२० दिनको असन्तुष्टिपूर्ण बिदापछि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल सर्वोच्च फर्किइन्

डिसी नेपाल
२५ जेठ २०८३ ११:२८

काठमाडौं। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साता (२० दिन) लामो बिदापछि अन्ततः सोमबारदेखि आफ्नो नियमित काममा फर्किएकी छन्।

सर्वोच्च अदालतमा आफूभन्दा कनिष्ठ न्यायाधीश डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएपछि असन्तुष्ट रहेकी मल्ल सोही दिनदेखि बिदामा बसेकी थिइन्। प्रधानन्यायाधीश शर्माले पदभार ग्रहण गर्नुपूर्व मल्ल आफैँले कायममुकायम प्रधानन्यायाधीशको रूपमा आफ्नो बिदा स्वीकृत गराएर बसेकी थिइन्।

सर्वोच्च अदालतको वरीयतामा पहिलो रोलक्रममा मल्ल आफैं थिइन् भने दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा न्यायाधीश हरिप्रसाद फुयाल रहेका थिए।

तर, संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावमा परिषद्ले यी तीनै जना वरिष्ठ न्यायाधीशहरूलाई पन्छाएर चौथो नम्बरमा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल गम्भीर असन्तुष्ट बनेकी थिइन्।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त भई शर्मा सर्वोच्च अदालत आउँदा आयोजना गरिएको स्वागत कार्यक्रममा समेत मल्ल उपस्थित भइनन्। उनी अनुपस्थित भएपछि उनीपछिको रोलक्रममा रहेका न्यायाधीश कुमार रेग्मीले प्रधानन्यायाधीश शर्मालाई सर्वोच्चमा स्वागत गरेका थिए।

लामो समयपछि अदालत फर्किएकी न्यायाधीश मल्लले आज सोमवारदेखि नै मुद्दाहरूको सुनुवाइ सुरु गरेकी छन्। सोमबारका लागि उनको एकल र संयुक्त दुवै इजलासमा विभिन्न मुद्दाहरूको पेशी तोकिएको छ।

मल्लले सुरुमा एकल इजलासमा ७ थान निवेदनको सुनुवाइ गर्नेछिन् भने त्यसपछि न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा मुद्दाहरू हेर्ने कार्यसूची रहेको छ।

वरिष्ठतम न्यायाधीश मल्ल अदालत र आफ्नो जिम्मेवारीमा फर्किएकाले अब न्यायालयको प्रशासनिक तथा संगठनात्मक कामले गति लिने अनुमान गरिएको छ। मल्ल सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीशको हैसियतमा रहेकाले उनी न्याय परिषद्को पदेन सदस्य हुन्।

उनी काममा फर्किएसँगै अब प्रधानन्यायाधीश शर्मालाई न्याय परिषद्को बैठक बोलाउने बाटो खुला भएको छ।

हाल सर्वोच्च अदालतमा तीन र उच्च अदालतहरूमा मुख्य न्यायाधीशसहित ५ वटा न्यायाधीशको पद रिक्त रहेकाले न्याय परिषद्को बैठक बसी ती पदहरू छिट्टै पूर्ति गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारी न्यायालयसामु रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *