सुस्तामा नेपालीले हप्कीदप्की सहनुपर्दा सरकार कहाँ छ ?: हर्क साम्पाङ
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपाल-भारत सीमासम्बन्धी गम्भीर विषयलाई लिएर सरकारको कडा ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद साम्पाङले राष्ट्रिय स्वाधीनता र सीमा सुरक्षा जस्तो संवेदनशील मामिलामा सरकार र देशको कार्यकारी प्रमुख गैरजिम्मेवार बनेको आरोप लगाए।
प्रधानमन्त्रीले नेपाल-भारत सीमाका विषयमा दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा आफूले संसद्भित्रै प्लेकार्ड प्रदर्शन गरेको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री संसद्मा उपस्थित नभएको भन्दै उनले तीव्र आक्रोश व्यक्त गरे।
संसद्मा बोल्दै उनले प्रधानमन्त्रीले सीमाबारे विवादित अभिव्यक्ति दिएपछि आफूले विरोध सुरु गरेको ११औँ दिन पुग्दा समेत उनी संसद्मा आउने कुनै छाँटकाँट र तत्परता नदेखिएको भन्दै आपत्ति जनाए।
सांसद साम्पाङले वर्तमान सरकारमा रक्षा मन्त्रालयको जिम्मेवारी कसले सम्हालेको छ भन्दै संसद्मा प्रश्न उठाएका छन्। उनले सम्मानीय सभामुखमार्फत रक्षा मन्त्रीलाई तत्काल संसद्मा उपस्थित गराउन जोडदार माग गरे।
नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय पक्षको सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरूले नेपाली नागरिकहरूमाथि खुल्ला रूपमा हप्कीदप्की गरिरहेको र त्यहाँका स्थानीय बासिन्दा आफ्नो मातृभूमिको संरक्षणका लागि एक्लै संघर्षरत रहेको भिडियोहरू सार्वजनिक भइरहेको तर्फ उनले संसद्को ध्यानाकर्षण गराए।
उनले संसद्मा प्रश्न गर्दै अहिले नेपाल सरकारको रक्षा मन्त्री को हुनुहुन्छ भनी सोधेका छन्। सुस्तामा भारतीय एसएसबीले आएर नेपाली दाजुभाइहरूलाई थर्काउने र हप्काउने काम गर्दा हाम्रा नागरिक आफ्नो भूमिको लागि लड्दै, भिड्दै गरेको टिठलाग्दो अवस्था देखिएकाले रक्षा मन्त्रीले संसद्मा आएर यसको जवाफ दिनुपर्ने उनको अडान छ।
यस्तो गम्भीर र संवेदनशील घटनाप्रति नेपाल सरकार र विशेषगरी रक्षा मन्त्रालयको गम्भीर ध्यान जानुपर्ने आवश्यकता औंल्याउँदै साम्पाङले देशको सीमा रक्षा गर्ने पहिलो दायित्व सरकारको भएको स्मरण गराए।
राष्ट्रियता संकटमा पर्दा र सीमामा नागरिकहरू प्रताडित हुँदा प्रधानमन्त्री संसद्बाट भाग्ने खोजेको आरोप लगाउँदै उनले प्रधानमन्त्री नआए पनि रक्षा मन्त्रीलाई बोलाएर सीमासम्बन्धी विषयमा संसद्मा स्पष्ट जवाफ माग गरिनुपर्ने बताए।
संसद्मा प्रधानमन्त्री आउन तयार नभएको अवस्थामा रक्षा मन्त्री कतै लुकेर बसेका भए उनलाई खोजेर भए पनि संसद्को रोस्टममा उभ्याउनुपर्ने उनको भनाइ थियो।
सांसद साम्पाङले सुस्ता क्षेत्रमा देखिएको भद्रगोल र नेपालीमाथि भइरहेको थिचोमिचोबारे सरकारले तत्काल आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने र नेपाली भूमिको स्थायी संरक्षणका लागि ठोस कदम चाल्नुपर्ने माग समेत गरेका छन्।







डिसी नेपाल







Facebook Comment