सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

डिसी नेपाल
२७ जेठ २०८३ ९:५४

काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् ।

किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए।

कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १६ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको उनले बताए।

“सबै किसानलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा मन्त्रालयले वर्गीकरण गर्ने योजना बनाएको छ”, उनले भने,“वर्गीकरणपश्चात परिचयपत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्नेलगायत कार्यक्रम गरिनेछ । परिचयपत्रका आधारमा सरकारले अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउन सहज हुनेछ ।”

देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *