सिरहामा प्रहरीको विशेष एक्सन: कुख्यात भारतीय लागू औषध कारोबारीमाथि गोली प्रहार

डिसी नेपाल
८ असार २०८३ ७:२६

सिरहा। सिरहा प्रहरीले सीमावर्ती क्षेत्रमा एक विशेष अपरेशन सञ्चालन गर्दै नेपाल र भारत दुवैतर्फ सक्रिय रहेका एक कुख्यात भारतीय लागू औषध कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

आइतबार साँझ सिरहा नगरपालिका-२१ स्थित लगडीगोठ सीमा क्षेत्रमा भएको आकस्मिक कारबाहीका क्रममा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला, पदमाहा ग्राम पञ्चायत-२ निवासी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान पक्राउ परेका हुन्।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतार, जिल्ला प्रहरी कार्यालय सिरहा तथा लागू औषध नियन्त्रण ब्युरो गोलबजार शाखाको संयुक्त टोली पासवानलाई नियन्त्रणमा लिन सो क्षेत्रमा पुगेको थियो।

प्रहरी टोलीलाई देख्नासाथ पासवानसहितको समूहले आत्मसमर्पण गर्नुको सट्टा प्रहरीमाथि नै अन्धाधुन्ध ढुङ्गामुढा प्रहार गर्दै भारतीय सीमातर्फ भाग्ने प्रयास गरेको थियो। स्थिति नियन्त्रणमा लिन र आरोपीलाई भाग्न नदिन प्रहरीले सुरुमा एक राउन्ड हवाई फायर गरेको थियो।

त्यसपछि पनि आत्मरक्षा र प्रतिरक्षाका लागि प्रहरीले चलाएको अर्को एक राउन्ड गोली पासवानको देब्रे खुट्टाको पिँडुलामा लागेपछि उनी भुइँमा ढलेका थिए र प्रहरीले उनलाई नियन्त्रणमा लिन सफल भएको थियो।

यस हिंसक झडपका क्रममा महेशपुर पतारमा कार्यरत प्रहरी जवान हृदयनारायण ठाकुर पनि तस्कर समूहको ढुङ्गामुढाबाट घाइते भएका छन्। गोली लागेका मुख्य आरोपी पासवान र घाइते प्रहरी जवान ठाकुर दुवै जनालाई तत्कालै उद्धार गरी सिरहास्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।

हाल अस्पतालमा उपचाररत दुवै जनाको स्वास्थ्य अवस्था सामान्य र खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले घटनास्थलबाट मुख्य अभियुक्त पासवानका साथै उनलाई सघाउने भारतकै एक नाबालकलाई समेत नियन्त्रणमा लिन सफल भएको छ। पक्राउ परेका दुवै जनाको खानतलासी गर्दा उनीहरूको साथबाट ९२ ग्राम ३० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन) समेत बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार पक्राउ परेका रञ्जित कुमार पासवान सिरहा, सप्तरी तथा आसपासका नेपाली जिल्लाहरूमा युवा पुस्तामाझ अवैध लागुऔषध भित्र्याउने मुख्य नाइके हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले हालसम्म सीमावर्ती नाकाहरू प्रयोग गरी करिब ३ करोड रुपैयाँ बजार मूल्य बराबरको १० देखि १२ किलोसम्म ब्राउन सुगर नेपालमा अवैध बिक्री-वितरण गरिसकेको सनसनीपूर्ण तथ्य खुल्न आएको छ।

कानुनी कारबाही र प्रहरीको आँखा छल्नका लागि उनले योजनाबद्ध रूपमा साना नाबालकहरूलाई भरियाका रूपमा प्रयोग गर्ने गरेको समेत अनुसन्धानबाट पुष्टि भएको छ। पक्राउ परेका उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *