पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ
आजको वैज्ञानिक युगमा अनुसन्धान भन्नासाथ हामी प्रायः पाश्चात्य सिद्धान्तमा आधारित प्रयोगशाला, तथ्याङ्क र मापनयोग्य परिणामलाई मात्र केन्द्रमा राख्ने गर्छौँ। जब हामी कुनै अनुसन्धानको सुरुआत गर्छौँ, तब त्यो अनुसन्धानको सैद्धान्तिक आधारका लागि हाम्रो अवधारणासँग मिल्दोजुल्दो पाश्चात्य सिद्धान्त के छ भनी खोज्न थाल्छौँ।
त्यसैलाई अकाट्य आधार मानेर अनुसन्धान अघि बढाउँछौँ र निष्कर्ष निकाल्छौँ। तर, अनुसन्धानको सुरुकै चरणमा हाम्रो आफ्नै पूर्वीय दर्शन कति सम्पन्न छ भनेर खोज्ने प्रयास भने विरलै गर्छौँ। हाम्रो पूर्वीय दर्शनको गहन इतिहास, आध्यात्मिकता र चिन्तनले अनुसन्धानलाई नयाँ आयाम दिन सक्छ भन्ने विषयसम्म हाम्रो ध्यान पुग्नै सकेको छैन।
वास्तवमा, पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउन सक्ने प्रशस्त सैद्धान्तिक आधारहरू हामीसँगै विद्यमान छन्। यदि हामीले पूर्वीय दर्शनको गहनतामाथि यथेष्ट चिन्तन अघि बढायौँ र सैद्धान्तिक आवश्यकतामा यसको प्रयोग गर्यौँ भने, यसबाट हाम्रो शैक्षिक गतिविधिमा नयाँ आयाम त थपिने नै छ, विश्वसामु हाम्रो पूर्वीय ज्ञानलाई एक प्रामाणिक सिद्धान्तका रूपमा स्थापना गर्न समेत मार्गप्रशस्त हुनेछ।
पूर्वीय दर्शनको अथाह ज्ञानलाई अनुसन्धानसँग जोड्न सकेमा अनुसन्धानकर्ताको प्राज्ञिक जीवनमा ठूलो परिवर्तन ल्याई गुणात्मकता थप्न सकिन्छ। आफ्नै सभ्यता र मौलिकताको पूर्वीय दर्शनलाई प्रयोग मात्र गर्दा पनि हाम्रो शिक्षा पद्धतिमा आमूल परिवर्तन आउनेछ।
यसबाट विद्यार्थीको ज्ञानको दायरा अहिलेको भन्दा कैयौँ गुणा फराकिलो बनाउन सघाउ पुग्नेछ। परिणामस्वरुप, अध्ययन-अनुसन्धानकर्ताको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन आउनुका साथै आध्यात्मिक चेतनाको विकास हुनेछ।
यस्ता शैक्षिक जनशक्तिमा आउने सकारात्मक परिवर्तनको अनन्त लाभ व्यक्तिमा मात्र सीमित नरहेर समाज र सिङ्गो राष्ट्रसम्म पुग्नेछ। एकातर्फ हाम्रा दर्शन र सिद्धान्तहरू विश्वका अनुसन्धानदातासमक्ष स्थापित हुनेछन् भने अर्कातर्फ हाम्रा शैक्षिक जनशक्ति पनि सकारात्मक सोच र आध्यात्मिक चेतले भरिपूर्ण भएर निस्कनेछन्।
वैदिक, बौद्ध, जैन र योग दर्शन जस्ता पूर्वीय चिन्तनहरू हजारौँ वर्ष पुराना रहेको तथ्य जगजाहेरै छ। तर विडम्बना, अहिलेसम्म यी ज्ञानका महासागरहरूलाई हामीले केवल धार्मिक मान्यताको परिधिभित्र मात्र सीमित पारिरहेका छौँ।
यी अद्वितीय दर्शनहरूले मानवीय चेतना, ज्ञानको स्वरूप, नैतिकता, सदाचार र ब्रह्माण्डीय सत्यको खोजी आदिलाई केन्द्रबिन्दु बनाएका छन्। यति सम्पन्न दर्शनलाई धर्म र पौराणिकताको सङ्कुचित घेरामा मात्र राखेर बुझ्न खोज्दा हामी आफैँ पछि परिरहेका छौँ। उपनिषद्, पतञ्जलिको योगसूत्र, गीता, बुद्धका वचन, महावीर र अन्य धेरै ऋषिमुनि एवं सन्तहरूका अलौकिक उपदेश पूर्वीय ज्ञानका बलिया आधारस्तम्भ हुन्।
