वैदिक ज्ञान-परम्पराको पुनर्जागरण

डा. गोविन्दशरण उपाध्याय
२७ जेठ २०८३ ११:४१

हाम्रो समय भारतवर्षको प्राचीन ज्ञान-परम्पराका लागि निकै अनुकूल छ। विश्वभरि भारतवर्षको प्राचीन ज्ञान-परम्पराप्रति अध्ययन, अध्यापन, अनुसन्धान र नवाचार (नयाँ खोज) को रुचि तीव्र रूपमा बढिरहेको छ।

योग, वेदान्त, आयुर्वेद, संस्कृत, धर्मदर्शन, भारतवर्षीय मनोविज्ञान, बौद्ध-जैन दर्शन, तन्त्र, ज्योतिष, नाट्य, सङ्गीत, वास्तु, भाषा-विज्ञान र जीवन-दर्शनजस्ता विषयहरू अब केवल परम्परागत आस्थाका विषय मात्र रहेनन्।

यी विषयहरू आधुनिक विश्वविद्यालय, अनुसन्धान-केन्द्र, स्वास्थ्य-विज्ञान, मनोविज्ञान, व्यवस्थापन, शिक्षा, जीवन-कला र नेतृत्व-विकासका विमर्शहरूमा समेत प्रवेश गरिरहेका छन्।

संसारका प्रतिष्ठित विश्वविद्यालयहरूमा योग, ध्यान, माइन्डफुलनेस, आयुर्वेद, संस्कृत, वेदान्त र भारतीय दर्शनका पाठ्यक्रमहरू पढाइनु अब आश्चर्यको विषय रहेन। भारतको एउटा केन्द्रीय विश्वविद्यालयले त झन् एआई (कृत्रिम बौद्धिकता) र संस्कृत शिक्षालाई जोडेर पठनपाठन गर्ने घोषणा नै गरिसकेको छ।

यो अवस्था केवल सांस्कृतिक पुनरुत्थानको सामान्य घटना होइन। यो भारतवर्षीय सभ्यताको दीर्घकालीन स्मृति, आत्मबोध र ज्ञान-सामर्थ्य पुनः जागृत भएको संकेत हो।

लामो समयसम्म औपनिवेशिक शिक्षा, पश्चिमी बौद्धिक वर्चस्व र आत्महीन मानसिकताले ढाकिएको भारतवर्षीय चेतना अब क्रमशः आफ्नो मूलतर्फ फर्किरहेको छ।

यस फर्काइको अर्थ अन्ध-परम्परावाद होइन; बरु आफ्नो परम्पराका असल तत्त्वहरूलाई आलोचनात्मक, अनुसन्धानात्मक र आधुनिक उपयोगितासहित पुनः प्रतिष्ठित गर्ने प्रयत्न हो।

नेपाल र भारतसहित विश्वका धेरै बुद्धिजीवी तथा अनुसन्धाताहरूले प्राचीन भारतवर्षीय ज्ञान-परम्परालाई आधुनिक परिप्रेक्ष्यमा बुझ्ने र बुझाउने सशक्त कलम चलाइरहनुभएको छ।

यही कारणले आफूलाई स्वतन्त्र, समाजवादी, बौद्धिक र प्रगतिशील ठान्ने कतिपय बुर्जुवा वृत्तमा असामान्य बेचैनी देखिन थालेको छ।

उनीहरूको वैचारिक आधार लामो समयसम्म पश्चिमी प्रतिमान, औपनिवेशिक आलोचना, धर्मनिरपेक्षताको एकाङ्गी व्याख्या र भारतवर्षीय परम्पराप्रतिको अविश्वासमा टिकेको थियो।

उनीहरूले आधुनिकताको अर्थ आफ्नै जरा अस्वीकार गर्नु, धर्म-संस्कृतिलाई पिछडापन ठान्नु र पश्चिमी बौद्धिक उत्पादनलाई मात्र सार्वभौम सत्य मान्नु हो भन्ने भ्रम फैलाउँदै आए। तर परिस्थिति बदलिँदै छ।

अब भारतीय तथा नेपाली समाजले प्रश्न गर्न थालेको छ- के आधुनिक बन्नु भनेको आफ्नो मौलिकता त्याग्नु हो? के वैज्ञानिकता भनेको वैदिक, बौद्ध, जैन वा लोकजीवनबाट आएका ज्ञान-स्रोतहरूलाई अपमान गर्नु हो? के प्रगतिशीलता भनेको आफ्नै सभ्यताप्रति घृणा र परायाको प्रतिमानप्रति अन्धभक्ति हो?

वास्तवमा, भारतवर्षीय ज्ञान-परम्परा कुनै सङ्कीर्ण धार्मिक दाबी होइन। यो वेद, उपनिषद्, गीता, बौद्ध त्रिपिटक, जैन आगम, साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा, वेदान्त, तन्त्र, आयुर्वेद, अर्थशास्त्र, नाट्यशास्त्र र अनेकौँ लोकज्ञानहरू मिलेर बनेको विशाल ज्ञान-संसार हो।

यस ज्ञान-संसारले केवल ईश्वर, मोक्ष र आत्माको कुरा मात्र गरेको छैन; यसले शरीर, मन, समाज, राज्य, अर्थ, नीति, शिक्षा, स्वास्थ्य, प्रकृति, परिवार, कला, सौन्दर्य, भाषा र मानव-सम्बन्धका गहिरा प्रश्नहरू उठाएको छ।

त्यसैले भारतवर्षीय परम्परालाई केवल कर्मकाण्ड वा रूढि भनेर पन्छाउनु बौद्धिक आलस्य हो। नेपालका केही वामपन्थी बुद्धिजीवीहरूले वैदिक ज्ञानप्रणाली र यसको सांस्कृतिक महत्त्व बुझेरै होला, धार्मिक रूपमा नभए पनि सांस्कृतिक रूपमा नेपाली ज्ञान-परम्पराको संरक्षण हुनुपर्छ भन्ने अभिमत प्रस्तुत गर्नुभएको छ भने केहीले त आफूलाई “बौद्ध” नै घोषणा गर्नुभएको छ।

आज योगलाई शारीरिक व्यायाम मात्र मान्ने समय समाप्त भइसकेको छ। योग आधुनिक मानसिक स्वास्थ्य, तनाव-व्यवस्थापन, भावनात्मक सन्तुलन, ध्यान-प्रशिक्षण र जीवन-शैली चिकित्सा (लाइफस्टाइल मेडिसिन) सँग जोडिएको छ।

आयुर्वेदलाई केवल घरेलु उपचारका रूपमा हेर्ने दृष्टि पनि साँघुरो भइसकेको छ। आज विश्वभरि समग्र स्वास्थ्य (होलिस्टिक हेल्थ), प्रतिरोधात्मक चिकित्सा, आहार-विहार र मन-शरीरको सम्बन्धका सन्दर्भमा आयुर्वेद पुनः गहिरो अध्ययनको विषय बनेको छ।

वेदान्त र बौद्ध दर्शन केवल मठ-मन्दिर र गुम्बाका विषय रहेनन्; ती चेतना-अध्ययन, अस्तित्व-चिन्तन, मनोविज्ञान, नैतिकता र नेतृत्व-दर्शनका क्षेत्रमा पनि प्रवेश गरिरहेका छन्।

संस्कृत केवल देवभाषा मात्र होइन; यो ज्ञान, व्याकरण, तर्क, काव्य, दर्शन र सूक्ष्म अभिव्यक्तिको अद्वितीय साधन हो भन्ने तथ्य पुनः स्थापित हुँदै छ। यहाँ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्मरण गर्नु सान्दर्भिक हुन्छ, जसले खुला मञ्चबाट योगको प्रवर्द्धनका लागि आह्वान गर्नुभयो र प्रष्ट रूपमा ‘ऋषिपथ’ नेपाली मनोविज्ञान अनुकूल भएको स्वीकार्नुभयो। अन्य केही वामपन्थी नेताहरूमा यो चेतना जागृत हुनुमा पश्चिमा र भारतवर्षीय समाजमा मौलिक ज्ञानप्रणालीप्रति बढेको अभिरुचिकै प्रभाव हो।

वैदिक ज्ञानपरम्पराको शक्ति फैलिँदै गर्दा पश्चिमी माइन्ड-सेट (मानसिकता) मा हुर्किएको प्रगतिशीलतालाई असहज हुनु स्वाभाविकै हो; किनकि त्यसले आफ्नो बौद्धिक प्रतिष्ठा भारतवर्षीय ज्ञान-परम्पराको आलोचना, उपहास र अवमूल्यनबाटै निर्माण गरेको थियो।

लामो समयसम्म धर्मनिरपेक्षताका नाममा धर्म-संस्कृतिप्रति शत्रुतापूर्ण व्यवहार गरियो। समाजवादका नाममा स्थानीय ज्ञान, लोकसंस्कृति र आध्यात्मिक परम्परालाई सामन्ती अवशेष भनियो।

आधुनिक शिक्षाका नाममा गुरुकुल, संस्कृत, शास्त्र, गुरु-शिष्य परम्परा र जीवन-आधारित शिक्षालाई पछौटे ठानियो। तर आज यिनै विषयहरू नयाँ दृष्टिले अध्ययनको केन्द्रमा आउन थालेपछि पुरानो बौद्धिक संरचना हल्लिन थालेको छ। यो वाम-समाजवादीहरूका लागि निकै चिन्ताको विषय बनेको छ।

हालै भारतमा चर्चामा आएको ‘ककरोच जनता पार्टी’को प्रदर्शनमा भारतीय कम्युनिस्ट नेता दीपाङ्कर भट्टाचार्यको उपस्थिति केवल एउटा सामान्य राजनीतिक सहभागिता मात्र होइन। यसलाई भारतीय वामपन्थी चिन्तनको गहिरो विचलनका रूपमा पनि बुझ्न सकिन्छ।

शिक्षा प्रणाली, बेरोजगारी, परीक्षागत अनियमितता, सामाजिक अन्याय र युवाको भविष्यका प्रश्न उठाउनु लोकतान्त्रिक दृष्टिले अत्यन्त स्वाभाविक हो र यस्ता प्रश्नहरू कुनै पनि जिम्मेवार समाजले उठाउनुपर्छ।

तर, व्यङ्ग्यात्मक, क्षणिक असन्तोष र जनमनोविज्ञानमा आधारित आन्दोलनसँग वैचारिक दलहरूको हतारोको सहकार्यले उनीहरूको दीर्घकालीन दर्शन, सङ्गठनात्मक आत्मविश्वास र ऐतिहासिक वैचारिक आधार कमजोर हुँदै गएको अनुभूति गराउँछ।

भारतवर्षीय ज्ञानप्रणालीप्रतिको अविश्वास र घृणा फैलाउने कार्यमा क्रमशः असफलता हात लाग्न थालेपछि आफ्नो अस्तित्व रक्षा गर्न नयाँ–नयाँ वैचारिक छाता ओढ्नु र अस्तित्व जोगाउने प्रयत्न गर्नुलाई उनीहरूको स्वाभाविक बाध्यता नै ठान्नुपर्छ।

विचारवान् दल वा बौद्धिक आन्दोलनको शक्ति क्षणिक नारा, भीड वा व्यङ्ग्यमा हुँदैन; त्यो त दीर्घकालीन दृष्टि, दार्शनिक आधार, सामाजिक उत्तरदायित्व र सभ्यतागत संवेदनशीलतामा हुन्छ।

जब कुनै विचारधारा आफ्नो मौलिक सृजनशीलता गुमाएर केवल प्रतिक्रियात्मक विरोधमा सीमित हुन्छ, तब उसले समाजलाई सही दिशा दिन सक्दैन। यही अवस्था आज धेरै बुर्जुवा प्रगतिशील वृत्तमा देखिन्छ। उनीहरू वैदिक ज्ञान-परम्पराको अध्ययन गर्न चाहँदैनन्, तर त्यसको विरोध गर्न भने सदैव तत्पर देखिन्छन्।

यहाँसम्म कि वेद, पुराण, उपनिषद्, धम्मपद आदिको व्याख्या नै आफ्नो राजनीतिक सोच अनुकूल हुने गरी तोडमरोड गर्न थाल्छन्। उनीहरू संस्कृत जान्दैनन्, तर संस्कृतप्रति कटाक्ष गर्छन्। कतिपय संस्कृत जान्नेहरूले वेद-उपनिषद्‌मा मार्क्सवाद खोज्छन् भने बुद्धलाई ‘प्रगतिशील’ भएको पगडी गुथाउन खोज्छन्।

उनीहरू वेद, उपनिषद्, गीता, बौद्ध-जैन दर्शन र आयुर्वेदको गहिरो अध्ययन नगरी तिनलाई सामन्ती, ब्राह्मणवादी, अन्धविश्वासी वा अवैज्ञानिक भनेर खारेज गर्न खोज्छन्। यो आलोचना होइन, पूर्वाग्रह हो।

सन् २०१४ पछि भारतीय राजनीतिमा भारतीय जनता पार्टीको उदयसँगै भारतमा प्राचीन वैदिक, जैन, बौद्ध तथा अन्य रैथाने ज्ञान–परम्पराहरूको पुनः खोज, पुनः अध्ययन र पुनः प्रतिष्ठाको राजनीतिक तथा सांस्कृतिक वातावरण बलियो भयो।

यस प्रक्रियाका आफ्ना राजनीतिक पक्ष र विवादहरू हुन सक्छन्, तर एउटा तथ्य स्पष्ट छ- नेपाली र भारतीय समाजमा आफ्नो सभ्यतागत स्रोतप्रति चासो निकै बढेको छ। संस्कृत, योग, आयुर्वेद, गुरुकुल, तीर्थ, शास्त्र, रैथाने इतिहास, धर्मदर्शन र स्थानीय परम्पराहरू अब लज्जाका विषय रहेनन्; ती पुनः आत्मगौरवका विषय बन्दै छन्। ठूला-ठूला प्राध्यापक तथा राजनीतिक शक्तिहरूले वैदिक संस्कृतिको पक्षमा निर्धक्कसँग वकालत गर्न थालेका छन्।

यसको प्रभाव नेपालमा नपर्ने कुरै भएन। नेपाल भारतवर्षीय सभ्यताको स्वाभाविक उद्गमस्थल हो। यहाँका हिमालय, नदी, तीर्थ, भाषा, लोकसंस्कृति, वेद-पुराणीय स्मृति, शैव-शाक्त-वैष्णव-बौद्ध परम्परा, जात्रा, पर्व, संस्कार र गुरुकुलीय जीवन सबै भारतवर्षीय ज्ञान-परम्परासँग गहिरो गरी जोडिएका छन्।

लामो समयसम्म अत्यन्त निरपेक्ष, मौन र रक्षात्मक देखिएको नेपाली हिन्दू समाजले पनि आफ्नै सामर्थ्यमा संस्कृत भाषा, गुरुकुल शिक्षा, वेदाध्ययन, धर्मदर्शन, योग, आयुर्वेद र सांस्कृतिक पुनर्जागरणका क्षेत्रमा काम गर्न थालेको छ।

यस्तो उत्थानमा नेपाल सरकारको राजकीय भूमिका अत्यन्त सीमित छ। धेरैजसो उम्दा गुरुकुल तथा संस्कृत विद्यालयहरू मुठीदान र चन्दाबाट सञ्चालित छन्। यो कार्यमा नेपाली सन्तसमाजको त्याग, तपस्या र मार्गदर्शनले महत्त्वपूर्ण योगदान गरेको छ।

आज नेपालका धेरै गुरुकुलहरू केवल परम्परागत पाठशाला मात्र रहेनन्; ती त अनुशासन, संस्कार, भाषा, शास्त्र, जीवन–व्यवस्था र नैतिक शिक्षाका प्रयोगशाला बन्दै छन्। केही नेपाली गुरुकुलहरू त भारतका लागि समेत प्रेरक उदाहरण बन्न थालेका छन्।

सीमित स्रोत, न्यून आर्थिक आधार र सामाजिक उपेक्षाका बिच पनि नेपाली गुरुकुलहरूले संस्कृत र वैदिक अध्ययनको क्षेत्रमा जुन समर्पण देखाएका छन्, त्यो उल्लेखनीय छ।

यो पुनर्जागरण राज्यको आदेशले मात्र आएको होइन, बरु समाजको आन्तरिक आवश्यकता, आत्मगौरव र सांस्कृतिक स्मृतिबाट उत्पन्न भएको हो र वैदिक समाजले आफ्नो मौलिक पहिचान खोजेको यो एउटा बलियो प्रमाण हो।

तर, यो पुनर्जागरणलाई केवल धार्मिक पुनरुत्थानका रूपमा मात्र बुझ्नु भूल हुनेछ। यसको गहिरो अर्थ छ- शिक्षामा आत्मनिर्भरता, ज्ञानमा मौलिकता, संस्कृतिमा आत्मसम्मान र आधुनिकतामा स्वदेशी दृष्टिको खोज। आजको आवश्यकता अन्ध-आदरको होइन, आलोचनात्मक पुनर्पाठको हो।

वेद, उपनिषद्, गीता, योग, आयुर्वेद, बौद्ध-जैन दर्शन र लोकज्ञानलाई आधुनिक अनुसन्धान, वैज्ञानिक परीक्षण, सामाजिक उपयोगिता र मानवकल्याणसँग जोड्नुपर्छ। जहाँ सुधार आवश्यक छ, त्यहाँ सुधार गर्नुपर्छ; जहाँ विकृति छ, त्यहाँ परिमार्जन गर्नुपर्छ र जहाँ अमूल्य ज्ञान छ, त्यसलाई गौरवका साथ विश्वसमक्ष प्रस्तुत गर्नुपर्छ।

सभ्यतागत आत्मबोधको अर्थ अरू सभ्यताप्रति घृणा फैलाउनु कतिपय होइन। भारतवर्षीय दृष्टिले कहिल्यै पनि सत्यलाई एकाङ्गी रूपमा बन्दी बनाएको छैन। “आ नो भद्राः क्रतवो यन्तु विश्वतः” अर्थात् ‘चारैतिरबाट कल्याणकारी विचारहरू हामीतर्फ आऊन्’ भन्ने वैदिक उद्घोष नै यस सभ्यताको खुलापनको अकाट्य प्रमाण हो।

त्यसैले पश्चिमबाट आएका विज्ञान, प्रविधि, लोकतन्त्र, मानवअधिकार, व्यवस्थापन, चिकित्सा र अनुसन्धान–पद्धतिका असल पक्षहरू ग्रहण गर्न कुनै हिचकिचाहट हुनुपर्दैन।

तर, ग्रहण गर्नुको अर्थ आत्मसमर्पण गर्नु होइन। विश्वका असल कुराहरू यहाँ मिसाउने, कमसल कुराहरू त्याग्ने र आफ्नोमा भएका असल कुराहरू विश्वलाई दिने ‘आत्ममूलक दृष्टि’ नै आजको आवश्यकता हो।

पश्चिमी प्रतिमानमा अडिएको प्रगतिशीलताले बुझ्नुपर्ने मुख्य कुरा यही हो- भारतवर्षीय ज्ञान-परम्पराको पुनर्जागरण कुनै प्रतिक्रियावादी परियोजना होइन। यो मानव सभ्यताको समृद्धिका लागि आवश्यक बौद्धिक योगदान हो।

योग, ध्यान, आयुर्वेद, धर्मदर्शन, कर्तव्य-चिन्तन, आत्मानुशासन, प्रकृति-सम्मान, परिवार-व्यवस्था, गुरु-शिष्य सम्बन्ध, समष्टि-कल्याण र जीवनको अन्तर्मुखी खोज आजको असन्तुलित विश्वका लागि अत्यन्त आवश्यक छन्।

भौतिक विकासले सुविधा दिएको छ, तर शान्ति दिएको छैन। सूचना–प्रविधिले सम्पर्क (कनेक्टिभिटी) त दिएको छ, तर सम्बन्धको गहिराइ घटाइदिएको छ। उपभोगले वस्तु दिएको छ, तर सन्तोष दिएको छैन। यस्तो सङ्क्रमणकालीन समयमा भारतवर्षीय ज्ञान–परम्पराले जीवनलाई बाहिरबाट मात्र होइन, भित्रबाट पनि व्यवस्थित गर्ने मार्ग देखाउन सक्छ।

यसैले आजको वास्तविक प्रगतिशीलता आफ्नै जरा काटेर आधुनिक बन्ने होइन; बरु जरा बलियो बनाएर विश्वसँग संवाद गर्ने हो। वास्तविक समाजवाद आफ्नो समाजको स्मृति, संस्कृति र आत्मालाई नष्ट गरेर आउँदैन; त्यो त समाजको आत्मबोधलाई सम्मान गर्दै न्याय, समानता र करुणा स्थापित गर्दा मात्र आउँछ।

वास्तविक धर्मनिरपेक्षता धर्मप्रति घृणा होइन, बरु सबै परम्पराको न्यायपूर्ण सम्मान हो। वास्तविक बौद्धिकता पूर्वाग्रह होइन; यो त अध्ययन, अनुसन्धान, संवाद र सत्यप्रतिको निष्ठा हो। नेपाली संस्कृतिले घृणावादको होइन, प्रेमपूर्ण संवादको बाटो अवलम्बन गर्न खोज्दै छ र राम्रो कुरा के हो भने यस्तो चाहनाको पक्षमा जनअभिमत निरन्तर बढ्दो छ।

नेपाली समाजले आफ्नो जरोकिलो चिन्न थालेको छ। भारतवर्षीय सभ्यताको गौरव केवल अतीतको कथा मात्र होइन, अपितु भविष्यको सम्भावना पनि हो। हामीले आफ्ना शास्त्रहरूलाई सङ्ग्रहालयमा राखेर पूजा मात्र गर्ने होइन; तिनलाई जीवन, शिक्षा, स्वास्थ्य, मनोविज्ञान, नीति, समाज र विश्वशान्तिका क्षेत्रमा उपयोगी बनाउनुपर्छ।

यी ज्ञान-परम्पराहरूलाई विद्यालय र विश्वविद्यालयको तहबाट वैश्विक बनाउनु आजको आवश्यकता हो। वैदिक ज्ञान-परम्पराको पुनर्जागरण भनेको पुरानो युगमा फर्कनु होइन, अपितु सनातन जीवनदृष्टिलाई आधुनिक चेतना, वैज्ञानिक विवेक र वैश्विक संवादसँग जोडेर नयाँ भविष्य निर्माण गर्नु हो।

अब समय आएको छ- हामी आत्महीनताको युगबाट आत्मबोधको युगमा प्रवेश गरौँ। पश्चिमबाट सिकौँ, तर पश्चिमकै अन्ध-प्रतिलिपि नबनौँ। आफ्नो परम्परालाई जाँचौँ, तर अपमान नगरौँ।

असल कुरालाई ग्रहण गरौँ, कमजोर पक्षलाई सुधारौँ र भारतवर्षीय ज्ञान-सम्पदालाई विश्वकल्याणको दिशामा पुनः प्रतिष्ठित गरौँ। यही नै वैदिक ज्ञान-परम्पराको वास्तविक पुनर्जागरण हो, यही सभ्यतागत गौरव हो, यही भविष्यको स्वाभाविक मार्ग हो र यही नै नेपालीको मौलिक चिनारी पनि हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *