विश्व बालश्रमविरुद्धको दिवस मनाइँदै, उन्मूलनको विश्वव्यापी लक्ष्य चुनौतीपूर्ण बन्दै

डिसी नेपाल
२९ जेठ २०८३ ७:२६

काठमाडौं। बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वभर विविध कार्यक्रमका साथ विश्व बालश्रमविरुद्धको दिवस मनाइँदै छ।

अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को आह्वानमा सन् २००२ देखि प्रत्येक वर्षको जुन १२ तारिखमा यो दिवस मनाउन प्रारम्भ गरिएको हो। बालश्रम अन्त्यका लागि विगत दुई दशकमा उल्लेखनीय प्रगति भए तापनि हालको गति पर्याप्त नभएको र सन् २०२५ सम्ममा बालश्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य अझै पूरा हुन नसकेको आइएलओले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र आइएलओको संयुक्त प्रतिवेदन अनुसार सन् २००० मा विश्वभर २४ करोड ६० लाख बालबालिका बालश्रममा संलग्न रहेकामा उक्त सङ्ख्या घटेर हाल १३ करोड ८० लाखमा झरेको छ।

यद्यपि बालश्रम अन्त्यका लागि भएको प्रगतिको वर्तमान दर अत्यन्त सुस्त रहेकाले आगामी पाँच वर्षभित्र यो समस्या पूर्ण रूपमा अन्त्य गर्न हालको भन्दा ११ गुणा तीव्र गतिमा काम गर्नुपर्ने टड्कारो आवश्यकता औँल्याइएको छ।

विश्वमा बालश्रमको सबैभन्दा ठूलो भार अफ्रिका महादेशले वहन गरिरहेको छ, जहाँ विश्वका कुल बालश्रमिकमध्ये झण्डै दुई–तिहाइ अर्थात् करिब आठ करोड ७० लाख बालबालिका श्रममा संलग्न छन्।

त्यहाँ बालश्रमको दर २४ प्रतिशतबाट २२ प्रतिशतमा झरे पनि तीव्र जनसङ्ख्या वृद्धि, निरन्तरको द्वन्द्व, चरम गरिबी र कमजोर सामाजिक सुरक्षा प्रणालीका कारण प्रभावित बालबालिकाको कुल सङ्ख्यामा उल्लेखनीय कमी आउन सकेको छैन।

यसको विपरीत एसिया तथा प्रशान्त क्षेत्रमा भने सन् २०२० यता बालश्रम नियन्त्रणमा सबैभन्दा ठूलो सुधार देखिएको छ। यस अवधिमा सो क्षेत्रमा बालश्रमको दर ६ प्रतिशतबाट घटेर ३ प्रतिशतमा झरेको छ भने बालश्रममा संलग्न बालबालिकाको सङ्ख्या चार करोड ९० लाखबाट २ करोड ८० लाखमा सीमित भएको छ।

ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रमा बालश्रमको दर स्थिर रहे पनि प्रभावित बालबालिकाको सङ्ख्या ८० लाखबाट घटेर करिब ७० लाखमा झरेको छ। प्रतिवेदन अनुसार कृषि क्षेत्र बालश्रमको सबैभन्दा ठूलो केन्द्र बनेको छ, जहाँ कुल बालश्रममध्ये ६१ प्रतिशत बालबालिका श्रम गरिरहेका छन् भने सेवा क्षेत्रमा २७ प्रतिशत र खानी तथा उत्पादनमूलक उद्योगसहितको उद्योग क्षेत्रमा १३ प्रतिशत बालबालिका कार्यरत छन्।

बालश्रम अन्त्यको अभियानलाई तीव्र बनाउन युनिसेफ र आइएलओले विश्वका सरकारहरूलाई विशेष आग्रह गरेका छन्। उनीहरूले जोखिममा रहेका परिवारका लागि सामाजिक सुरक्षा तथा बालभत्ताजस्ता कल्याणकारी कार्यक्रम विस्तार गर्न, बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन र गुणस्तरीय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न जोड दिएका छन्।

साथै, युवा तथा वयस्कका लागि मर्यादित रोजगारी सिर्जना गर्न, श्रम कानुनको प्रभावकारी कार्यान्वयन गर्दै व्यावसायिक आपूर्ति शृङ्खलामा हुने बालशोषण रोक्न आवश्यक रहेको औँल्याइएको छ। बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा गम्भीर र दीर्घकालीन असर पार्ने भएकाले यसको समूल नष्टका लागि सरकार, निजी क्षेत्र, समुदाय तथा अन्तरराष्ट्रिय साझेदारबिचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *