सुस्तामा भारतीय एसएसबीको बढ्दो गतिविधिप्रति सांसद रेनुका काउचाको आपत्ति: ‘सरकारले संसद्लाई जवाफ दिनुपर्छ’

डिसी नेपाल
१ असार २०८३ १२:२६

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले पश्चिम नवलपरासीको ऐतिहासिक सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अनधिकृत आवागमन र बढ्दो गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद काउचाले सुस्ताका सीमावासी नेपाली नागरिकहरूले सदियौँदेखि देशको भूमि रक्षा गर्दै आएको स्मरण गराइन्।

उनले कठिन परिस्थितिमा सीमा ढुकेर बसेका ती देशभक्त नेपालीहरूलाई राज्य र सरकार आफ्नो साथमा रहेको बलियो अनुभूति गराउन यतिबेला निकै आवश्यक रहेको उनकाे भनाइ थियाे।

बैठकमा आफ्नो धारणा राख्ने क्रममा काउचाले प्रधानमन्त्रीले केही समयअघि संसद्मा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने विवादास्पद अभिव्यक्तिपछि भारतीय एसएसबीका अधिकारीहरू पटक-पटक नेपाली भूमि सुस्ता क्षेत्रमा आउन थालेको दाबी गरिन्।

प्रधानमन्त्रीको सोही गैरजिम्मेवार भनाइको आडमा भारतीय सुरक्षाकर्मीहरू नेपाली सीमाभित्र पस्ने आँट गरिरहेको उनको आरोप थियो। संसद्मा सरकारको लाचारीमाथि व्यङ्ग्य गर्दै उनले भनिन्, “पश्चिम नवलपरासी सुस्ताका सीमा रक्षक नेपालीलाई हामीसँग सरकार छ भन्ने अनुभूति दिनुपर्छ। संयोग पनि कस्तो भयो भने, प्रधानमन्त्रीले नेपालले पनि सीमा मिचेको छ भनेर अभिव्यक्ति दिएपछि घरीघरी भारतीय एसएसबी सुस्तामा आइरहेका छन्। सायद हाम्रा प्रधानमन्त्रीज्यूले भनेको त्यही मिचिएको सीमा खोज्न उनीहरू यहाँ आएका होलान्।”

सांसद काउचाले सीमा क्षेत्रको पछिल्लो वस्तुस्थितिबारे जानकारी दिँदै गत जेठ १७ गतेपछि पुनः जेठ २९ गते पनि भारतीय एसएसबीका अधिकारीहरू हुल बाँधेर सुस्तामा आएको उल्लेख गरिन्। राज्यको उपस्थिति कमजोर हुँदा पनि स्थानीय बासिन्दाहरूले आफ्नो व्यक्तिगत साहस र बुताले उनीहरूलाई प्रतिकार गर्दै नेपाली भूमिबाट फिर्ता पठाएको उनले बताइन्।

यद्यपि, भारतीय सुरक्षाकर्मीहरू ‘फेरि आउने’ ठाडो चेतावनी दिएर फर्किएको हुनाले सीमा क्षेत्रमा त्रास कायमै रहेको र यस विषयमा सरकारको तयारी के छ भन्दै उहाँले कडा प्रश्न उठाइन्।

आफ्नो भनाइको अन्त्यमा उनले भनिन्, “फेरि आउने भन्दै धम्क्याएर गएका एसएसबीलाई सुस्तामा पस्नै नदिन र हाम्रा नागरिकलाई सुरक्षा दिन सरकारले के गरिरहेको छ? यस विषयमा सरकारले तत्काल संसद्लाई प्रस्ट जवाफ दिनुपर्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *