प्रवास-संस्मरण: मन फेरि एक झमटमै परदेशी भयो
दक्षिण कोरियाको ख्यङ्गी प्रान्तमा पर्ने एउटा सहर छ-ह्वासङ। ६८९.४८ वर्ग किलोमिटर क्षेत्रफल र करिब साढे नौ लाख जनसङ्ख्या भएको यो सुन्दर सहरमा नेपालीहरूको उपस्थिति पनि बढ्दो छ।
त्यसैले यहाँ नेपालीहरूको सुखदुःखमा साथ दिन भनेर खोलिएको ‘ह्वासङ नेपाली परिवार’ नामक एउटा संस्था पनि छ। उक्त संस्थामा रहनुभएका मेरा मित्र गोविन्द अधिकारी सरले एक रात मलाई म्यासेज गर्नुभयो र ‘यो पटक हाम्रो संस्थाले आयोजना गरेको वनभोजमा जाऔँ है सर’ भन्नुभयो। मैले हुन्छ भनेँ।
अर्को भेटमा मैले गोविन्द सरलाई हाम्रो टोली सात जनाको हुने र खासै कसैले मद्यपान नगर्ने हुनाले हुक्का लिएर जान मिल्छ कि मिल्दैन भनेर सोधेँ। मैले थप जोड दिँदै हुक्काको भाँडो हामी आफैँसँग भएकाले त्यसको व्यवस्था आफैँ गर्ने पनि बताएँ।
गोविन्द सरले मुस्कुराउँदै तुरुन्तै जवाफ दिनुभयो, ‘भइहाल्छ नि सर! यो त झनै राम्रो भयो। हामी आयोजकले नै हुक्का खुवाएको जस्तो पनि देखिने भयो।’ कुरा मिल्यो। अझ रमाइलो कुरा के भयो भने हुक्काका लागि चाहिने कोइला र ‘फ्लेभरयुक्त सुर्ती’ स्थानीय रेस्टुरेन्ट व्यवसायी खगेन्द्र खत्री दाइले प्रायोजन (स्पोन्सर) गरिदिने हुनुभयो।
त्यसपछि हामीले हुक्कापोट (भाँडो) मात्रै बोके हुने भयो। यसरी हामी वनभोज जान कस्सियौँ। कस्सिने टोलीमा काभ्रेका केशव बयलकोटी र रामकृष्ण ढुङ्गाना, कैलालीका युवराज पौडेल, सिन्धुपाल्चोकका राजन भण्डारी, खोटाङका सुरेश राई, सर्लाहीका पप्पु चौधरी र अर्घाखाँचीका गणेश श्रेष्ठ थियौँ।
वनभोजको दिन आयो। हाम्रो टोली नजकैको बजारसम्म आफैँ गयो। त्यहाँ पुगेपछि थाहा भयो कि हामीलाई वनभोजस्थलसम्म पुर्याउने र भोलिपल्ट फिर्ता ल्याउने जिम्मेवारी पहिलो पटक चिनाजानी भएका मित्र मधुकरजीले पाएका रहेछन्।
त्यसपछि उनको गाडीमा हामी ह्वासङको फारान भनिने बजारबाट खाफ्यङतिर हान्नियौँ- जहाँ हामीलाई मीठा खानेकुरा, रमाइला पल र सायद खोलाकिनारमा एउटा ‘अलच्छिना बल’ पर्खिरहेका थिए। गाडी गुडिरहँदा मधुकरजीको गाडीको स्क्रिनमा डिजिटल अङ्क र अक्षरमा आजको मिति देखियो-Sat, 13 June।
खीरको स्वागत र हुक्काको मध्यान्तर
अढाई घण्टाको यात्रामा सहायक हान नदी र राजधानीका गगनचुम्बी भवनहरू चियाउँदै हामी सउल नाघेर खाफ्यङस्थित वनभोजस्थल पुग्यौँ। त्यो पहाडको फेदमा अवस्थित खोलाकिनारको एउटा पारिवारिक क्याम्प (फ्यामिली क्याम्प) थियो। बोर्डमा त्यसको नाम लेखिएको थियो— ‘Always Green Camp’।
हामी पुग्दा सम्ममा आयोजकहरूले सबथोक तयारी अवस्थामा राख्नुभएको रहेछ। पुग्नेबित्तिकै आलुको अचार र खीरद्वारा स्वागत गरियो। हाम्रो टोलीले खीर खाँदै गर्दा मैले अलि पर एक जना चिनिरहेको अनुहार देखेँ र हात हल्लाएँ। उहाँ हुनुहुन्थ्यो सोलुका मित्र योबिन राई।
उहाँसँग मेरो फेसबुकमार्फत चिनाजानी भएको थियो। हामीले हात मिलायौँ र सबै जना एउटै टेबलमा बस्यौँ। यसरी अब हाम्रो टोली अझ ठूलो भयो। मैले वरपर आँखा डुलाएँ, त्यहाँ लगभग डेढ सय जनाभन्दा बढी मानिस भेला भएका रहेछन्। साँझ छिप्पिँदै थियो र रमाइलो पनि बढ्दै थियो।
सात-आठ जना अटाउने टेबलहरू लहरै राखिएका थिए। प्रत्येक टेबलसँग जोडेर मासु पोल्न मिल्ने गरी आगो र चुल्होको व्यवस्था गरिएको थियो। त्यसपछि सुरु भयो आ-आफ्नो समूहको मासु पोलेर खाने कार्यक्रम। चिसा पेय पदार्थ र बियरको छैलोभैलो सुरु भयो।
आ-आफ्नो समूहमा गिटार, मादल, डम्फु र बाँसुरी बजाउँदै हाहाहुहु र रमाइलो जारी रह्यो। योबिन सरलाई औँलाले सिठी फुक्न आउँदो रहेछ; उहाँले हाम्रो टेबलको तर्फबाट हावामा दुई-चार सिठी फुकिदिनुभयो। ह्वासङ नेपाली परिवारकी अभिभावक सजना याक्सो दिदी पनि डुल्दै-घुम्दै हाम्रो टेबलमा आइपुग्नुभयो र हामी सबैसँग बियरको चियर्स गर्नुभयो।
मेरो हातमा कोकको क्यान देखेर भन्नुभयो, “केसारो सुध्रिनुभएको नि?” म फिस्स हाँसेँ मात्र। केशव र योबिन सरसँग आउनुभएका एक जना मित्रले हामीलाई मासु पोल्दै धमाधम खुवाइरहेका थिए।
अरूहरूको टेबलभन्दा हाम्रो टेबल किन पनि फरक थियो भने त्यो माहोलमा हामीसँग मात्र हुक्का थियो। त्यो विशेष रूपले हामीले आफैँ व्यवस्था गरेका थियौँ, त्यसैले रातको वातावरणमा मस्तसँग पुदिनाको बास्नामा हुक्का फुक्यौँ। हुक्का देखेपछि हुक्काप्रेमीहरूको मुख सकसकाउनु स्वाभाविकै हो। त्यसैले केही नचिनेका साथीहरू पनि हामीकहाँ आउनुभयो र हुक्काको तिर्सना मेट्नुभयो।
गुन्द्रुकको झोल र अनिँदो साङ्गीतिक रात
उता यात्री ब्यान्डले चर्को स्वरमा आफ्नो प्रस्तुति दिन थालिसकेको थियो- ‘तालको पानी माछीले खानी…’। यता अलग-अलग समूहको आफ्नै नाचगान चलिरहेकै थियो। मासु पोलिखाने क्रम पनि जारी नै थियो। केही बेरमा हामी सबै ब्यान्डको अगाडि झुरुप्प भेला भयौँ र नाच्न थाल्यौँ।
यात्री ब्यान्डले एक घण्टाजति प्रस्तुति दिएपछि कन्सर्टको मजा सकियो। मैले हुलमुलमा गायक, सङ्गीतकार तथा एरेन्जर पदम राजन सरलाई पनि देखेँ। उहाँसँग हात मिलाउँदै उहाँको पनि प्रस्तुति छ कि भनेर सोधेँ। उहाँले घरमा परिवारको सदस्य बित्नुभएकाले गाउन वा बजाउन नमिल्ने बताउनुभयो। छोटोमा त्यति नै भलाकुसारी भयो।
