सेनेगलमाथि रोमाञ्चक जित निकाल्दै नर्वे विश्वकपको नकआउट चरणमा, फ्रान्स पनि अन्तिम १६ मा

डिसी नेपाल
९ असार २०८३ १०:०६

काठमाडाैं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आइ’ को रोमाञ्चक खेलमा सेनेगललाई पराजित गर्दै नर्वे प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ।

अमेरिकाको न्यूयोर्क न्यू जर्सी स्टेडियममा आज बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नर्वेले सेनेगलमाथि ३-२ गोलअन्तरको संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो।

नर्वेको यस महत्त्वपूर्ण जितमा स्टार स्ट्राइकर एर्लिङ हाल्यान्डले दुई गोल गरे भने मार्कस होल्मग्रेन पेडरसनले एक गोलको योगदान दिए। पराजित सेनेगलका तर्फबाट इस्माइला सारले दुई गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

खेलको सुरुआतदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको नर्वेका लागि ४३ औँ मिनेटमा मार्कसले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको नर्वेले दोस्रो हाफको सुरुमै अग्रता दोब्बर बनायो। खेलको ४८ औँ मिनेटमा एर्लिङ हाल्यान्डले गोल गर्दै टोलीलाई २-० को बलियो स्थितिमा पुर्‍याए।

तर, खेलको ५३ औं मिनेटमा सेनेगलका इस्माइला सारले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याएर खेलमा फर्किने संकेत गरे। सेनेगलले दबाब बढाउन खोजेको ठीक पाँच मिनेटपछि अर्थात् ५८ औँ मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता ३-१ को अवस्थामा पुर्‍याए।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए पनि त्यसपछि थप गोल हुन नसक्दा नर्वे विजयी भयो।

यस जितसँगै समूह ‘आइ’ मा रहेको नर्वे ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहन सफल भएको छ। समान ६ अंक नै रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहँदै नर्वेसँगै नकआउट चरणमा पुगेको छ।

लगातार दुई खेलमा पराजय भोगेका सेनेगल र इराक भने अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ। आजै बिहान फिलाडेल्फिया स्टेडियममा सम्पन्न यसै समूहको अर्को खेलमा फ्रान्सले इराकलाई ३-० गोलअन्तरले सहजै पराजित गर्दै नकआउट चरणको यात्रा तय गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *