सभामुखसँग युएईका राजदूतको शिष्टाचार भेट
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा नेपाल र युएईबीचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकता लगायतका विविध विषयमा छलफल भएको थियो। सभामुख अर्यालले युएई नेपाली श्रमिक, व्यापार तथा लगानीका दृष्टिले नेपालको महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुई देशबीचको आर्थिक तथा विकास साझेदारीलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले युएईको भिसा प्रक्रियामा नेपाली नागरिकबाट प्रहरी प्रतिवेदन अनिवार्यरूपमा मागिने व्यवस्थालाई पुर्नविचार गरी सहज बनाउन अनुरोध गरे।
सभामुख अर्यालले नेपाल सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्यसूचीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, डिजिटाइज्ड तथा नागरिकमैत्री बनाउने दिशामा कार्य अघि बढाएको जानकारी दिए। साथै, नेपाल लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गदै उनले युएई भिजन २०३१ सँग तालमेल हुने गरी लगानी, पूर्वाधार, पर्यटन, ऊर्जा तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्न आग्रह गरे।
सभामुख अर्यालले आगामी सेप्टेम्बर २३ तारिखदेखि पोखरा–दुबई–पोखरा दैनिक सिधा उडान सञ्चालन गर्न स्वीकृति प्राप्त गरेकामा खुशी व्यक्त गर्दै यसले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। साथै दुबई–भैरहवा–दुबई उडान पुनःसञ्चालनको सम्भावनाबारे पनि विचार गर्न आग्रह गरे।
प्रतिनिधिसभाको हालैको निर्णयअनुसार संसदीय मैत्री समूह गठन गरिएको जानकारी गराउँदै सभामुख अर्यालले यसले दुवै मुलुकका संसद्बीच भ्रमण, अनुभव आदान–प्रदान तथा संसदीय अभ्यासको साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
भेटका क्रममा राजदूत अल शम्सीले नेपाल–युएई सम्बन्ध मैत्रीपूर्ण, सौहार्दपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै व्यापार, लगानी, पर्यटन, ऊर्जा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन युएई सरकार सकारात्मक रहेको बताए। उनले नेपालसँगको सहकार्य विस्तार तथा पारस्परिक हितका क्षेत्रमा थप अवसरको खोजी गरिने विश्वास व्यक्त गरे।







डिसी नेपाल







Facebook Comment