भक्तपुरमा मलमास मेला सकियो: ऐतिहासिक मन्दिरहरूको संरक्षणले बढायो धार्मिक पर्यटन
भक्तपुर। भक्तपुरका दुई ऐतिहासिक स्थलहरूमा विगत एक महिनादेखि सञ्चालन भइरहेको पुरुषोत्तम (मलमास) मेला सोमबार विधिवत् रूपमा सम्पन्न भएको छ।
चाँगुनारायण नगरपालिका-५ छालिङ गोकुलधामस्थित तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर र भक्तपुर नगरपालिका-६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा लागेको एकमहिने मेला भव्य रूपमा समापन भएको हो।
छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिरमा महिना दिनसम्म सत्सङ्ग, प्रवचन, भजनकीर्तन तथा पुरुषोत्तम महात्म्य वाचनसहितका धार्मिक गतिविधिहरू सञ्चालन गरिएका थिए। मेला व्यवस्थापन समितिका संयोजक एवं मन्दिरका संरक्षक गोकर्ण पुरीका अनुसार सिङ्गो गाउँ नै जुटेर दर्शनार्थीका लागि सहज पूजाआजाको व्यवस्था मिलाइएको थियो।
मेला अवधिभर भक्तपुरका चारवटै नगरपालिकाका साथै काठमाडौँ, ललितपुर, साँखु, मूलपानी र काभ्रेपलाञ्चोक लगायतका विभिन्न क्षेत्रबाट हजारौँ दर्शनार्थीहरू मन्दिर पुगेका थिए।
दुईवटा पीपलको बोटको बीचमा रहेको यो ऐतिहासिक मन्दिर पहिले भत्किए पनि स्थानीयको सक्रियतामा पुनःनिर्माण गरिएको हो। यहाँ रहेको सय वर्ष पुरानो पूजाको थाली अझै सुरक्षित रहे पनि पुरिएको शिलालेखको उत्खनन र अध्ययन गर्न बाँकी रहेको संरक्षक पुरीले बताए।
स-साना तीनवटा खोलाको सङ्गमस्थलमा अवस्थित यो क्षेत्र त्रिवेणी धामका नामले समेत परिचित छ। मन्दिर परिसरमा ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण वर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र एउटा पवित्र कुण्डसमेत रहेको छ।
यस क्षेत्रको कुण्डमा स्नान गर्दा छालासम्बन्धी रोगहरू निको हुने जनविश्वास रहिआएको छ। यसै वर्ष श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्मित २५ हजार ७७७ किलोग्राम वजनको गीताचार्य श्रीकृष्ण भगवान्को विराट स्वरुप श्रीमूर्तिको स्थापना गरिएपछि यस ठाउँको धार्मिक महत्त्व र पर्यटकीय आकर्षण झनै बढेको चाँगुनारायण-५ का वडाध्यक्ष जयन्द्र खड्काले उल्लेख गर्नुभयो। मलमासको समयमा यहाँ ५० हजारभन्दा बढी आन्तरिक पर्यटक तथा दर्शनार्थी पुग्ने गरेकाले यसले स्थानीय पर्यटन विकासमा ठूलो टेवा पुर्याएको छ।
यसैगरी, भक्तपुर नगरपालिका-६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा लागेको एकमहिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मलमास मेला पनि सोमबार नै सम्पन्न भएको छ। मेला अवधिभर उक्त स्थानमा पनि नारायणको विशेष पूजा र पुरुषोत्तम महात्म्य वाचन गरिएको थियो।
त्यहाँ अवस्थित कुण्डमा स्नान गरी मन्दिरको दर्शन गर्दा रोगव्याधि र पापकर्म नष्ट हुने जनविश्वासका कारण महिना दिनभर भक्तपुर नगरका स्थानीय बासिन्दाहरूको ठुलो घुइँचो लागेको मेला व्यवस्थापन समितिले जनाएको छ।







डिसी नेपाल







Facebook Comment