इरानमाथि आज राति नै ठूलो आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
वासिङ्टन डीसी। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अत्यन्तै घातक र शक्तिशाली सैन्य आक्रमण गर्ने घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी गर्दै अमेरिकी सेनाले आज राति नै इरानका रणनीतिक ठेगानाहरूलाई निसाना बनाएर ठूलो स्तरको सैन्य कारबाही गर्न लागेको जानकारी दिएका हुन्। ह्वाइट हाउसले सैन्य कमाण्डरहरूसँगको विशेष परामर्शपछि यो कदम चालेको बताइएकाे छ।
राष्ट्रपति ट्रम्पले इरानका नौसेना, वायुसेना, राडार, वायु रक्षा प्रणाली र यसका अधिकांश आक्रामक सैन्य क्षमताहरू यसअघिको कारबाहीबाट पहिले नै नष्ट भइसकेको दाबीसमेत गरेका छन्र।
अमेरिकी राष्ट्रपतिले सैन्य पूर्वाधार मात्र नभई इरानको आर्थिक मेरुदण्ड मानिने ऊर्जा क्षेत्रलाई समेत ध्वस्त बनाउने र आफ्नो नियन्त्रणमा लिने रणनीति सार्वजनिक गरेका छन्। ट्रम्पले निकट भविष्यमै अमेरिकाले इरानको सबैभन्दा प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु र अन्य महत्त्वपूर्ण तेल पूर्वाधारहरू पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिने दाबी गरेका छन्।
यसका साथै अमेरिकाले इरानको तेल र ग्यास बजारमाथि समेत कब्जा जमाउने उनको भनाइ छ। फारसको खाडी (पर्सियन गल्फ) मा अवस्थित खार्ग टापु भू-राजनीतिक र रणनीतिक रूपमा इरानका लागि लाइफलाइन मानिन्छ, किनकि इरानको कुल कच्चा तेल निर्यातको झण्डै ९० प्रतिशत हिस्सा यही टापुमा रहेका अत्याधुनिक टर्मिनलहरूबाट हुने गर्दछ। ट्रम्पले आफ्नो पहिलो कार्यकालदेखि नै इरानमाथिको ‘अधिकतम दबाब’ (म्याक्सिमम प्रेसर) को नीतिका क्रममा यस टापुलाई निसाना बनाउने धम्की दिँदै आएका थिए।
वासिङ्टन र तेहरानबीच लामो समयदेखि चल्दै आएको भू-राजनीतिक तनाव यस घोषणासँगै युद्धको संघारमा पुगेको छ। ट्रम्प प्रशासनले इरानको आणविक कार्यक्रम र मध्यपूर्वमा सक्रिय विद्रोही समूहहरूलाई तेहरानले गर्ने आर्थिक तथा सैन्य सहयोगलाई रोक्न यो कडा कदम चाल्नुपरेको जिकिर गर्दै आएको छ।
राष्ट्रपति ट्रम्पको यो पछिल्लो आक्रामक घोषणाले विश्व तेल बजारमा इन्धनको मूल्य ह्वात्तै बढाउने जोखिम निम्त्याएको छ भने मध्यपूर्वमा फेरि अर्को भयानक क्षेत्रीय युद्ध भड्किने खतराप्रति अन्तर्राष्ट्रिय कूटनीतिज्ञ र संयुक्त राष्ट्रसंघले गम्भीर चिन्ता व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment