रोनाल्डोको अन्तिम विश्वकप यात्रा: समूह चरणमै पोर्चुगललाई कोलम्बियाको चुनौती
काठमाडाैं। विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि आगामी विश्वकप निकै विशेष र भावनात्मक हुने भएको छ। ४१ वर्षको उमेरमा आफ्नो खेल जीवनको अन्तिम विश्वकप खेल्ने तयारीमा रहेका रोनाल्डोका लागि विश्वकपको प्रतिष्ठित उपाधि चुम्ने यो नै अन्तिम अवसर हुनेछ।
पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल इतिहासमै सर्वाधिक गोल गर्ने कीर्तिमानी खेलाडी हुन्, जसले पोर्चुगलका लागि २२६ खेल खेल्दै १४३ गोल गरिसकेका छन्।
यद्यपि, ह्यामस्ट्रिङको चोटका कारण साउदी क्लब अल नासरबाट खेलेको बितेको सिजन उनको प्रदर्शन अपेक्षाअनुसार रहन सकेन र चोटकै कारण उनले केही महत्त्वपूर्ण खेलहरू समेत गुमाउनुपरेको थियो।
आगामी विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने घोषणा गरिसकेका रोनाल्डोले अर्जेन्टिनाका लियोनेल मेसीसँगै लगातार छैटौं विश्वकप खेल्ने दुर्लभ कीर्तिमान समेत बनाउँदै छन्।
विश्वकपको समूह चरणमा पोर्चुगलले कोलम्बिया, उज्वेकिस्तान र कंगोसँग प्रतिस्पर्धा गर्ने तालिका छ। समूहमा कोलम्बियाविरुद्धको खेल पोर्चुगलका लागि सबैभन्दा चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ भने उज्वेकिस्तान र कंगोविरुद्ध पोर्चुगललाई बलियो दाबेदारका रूपमा हेरिएको छ।
फिफा विश्व वरीयताको पाँचौं स्थानमा रहेको पोर्चुगल पछिल्ला केही नतिजाका कारण थोरै दबाबमा छ, विशेष गरी युरोपेली छनोटअन्तर्गत आयरल्यान्डसँग २-० ले पराजित भएको खेलमा रोनाल्डोले रातो कार्डको समेत सामना गर्नुपरेको थियो।
अर्कोतर्फ, पोर्चुगलको मुख्य प्रतिस्पर्धी कोलम्बियाका कप्तान तथा स्टार मिडफिल्डर हामेस रोड्रिग्वेज टोलीको प्रमुख हतियारका रूपमा मैदान उत्रिनेछन्।
सन् २०१४ को विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेका रोड्रिग्वेजले राष्ट्रिय टोलीका लागि ३१ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् र कोलम्बियाका लागि यो सातौं विश्वकप सहभागिता हुनेछ। यसैगरी, ४८ टोली सहभागी हुने नयाँ विश्वकप संरचनाको फाइदा उठाउँदै एसियाबाट स्थान बनाएको उज्वेकिस्तान पहिलोपटक स्वतन्त्र राष्ट्रका रूपमा विश्वकप खेल्दै इतिहास रच्ने तयारीमा छ।
इटालीका विश्वकप विजेता कप्तान फाबियो कानाभारोको प्रशिक्षणमा रहेको उज्वेकिस्तानको कप्तानी ९० खेलमा ४४ गोल गरिसकेका इल्डर शोमुरोडोभले सम्हाल्नेछन्।
समूहको अन्तिम टोली कंगोले भने ४४ वर्षपछि विश्वकपमा पुनरागमन गर्दै दोस्रो पटक सहभागिता जनाउन लागेको हो, जसले यसअघि सन् १९७४ मा जाइरेका नामबाट विश्वकप खेलेको थियो। रोनाल्डोको अन्तिम यात्रा, मेसीसँगको ऐतिहासिक प्रतिस्पर्धा र नयाँ टोलीहरूको उदयले गर्दा यसपटकको विश्वकप थप रोमान्चक हुने निश्चित छ।







डिसी नेपाल







Facebook Comment