परागत आत्मकथा मात्र होइन, बल्कि यो त लेखकले शिक्षकका रूपमा सँगालेका वास्तविक अनुभवहरूको अनुपम संग्रह हो।
कूल २१ वटा उत्कृष्ट आलेखहरू समावेश गरिएको यस पुस्तकले शिक्षा क्षेत्रका अनेकौं अनुत्तरित प्रश्नहरूको खोजी गरेको छ। पढाउनु र सिकाउनु एकै हो कि फरक? शिक्षक आफ्नो विषयको विज्ञ हो कि होइन? शिक्षकले नजानी नहुने आधारभूत कुराहरू के-के हुन्?
विद्यार्थीलाई तँ, तिमी वा तपाईं मध्ये कस्तो सम्बोधन गर्नुपर्छ? अभिभावकहरू विद्यालय प्रशासनसामु कसरी निरीह बन्छन्? शिक्षकको वास्तविक दायित्व कति हो? शिक्षाको गुणस्तर बढाउने जिम्मेवारी शिक्षक एक्लैको हो वा अरूको पनि? निजी र सामुदायिक विद्यालयमा के भिन्नता छ?
विद्यार्थी साँच्चिकै लातका भूत हुन् त? अनि शिक्षकको असली मर्यादा के हो? पुस्तकले यस्ता अनेकौँ व्यावहारिक प्रश्नहरूको उत्तर कुनै सैद्धान्तिक धरातलमा टेकेर होइन, बल्कि आफ्नै भोगाइ र अनुभवका आधारमा बडो घतलाग्दो गरी दिएको छ।
यसकारण पनि यो पुस्तक विद्यार्थी, अभिभावक, बहालवाला शिक्षक, प्रधानाध्यापक, शिक्षा प्रशासक, भविष्यमा शिक्षक बन्न चाहने नयाँ पुस्ता र समग्र शिक्षा क्षेत्रका सरोकारवालाहरूका लागि निकै उपयोगी एवं सङ्ग्रहणीय हुन सक्छ। सरल र आकर्षक कथा भन्ने शैलीका दृष्टिले पनि यो पुस्तक निकै पठनीय र ओजिलो बनेको छ।







डिसी नेपाल







Facebook Comment