रास्वपा कैलाली जिल्ला अधिवेशनको नतिजा बदर, पुनः निर्वाचन हुने
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र नतिजा बदर गरेको छ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्तिमा कैलाली जिल्ला अधिवेशन पार्टीको विधान तथा निर्वाचन कार्यविधिविपरीत सम्पन्न भएको ठहर गरिएको छ। निर्वाचन प्रक्रियामा आधारभूत नियमहरूको पालना नभएको, मतदान तथा मतगणनामा धाँधली भएको र योग्य मतदाताको सहभागिता सुनिश्चित नगरिएको आयोगको निष्कर्ष छ।
यसअघि विवादका बाबजुद सम्पन्न निर्वाचनमा कविन्द्र ठकुल्ला जिल्ला सभापतिमा निर्वाचित भएका थिए। सोही प्रक्रियामा अन्य उम्मेदवारहरू महेश कुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए।
तर, निर्वाचन प्रक्रिया सुरु हुनुअघि नै उम्मेदवारहरू महेश कुमार चौधरी र हरि रेग्मीले निर्वाचन समिति नै अवैधानिक रहेको र मतदाता नामावलीमा व्यापक अनियमितता भएको भन्दै प्रक्रिया बहिष्कार गरेका थिए। उनीहरूले निर्वाचन रोक्न माग गर्दै केन्द्रीय आयोगमा औपचारिक उजुरीसमेत दर्ता गराएका थिए।
उक्त उजुरी र प्राप्त प्रमाणहरूको गहन अध्ययनपछि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको हो।
आयोगले कैलाली जिल्ला समितिको नेतृत्व चयनका लागि पुनः निर्वाचन गर्ने निर्णय गरेको छ। निष्पक्ष, पारदर्शी र विधिसम्मत तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि छिट्टै नयाँ कार्यतालिका सार्वजनिक गरिने र सो प्रयोजनका लागि केन्द्रीय प्रतिनिधि टोली परिचालन गरिने आयोगले जनाएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment