पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो
कास्की। पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा निर्माण गरिएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायतका संरचनाहरू शनिबार डोजर प्रयोग गरी हटाएको छ।
पोखरा बसपार्क निर्माण कार्यलाई तीव्रता दिने अभियान अन्तर्गत महानगरपालिकाले सेती नदीतर्फ रहेको उक्त कम्प्लेक्स भत्काएको हो। महानगरपालिका र जग्गाधनीबीच आपसी सहमति भएपछि व्यवसायीहरूले आफैँ सटरहरू खाली गरिदिएका थिए, जसका कारण व्यवस्थापन कार्य सहज बनेको थियो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक तथा त्यहाँ व्यवसाय गरिरहेका टोलीसँग निरन्तरको फलदायी छलफल र संवादपछि मात्रै संरचना हटाउने समझदारी बनेको जानकारी दिए।
महानगरपालिकाले खाली गराएको बास्तोला कम्प्लेक्स रहेको उक्त जग्गा अचम्मलाग्दो गरी व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। विसं २०३० मा बसपार्क निर्माणका लागि सरकारले सो जग्गा अधिग्रहण गरेको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्रै सट्टाभर्ना तथा घडेरी वितरण गर्ने विवादास्पद निर्णय गरेको खुलेको छ।
जग्गा सट्टाभर्नाको सोही निर्णय र प्रक्रियामाथि विस्तृत छानबिनका लागि महानगरले पूर्वन्यायाधीशको नेतृत्वमा एक न्यायिक समितिसमेत गठन गरिसकेको छ। हालसम्म उक्त समितिको प्रतिवेदन पेस नभए पनि लालपुर्जा भएका जग्गाधनीहरूको हकमा द्रुतगतिमा छानबिन भइरहेकाले केही दिनभित्रै वास्तविकता सार्वजनिक गरिने महानगर प्रमुख आचार्यले स्पष्ट पारे।
यसैबीच, पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कको सम्पूर्ण जग्गा खाली गराउने प्रतिबद्धता व्यक्त गर्दै अतिक्रमण गरी बसेका सुकुम्बासीहरूका लागि वैकल्पिक व्यवस्थापनको काम अघि बढाइएको बताए। महानगरले यही असार ४ गते बसपार्कको प्रवेशद्वारमा रहेका सटरहरू भत्काएर यो अभियानको सुरुवात गरेको थियो। बसपार्कको ठूलो क्षेत्र ओगटेर बसेका वास्तविक सुकुम्बासीहरूलाई उचित विकल्प नदिई महानगरले डोजर नचलाउने नीति लिएको छ।
हाल उनीहरूको अन्यत्र जग्गा भए-नभएको बारे सुक्ष्म छानबिन भइरहेको छ। सुकुम्बासी बस्तीका कूल ५७२ परिवारमध्ये हालसम्म ३३७ परिवारको कागजपत्र प्रमाणीकरण (डकुमेन्ट भेरिफिकेसन) सम्पन्न भइसकेको छ। कतिपय परिवारले तीनपुस्ते विवरण सही नदिएको वा झुटा विवरण पेस गरेका कारण छानबिन प्रक्रियामा केही समय लागेको महानगरले जनाएको छ।







डिसी नेपाल







Facebook Comment