रात्रिकालीन खानाको तयारी भयो। मध्यरातमा हरियो चौरमा पलेँटी कसेर भटमास र गुन्द्रुकको झोलसँग मज्जाले भात खायौँ। नसाले मातेको र पोलेको मासुले वाक्क भएको बेला गुन्द्रुक र भटमासको झोल खुवाउने आइडिया जसको भए पनि एकदमै उत्तम विचार थियो। सबैले बडो स्वाद मान्दै खाना सकायौँ। गुन्द्रुकको सुप हाम्रो लागि अमृतसरी भयो।
सिङ्गो रात बाँकी नै थियो। कोही गीत बजाएर नाच्दै थिए, कोही मादल ठोकेर गाउँदै थिए त कोही अझैसम्म चटपटे खाँदै थिए। उज्यालो हुने बेलामा ‘आँखाको विष भए पनि मार्नुपर्छ’ भनेर सुत्ने हलमा लम्पसार पर्यौँ। तर अँह, बाहिरको नाचगानले पटक्कै निदाउन दिएन। हिन्दी गीत ‘चुनरी चुनी…’ देखि ‘दिक्तेल बजार लै लै…’ सम्मका आवाजहरू पटक-पटक कानको पर्दामा ठोकिन आइरहे।
पहाडलाई आवाज र ‘अलच्छिना बल’
राता आँखा लिएर भोलिपल्ट जस्तो सुतेका थियौँ, त्यस्तै अनिँदो अवस्थामा उठ्यौँ। हातमुख धोएर चिया पियौँ र अन्डा-चना खायौँ। त्यसपछि खोला हेर्न भनेर ओरालो झर्यौँ। खोलामा पानी प्रशस्तै थियो, यद्यपि पौडिन मिल्ने जति चाहिँ थिएन। खोलाको अवस्था देखेर घरबाट ‘पौडीकट्टु’ बोकेर आएका हाम्रा दुई साथीहरूको पौडी खेल्ने योजना खोलैखोला बगेर गयो।
सफा कञ्चन पानी कलकल बगिरहेको थियो। चराहरू चिरबिराइरहेका थिए। पारिपट्टि हरियो वनको पहाड थियो र पहाडको शिरमा एक थुङ्गा बादल झुण्डिएको थियो। म खोलाको बीचमा रहेको एउटा ढुङ्गामा उक्लिएँ र पहाडतिर फर्किएर बेस्सरी चिच्याएँ, ‘Hello! Who lives there behind this mountain? Hello…!’
वातावरणमा केही बेर प्रतिध्वनि गुञ्जियो। सोचेँ- पहाड, जङ्गल वा खोलाखाल्सीको सामीप्य पाउँदा मान्छे किन यसरी रमाउँछ? सायद ऊ प्राकृतिक वा जैविक हुनुको प्रमाण त्यहाँ मिल्छ र ऊ खुसी हुन्छ। आखिर ऊ पनि त प्रकृतिकै एक हिस्सा हो।
खोलाकिनारमा साथीहरूको रमाइलो गफ चलिरहेकै थियो। मैले बालुवामा आधा गाडिएको एउटा पहेँलो बल देखेँ र त्यसलाई उधिनेर निकालेँ। मेरा क्रिकेटप्रेमी साथीहरू बच्चाझैँ रमाए। उनीहरूले सुकेको रूखको हाँगाको ब्याट बनाए।
त्यहाँ थोत्रो बाकसजस्तो एउटा वस्तु भेटिएको थियो, त्यसको तुरुन्तै स्टम्प बनाए र सुरु भइहाल्यो गेगरिलो मैदानमा क्रिकेट। खेल बडो रमाइलो भइरहेको थियो। बलिङ गर्ने क्रममा अचानक खुट्टा अल्झिएर केशव नराम्ररी पछारियो। उसको दुवै हातको कुइनोमा चोट लाग्यो। पेट र छाती गेगरमा धसारियो। घस्रिएर छाला खुइलिएको ठाउँबाट सामान्य रूपमा रगत पनि बग्न थाल्यो।
उनीहरूलाई त्यहीँ छाडेर राजन र म नजिकै कुनै पसल (स्टोर) छ कि भनेर खोजीमा निस्कियौँ। धन्न, एउटा स्टोर भेट्टायौँ। चिसो ‘टिस्यु’ र एक दर्जन ‘फिङ्गर प्लास्टर’ किनेर ल्यायौँ। केशवले शरीरको धूलोमैलो चिसो टिस्युले पुछ्यो र चोट लागेका ठाउँहरूमा प्लास्टर टाँस्यो। खेल त्यत्तिकैमा सकियो।
हामीमध्ये खै कसले हो, त्यो बललाई ब्याटले हानेर खोलाको बीचमा पुर्याइदियो र त्यो पानीमा बग्दै-बग्दै बेपत्ता भयो। त्यस बललाई हामीले ‘अलच्छिना बल’ नाम दियौँ। न भेटिन्थ्यो बल, न खेलिन्थ्यो क्रिकेट, न चोट लाग्थ्यो केशवलाई! त्यो हाम्रो ‘मूर्खतापूर्ण’ (स्ट्युपिड) व्याख्या थियो; थाहा थियो, त्यसैले एक फेर हामी गलल हाँस्यौँ।
“धूलो वा गेगरमा सानो छँदा खुबै लडिन्थ्यो। खेल्दाखेल्दै अन्तिम पटक जीवनमा कहिले यसरी लडेका थियौँ? हामी कसैलाई थाहा छैन,” हामी आ-आफ्नो बाल्यकालको सम्झना र चर्चा गर्दै निकै बेर खोलाको किनारै किनार हिँडिरहौँ। सायद केशवको लडाइँमा हामी आ-आफ्नो बाल्यकाल खोजिरहेका थियौँ। ऊ स्वयं पनि दुख्नुभन्दा बढी मुसुमुसु हाँसिरहेको थियो।
खेल, खाना र आफ्नै गीत
खोलाबाट फर्किएर आउँदा घाम चर्केर गर्मी बढ्दै गएको थियो। खर्बुजाको व्यवस्था गरिएको रहेछ, खर्बुजा खाने कार्यक्रम चल्यो। केही बेरमा कम्मरमा रिङ घुमाउने महिलाहरूको ‘हुपिङ गेम’ सुरु भयो।
त्यसपछि महिलाहरूकै ‘फुटबल सुट’ खेल पनि भयो। दुवै खेलबाट प्रथम, द्वितीय र तृतीय हुनेहरूले पुरस्कार पाए। पुरुषहरूको लागि ‘पुसअप च्यालेन्ज’ सञ्चालन गरिएको थियो, जसमा हाम्रो टोलीबाट राजन भण्डारीले भाग लियो। हामीले हेरेर आनन्द उठायौँ।
सम्पूर्ण खेल र पुरस्कार वितरणको कार्यक्रम सकिएपछि सामूहिक तस्बिर लिने काम भयो। केही बेरमा खाना खाने समय भयो र लाइन लागेर सबैले मीठा परिकारहरू खायौँ। खाने र सरसफाइ गर्ने काम सकिएपछि केही बेर आराम गरेर फर्कने सल्लाह भयो।

सबै काम सकिएपछि हामी फर्कनका लागि गाडी चढ्यौँ। गाडीमा म आफैँले गाएका ‘माया गर्छु नि हौ…’, ‘आधा चुरोट…’ र ‘गहको आँसु…’ बोलका गीतहरू पालैपालो गुञ्जिए। अन्ततः करिब अढाई घण्टामा फारान आइपुगेपछि हामीलाई जहाँबाट उठाइएको थियो, त्यहीँ ओरालेर मधुकरजी आफ्नो कामतिर लाग्नुभयो।
आकाशमा सूर्यनारायण अस्ताउने तरखरमा देखिए। यहाँ सहरमा डाँडापारि सूर्य अस्ताउँदैन, भवनहरूको छतमा अस्ताउँछ; जो अहिले अस्ताउँदै थियो। मेरो मनले सोचिरहेको थियो, “अहो! दुई दिन बिदा थियो र पो रमाइलो गरियो! भोलि त सोमबार, फेरि सबेरै उठ्नैपर्नेछ र ‘पाल्ली-पाल्ली’ (छिटो-छिटो) काममा दौडिनै पर्नेछ।”
आफ्नो कम्पनी, काम र पराई देशको हठात् सम्झनाले मन त्यसैत्यसै अमिलिएर आयो। भर्खरै नेपालीहरूमाझ रमझममा भुलिएको यो नेपाली मन फेरि एक झमटमै परदेशी भयो।















Facebook Comment