एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फिर्ता, ‘ब्ल्याक लिस्ट’मा रहेकाले मेक्सिको जान रोक
काठमाडौँ । फिफा विश्वकप फुटबल हेर्न अमेरिका प्रस्थान गर्ने तयारीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।
अध्यागमन अधिकारीहरूले उनीहरू ‘कालोसूची’ (ब्ल्याक लिस्ट) मा रहेको जनाउँदै सोमबार बिहान विमानस्थलबाटै फर्काइदिएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीका अनुसार अध्यागमन विभागको रेकर्डमा उनीहरूको नाम कालोसूचीमा रहेकाले विदेश प्रस्थान अनुमति नदिइएको हो । ती अधिकारीले भने, ‘उहाँहरू ब्ल्याक लिस्टमा रहेकाले हामीले आज बिहान विमानस्थलबाट फर्काइदिएका हौँ ।’
आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाख महिनामा नै एन्फाका सबै पदाधिकारीहरूलाई विदेश भ्रमणमा जान रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा उनीहरूलाई मेक्सिको हुँदै अमेरिकातर्फ जानबाट रोकिएको बुझिएको छ ।
आगामी फिफा विश्वकप २०२६ मा सहभागी हुने उद्देश्यले विदेश जान पाउनुपर्ने माग राख्दै एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई आइतबार राखेप पुगेका थिए ।
उनीहरूले आफूहरूमाथि लगाइएको विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरे तापनि राखेपले भने उक्त बाटो खुला गर्न स्पष्ट रूपमा अस्वीकार गरेको थियो । राखेपको अडान कायमै रहेका कारण अन्ततः उनीहरू विमानस्थलबाटै फर्किनुपरेको हो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment