वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको चौतर्फी आलोचना, वन कर्मचारीद्वारा बचाउ
कैलाली। कैलालीको भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका-४ स्थित बासपानीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीहरूले एउटा टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि वन कार्यालयको व्यवहारप्रति स्थानीयस्तरमा चर्को आलोचना र असन्तुष्टि व्यक्त भइरहेको छ।
सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको उक्त टेम्पो वन कर्मचारीहरूले नियतवश फालिदिएको भन्दै सामाजिक सञ्जाल र स्थानीयस्तरमा आक्रोश पोखिए पनि डिभिजन वन कार्यालय कैलालीका कर्मचारीहरूले भने संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो बचाउ गरेका छन्।
वन टोलीले सामाजिक सञ्जालमा फैलाइएका सूचनाहरू भ्रामक भएको दाबी गर्दै चुरे अन्तर्गतको संवेदनशील वन क्षेत्रमा लामो समयदेखि भइरहेको अवैध अतिक्रमण नियन्त्रण गर्ने अभियानका क्रममा यो घटना दुर्घटनावश हुन पुगेको तर्क अघि सारेको छ।
यस घटनालाई लिएर पीडित परिवार र वन कर्मचारीहरूबीच विरोधाभासपूर्ण दाबी बाहिर आएका छन्। पीडित धनादेवी धामीका अनुसार उक्त टेम्पो राम्रो अवस्थामा थियो र उनीहरू हरेक दिन बिहान-बेलुका सामान ओसार्न तथा आवतजावत गर्न सोही गाडी प्रयोग गर्ने गर्दथे।
दिउँसोको समयमा यात्रुहरूले विश्राम गर्ने स्थानमा खाजा बेच्नका लागि मात्र टेम्पो त्यहाँ राखिएको र कर्मचारीहरूले सामान बाहिर निकालेपछि आफूले घरतर्फ लैजान आग्रह गर्दागर्दै पनि बेवास्ता गरेर भीरमा खसालेको पीडितको भनाइ छ।
अर्कोतर्फ, वन कर्मचारीहरूले भने भीरबाट खसेको उक्त गाडी चल्ने अवस्थामा नभएको, चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको तथा धकेल्न समेत कठिन हुने अवस्थामा रहेकाले त्यसलाई टहराको रूपमा मात्र प्रयोग गरिएको दाबी गरेका छन्।
कर्मचारीहरूका अनुसार करिब एक महिनाअघि पनि अतिक्रमण हटाउने क्रममा टेम्पो सञ्चालक घनश्याम धामीलाई उक्त संरचना हटाउन निर्देशन दिइएको थियो।
त्यतिबेला अन्य १० वटा छाप्राहरू हटाइए पनि उनले अटेर गरेपछि कर्मचारी आफैँले टेम्पो धकेलेर घरसम्म पुर्याइदिएको तर पछि पुनः सोही स्थानमा ल्याएर पसल सञ्चालन गरिएको वन टोलीको भनाइ छ।
जेठ २९ गते पुनः अतिक्रमण हटाउन पुगेको वन टोलीले टेम्पो हटाउन आग्रह गर्दा सम्बन्धित व्यक्तिले अस्वीकार गरेपछि बल प्रयोग गरी पन्छाउने प्रयास गरिएको र सोही क्रममा भिरालो भू–भागका कारण असन्तुलन भई अनियन्त्रित हुँदा टेम्पो दुर्घटनावश भीरबाट खसेको भन्दै वन कर्मचारीहरूले आफ्नो कदमको बचाउ गरेका छन्।







डिसी नेपाल







Facebook Comment