कांग्रेसलाई कमजोर बनाउने खलनायक गगन थापा हुन् : मोहन बस्नेत

डिसी नेपाल
३१ जेठ २०८३ १६:१०

विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्वले संगठनलाई इतिहासकै कमजोर मोडमा पुर्‍याएको आरोप लगाएका छन्। विराटनगरमा आयोजित संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले विशेषगरी महामन्त्री गगन थापाप्रति लक्षित हुँदै कडा टिप्पणी गरेका हुन्।

बस्नेतले पार्टी नेतृत्वले पुराना र स्थापित नेताहरूलाई योजनाबद्ध रूपमा पाखा लगाउन खोजेको दाबी गरे। क्रियाशील सदस्यता नवीकरणमा भएको अवरोधप्रति आक्रोशित बन्दै उनले भने, ‘बिपी पुत्र डा. शशांक कोइरालादेखि प्रकाशमान सिंह र विमलेन्द्र निधिसम्मका प्रभावशाली नेताहरूको सदस्यता नवीकरणमा अवरोध गरिनु दुःखद छ। दशकौँसम्म पार्टीमा पसिना बगाएका सिनियर नेताहरूको सदस्यता रद्द गर्ने र बिना कुनै मापदण्ड नयाँ मान्छे थप्ने काम भइरहेको छ।’

नेता बस्नेतले कांग्रेसलाई कमजोर बनाउन ‘नाटक’ रचिएको आरोप लगाए। उनले थपे, ‘कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न प्रपञ्चमार्फत भयो। यसका मुख्य पात्र वा खलनायक हाम्रा महामन्त्री गगन थापाजी हुन्। अब उहाँको नेतृत्वबाट पार्टी मिल्छ वा सुध्रिन्छ भनेर के आश गर्ने?’

आन्तरिक विवादका कारण कांग्रेस संकटमा परेको बताउँदै नेता बस्नेतले पार्टीलाई जोगाउन र सुदृढ बनाउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई एक ढिक्का भएर लाग्न आह्वान गरे। उनले पार्टीभित्रको मनमुटाव चिरेर वैचारिक एकता कायम गर्नुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *