स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी परिषद् र महत्त्वपूर्ण निकायहरूमा रिक्त रहेका पदाधिकारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न स्वास्थ्य परिषद्का साथै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका रिक्त पदहरूका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो।
मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य र सदस्य सचिव तथा नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन माग गरिएको छ। सोही प्रकारले नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा पनि अध्यक्ष तथा रजिस्ट्रार पदका लागि आवेदन खुलाइएको छ।
त्यस्तै, स्वास्थ्य क्षेत्रका दुई प्रमुख संस्था शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक र स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष तथा कार्यकारी निर्देशक पदका लागि पनि मन्त्रालयले इच्छुक उम्मेदवारहरूसँग दरखास्त आह्वान गरेको छ।
सम्बन्धित ऐन तथा नियमावलीले तोकेको योग्यता पुगेका इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन पेस गर्न सक्नेछन्। मन्त्रालयका अनुसार आवेदन सिंहदरबारस्थित नीति, योजना तथा अनुगमन महाशाखामा पेस गर्नुपर्नेछ। साथै, सहजताका लागि मन्त्रालयको वेबसाइटमा उपलब्ध लिङ्क मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।
आवेदनका साथ पेस गर्नुपर्ने आवश्यक कागजात र छनोट प्रक्रियासम्बन्धी विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण निकायहरूमा नेतृत्व चयनका लागि मन्त्रालयले औपचारिक प्रक्रिया अघि बढाएसँगै यसलाई चासोका साथ हेरिएको छ।








डिसी नेपाल







Facebook Comment