यी दर्शनले व्यक्तिभित्रको आत्मज्ञान र बाह्य प्रकृतिबीचको सन्तुलनलाई बडो आकर्षक रूपमा जोड दिएका छन्, जुन कुरा अनुसन्धानको मूल मर्मसँग दुरुस्तै मेल खान्छ। एक अनुसन्धानकर्ताले पनि ‘३ पी’ अर्थात् (पर्सन, प्लेस र प्रोबलेम) को सूत्र अनुरूप कुनै निश्चित भूगोलमा बस्ने व्यक्ति वा समुदायले भोगेको समस्यालाई आधार मानेर नै अनुसन्धान सुरु गर्ने हो।
पूर्वीय दर्शनले दिने मुख्य ज्ञान भनेकै आफूभित्रको सत्य बुझेर मात्र बाह्य सत्यको अनुभव सम्भव छ भन्ने हो। यसले आफूभित्रको सत्यलाई अरूमा खोज्नु र तथ्य पत्ता लगाउनु हो भन्दछ। सारमा, यसले सबै वस्तु आपसमा जोडिएका छन् (अन्तरसम्बन्धत्व), ज्ञानको अन्तिम लक्ष्य आनन्द र शान्ति हो, दुःखको मूल कारण आसक्ति र अज्ञानता हो तथा ध्यान, योग र आत्मचिन्तनबाट मात्र वास्तविक ज्ञान पैदा हुन्छ भन्ने शाश्वत सत्य बुझाउँछ।
यही ज्ञानले नै अनुसन्धानकर्तालाई कस्तो विषयमा र कसरी अनुसन्धान गर्नुपर्छ भन्ने वास्तविकता निर्देशित गर्छ। पूर्वीय दर्शन केवल धार्मिक वा पौराणिक आस्था मात्र होइन, न त यो सुन्ने परम्परा अर्थात् श्रुत ज्ञानहरूको सङ्ग्रह मात्र हो। यो त मानवीय पूर्ण चेतनाको परिष्कृत स्वरूप एवं जीवन रूपान्तरणको गहन र विशिष्ट विज्ञान हो।
यसले बाह्य संसारलाई भन्दा बढी आत्मअन्वेषण, विवेक र अनुभूतिलाई महत्त्व दिन्छ र जीवन तथा जगत्का जटिल समस्याहरूको मूल कारण खोजेर समाधानका लागि आवश्यक दृष्टि प्रदान गर्दछ। हाम्रा छरिएर रहेका वैदिक, बौद्ध, जैन तथा अन्य दार्शनिक परम्पराका ज्ञानहरूलाई एकीकृत सिद्धान्तका रूपमा विकास गर्न सकिने अनेकन आधार र तथ्यहरू हामीसँगै छन्।
यसो गर्न सकिएमा यसले बौद्धिक सम्पदा समृद्ध बनाउने मात्र नभई, आधुनिक चुनौतीहरूको समाधानका लागि मौलिक तथा वैचारिक आधारहरू समेत निर्माण गर्नेछ। पूर्वीय दर्शनले हामीलाई अनुकरणमा मात्र होइन, आफ्नै चिन्तन, विश्लेषण र आत्मबोधमा आधारित दार्शनिक आत्मनिर्भरतातर्फ उन्मुख गराउँछ।
हालको प्रतिस्पर्धात्मक शिक्षा प्रणाली, आधुनिकीकरण र कृत्रिम बुद्धिमत्ता (एआई) को विकासले विद्यार्थीहरूमा मानसिक दबाब बढाएको पक्कै छ। यो दबाबले उनीहरूमा तीव्र तनाव पैदा गरेको छ, जसका कारण उनीहरू एकाग्र र धैर्य बन्न सकिरहेका छैनन्।
जीवनमा सफलता र समृद्धिको खोजीका लागि उनीहरू चौतर्फी दौडिनुपर्ने अवस्था छ। यो दौडधूपले उनीहरूलाई केही हदसम्म भौतिक सुख त दिएको होला, तर मानसिक रूपमा भने अशान्त र दुःखी बनाइदिएको छ। यस्तो अवस्थामा पूर्वीय ज्ञानको प्राप्तिले उनीहरूको व्यावहारिक पक्षलाई बलियो बनाउनेछ।
यसका लागि योग, प्राणायाम र आसनको वैज्ञानिक अध्ययन उचित हुन सक्छ। कुनै पनि अनुसन्धानकर्ताको बसाइको मुद्रा, सासको सजगता र नियमित योगले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ तथा हृदयको स्वास्थ्य र ऊर्जाको स्तर सुधार गर्छ।
पूर्वीय दर्शनले विशेषगरी ध्यान (मेडिटेसन) र सजगता (माइन्डफुलनेस) बाट तनाव, चिन्ता र अवसाद (डिप्रेसन) घटाउन मद्दत गर्छ। अनुसन्धानकर्ताका लागि धेरै घण्टासम्म एकाग्र भएर काम गर्दा मानसिक थकान हुनु स्वाभाविक हो। यस्तो अवस्थामा बुद्धको शिक्षा ‘सम्यक स्मृति (माइन्डफुलनेस)’ ले मानसिक थकान घटाएर भावनात्मक सन्तुलन कायम राख्न सक्छ। तसर्थ, अध्ययन-अनुसन्धानकर्ताहरूका लागि यी पद्धतिहरू अहिले अचुक औषधि साबित भइरहेका छन्।
हाम्रा पूर्वीय दर्शनलाई सिद्धान्तका रूपमा स्थापित गर्न सकिने स्पष्ट उदाहरणहरू छन्। जस्तै, गौतम बुद्धद्वारा प्रतिपादित ‘चार आर्य सत्य’ बौद्ध दर्शनको मूल आधार हो। यी सत्यहरूले मानव जीवनको दुःख, त्यसको कारण, निवारण र निवारणतर्फ जाने मार्गको स्पष्ट व्याख्या गर्छन्।
यसलाई मानव जीवनका दुःख बुझ्ने वा त्यसको निवारण गर्ने एक सर्वमान्य सिद्धान्तका रूपमा स्थापित गर्न सकिन्छ। यसो गर्दा हाम्रा लाखौँ युवालाई दुःखको भुमरीबाट मुक्त गरेर शान्ति र सुखानुभूतिको मार्गमा डोर्याउन सकिन्छ र यो नै राष्ट्र निर्माणमा टेवा पुर्याउन सक्ने वास्तविक जनशक्ति हो।
यसरी नै बुद्धका त्रिरत्न (‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’) लाई ज्ञानको व्यवस्थापन वा ज्ञानको दिगोपनाको सिद्धान्त बनाउन सकिन्छ। अर्कोतर्फ, मुण्डकोपनिषद्मा ज्ञानलाई दुई भाग- परा विद्या (उच्च वा आध्यात्मिक ज्ञान) र अपरा विद्या (निम्न वा सांसारिक ज्ञान) मा वर्गीकरण गरिएको छ, जसका आधारमा पनि ज्ञानको गहन अध्ययन अघि बढाउन सकिन्छ।
हाम्रो पूर्वीय दर्शनले जीवनका हरेक आयाम र अवस्थाको व्याख्या मात्र गरेको छैन, समस्या समाधानका ठोस आधारहरूसमेत तयार पारेको छ। अब यसको गहन अध्ययन गरेर शिक्षा र अनुसन्धानमा समावेश गरी उच्च तहमा हुने शोधहरूमा सैद्धान्तिक आधार वा मार्गचित्र बनाउनु जरुरी छ।
यसका लागि प्राज्ञिक व्यक्ति तथा अनुसन्धानकर्ताहरूको सक्रिय जोडबल आवश्यक छ। पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनु भनेको प्राचीन ज्ञानलाई आधुनिक वैज्ञानिक पद्धतिसँग समायोजन गर्नु हो।
यसले अनुसन्धानकर्तालाई केवल तथ्य सङ्कलन गर्ने मेसिन मात्र बनाउँदैन, बरु संवेदनशील, सन्तुलित र समाजोपयोगी चिन्तकका रूपमा रूपान्तरण गर्छ। नेपालजस्तो सनातन पूर्वीय ज्ञानको भूमिमा प्राज्ञिक व्यक्तिहरूले यस विषयमा अविलम्ब राष्ट्रिय बहस थाल्नु अति आवश्यक छ। किनभने आजको भौतिकवादी युगलाई समृद्धि र शान्ति दिने तथा जीवन र जगत्का हर समस्याको समाधान निकाल्न सक्ने अनुसन्धानको वास्तविक जग नै पूर्वीय दर्शन हुन सक्छ।
(लेखक डा. कार्की ‘नेपाल फिलोसफिकल रिसर्च सेन्टर’का अध्यक्ष हुन्)















Facebook Comment