तीनवटा वायुको प्रभाव: कोशीमा भारी वर्षाको सम्भावना, हिमाली र पहाडी भेगमा हिमपात
काठमाडौं। नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशभरको मौसममा बदली आएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली (बादल लाग्ने) र बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
अहिले कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको मौसमी आकलन
आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली हुने देखिन्छ।
यसैगरी, कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी पहाडी र तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च हिमाली र पहाडी भेगका केही स्थानमा हिमपातको समेत सम्भावना छ।
रातिको मौसम: कोशीमा सतर्कता अपनाउन सुझाव
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। तराई भू-भागमा भने रातिको समयमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। विशेष गरी कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।







डिसी नेपाल







Facebook Comment