रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशन आज: नेतृत्व चयनमा रस्साकस्सी!

डिसी नेपाल
१ असार २०८३ ८:४६

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन आज (सोमबार) धनगढीमा हुँदै छ। धनगढीस्थित ऋद्धिशिद्ध पार्टी प्यालेसमा आयोजना हुने यस अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको छ। प्रदेश अध्यक्ष प्रकाश विष्टका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

अधिवेशन सुरु हुनुअघि नै प्रदेश सभापति पदका लागि देखिएको आकांक्षीहरूको चापले अधिवेशनलाई थप रोचक बनाएको छ। वर्तमान सभापति प्रकाश विष्ट, कैलाली–२ का सांसद केपी खनाल, सञ्चार उद्यमी डा. जनकराज पन्त र कञ्चनपुरका नारायण वैद्यले सभापतिका लागि दाबी प्रस्तुत गरेका छन्।

सभापति रवि लामिछाने निकट पक्षले वर्तमान अध्यक्ष प्रकाश विष्टलाई नै पुनः नेतृत्वमा ल्याउने योजना बनाएको चर्चा छ। तर, केपी खनालको उम्मेदवारीले प्रतिस्पर्धालाई कडा बनाइदिएको छ। खनाललाई पार्टीभित्र बालेन शाह निकट मानिने समूहको बलियो साथ रहेको राजनीतिक वृत्तमा चर्चा छ।

पार्टी स्रोतका अनुसार खनाल पक्ष चुनावको झन्झटभन्दा पनि सहमतिकै आधारमा नेतृत्व चयन गर्ने रणनीतिमा देखिएको छ। रास्वपाका एक सांसदका अनुसार केपी खनाललाई सभापति बनाउने उद्देश्यसहित केही नेताहरूले तीव्र लबिङ गरिरहेका छन्।

“केपी खनाललाई सभापति बनाएर अघि बढ्ने रणनीति एउटा पक्षको छ, तर त्यसका लागि आवश्यक सहमति जुट्ने वा नजुट्ने विषय बन्दसत्रको प्रक्रियाले नै तय गर्नेछ,” ती सांसदले भने।

ती सांसदको दाबीअनुसार वर्तमान अध्यक्ष प्रकाश विष्टलाई पुनः नेतृत्वमा आउन नदिने गरी केही समूहले आन्तरिक गृहकार्य गरिरहेको छ। यद्यपि, यदि नेतृत्व चयनका लागि मतदानको प्रक्रिया अपनाउनुपर्ने अवस्था आएमा भने प्रकाश विष्टको पक्ष तुलनात्मक रूपमा बढी बलियो देखिने आकलन गरिएको छ।

“यदि सभापति चयनका लागि मतदान भयो भने प्रकाश विष्ट समूहको पकड बलियो देखिन्छ,” ती सांसदले थपे, “त्यसैले पनि खनाल पक्ष भरसक मतदानमा नगई सहमतिमै नेतृत्व टुंग्याउने प्रयासमा केन्द्रित भएको हो।”

नयाँ नेतृत्व चयनका साथै यस अधिवेशनले संगठन विस्तार, आगामी राजनीतिक रणनीति र सुदूरपश्चिममा रास्वपाको संगठनात्मक संरचनालाई थप सुदृढ बनाउने विषयमा गहन छलफल गर्ने अपेक्षा गरिएको छ। रास्वपाको पहिलो प्रदेश अधिवेशन भएकाले यसले सुदूरपश्चिममा पार्टीको भावी दिशा तय गर्ने भएकाले यसलाई देशभरिबाट चासोका साथ हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *