मुख छोपेर बोल्दा रेडकार्ड ! विश्वकप इतिहासकै पहिलो दुर्लभ घटना

डिसी नेपाल
६ असार २०८३ १०:४७

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को टर्की र पाराग्वेबिचको खेलमा फुटबल इतिहासकै एक अत्यन्तै दुर्लभ र ऐतिहासिक घटना सार्वजनिक भएको छ।

खेलको पहिलो हाफको इन्जुरी समयमा प्याराग्वेका मुख्य मिडफिल्डर मिगुएल अल्मिरोनले मैदानमा प्रतिद्वन्द्वी खेलाडीसँग कुरा गर्दा आफ्नो मुख छोपेको कारण सिधै रातो कार्ड (रेडकार्ड) खाँदै मैदानबाट बाहिरिनुपरेको छ।

विश्वकपको इतिहासमा मुख छोपेर कुरा गरेकै आधारमा कुनै खेलाडीलाई रेडकार्ड दिइएको यो पहिलो घटना हो।

खेलको पहिलो हाफको समाप्ति नजिकिँदै गर्दा (४५+३ मिनेटमा) मैदानको मध्यभागमा एक खराब फल भएपछि दुवै टोलीका खेलाडीहरू बिच भनाभन सुरु भएको थियो।

सोही क्रममा एटलान्टा युनाइटेडबाट व्यावसायिक फुटबल खेल्ने पाराग्वेका स्टार अल्मिरोनले टर्कीका रक्षक मर्ट मुल्दुरसँग विवाद गरिरहेका थिए।

तर कुराकानीकै क्रममा अल्मिरोनले टेलिभिजन क्यामरा र ओठको हाउभाउ पढ्नेहरूबाट आफ्नो भनाइ लुकाउनका लागि मुखमा हात पुर्‍याए। टर्कीका खेलाडीहरूले तुरुन्तै यसबारे रेफ्री इभान बार्टोनसँग कडा विरोध जनाए।

रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री को सहयोग लिँदै अल्मिरोनलाई सिधै मैदानबाट निष्कासन गरे।

वास्तवमा फिफाले यो विश्वकप सुरु हुनभन्दा केही समयअघि मात्रै अनुशासन सम्बन्धी नियममा कडा परिमार्जन गरेको थियो। परिमार्जित ‘प्रेस्टियानी नियम’ अनुसार मैदानमा विवाद वा तनावको स्थितिमा कुनै पनि खेलाडीले विपक्षी खेलाडी वा खेल अधिकारीहरूसँग मुख छोपेर कुरा गरेमा त्यसलाई सिधै रेडकार्ड दिइने उल्लेख छ।

यस कडा नियमको सुरुवात युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडका भिनिसियस जुनियर र बेन्फिकाका जियानलुका प्रेस्टियानीबिच भएको एउटा ठुलो विवादपछि भएको हो।

उक्त खेलमा प्रेस्टियानीले मुख छोपेर भिनिसियसमाथि नश्लीय गालीगलौज गरेको आरोप लागेको थियो। मुख छोपिएका कारण टिभी क्यामरा वा ओठ पढ्ने प्रविधिले कुनै ठोस प्रमाण जुटाउन नसकेपछि फिफा र आईएफएबीले मैदानभित्र हुने यस्ता अभद्र व्यवहार र नश्लीय टिप्पणीलाई रोक्न मुख छोप्ने कार्यलाई नै प्रतिबन्धित गर्ने निर्णय गरेका हुन्।

१० खेलाडीमा सीमित भए तापनि खेलमा म्याटियस गलार्जाले दोस्रो मिनेटमै गरेको सुरुवाती गोलको मद्दतले पाराग्वेले टर्कीविरुद्ध १–० को जित निकालेको छ। यो रातो कार्डसँगै अल्मिरोनले अस्ट्रेलियाविरुद्धको आगामी महत्त्वपूर्ण खेल गुमाउने निश्चित भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *