रास्वपा महाधिवेशनमा सस्मित पोखरेलको केन्द्रीय सदस्यमा दाबी

डिसी नेपाल
१० असार २०८३ ८:३७

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पार्टीको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। चितवनमा आइतबारदेखि जारी रास्वपाको पहिलो महाधिवेशनका क्रममा मन्त्री पोखरेलले खुल्लातर्फ केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

आफ्नो उम्मेदवारीबारे जानकारी दिँदै मन्त्री पोखरेलले पार्टीको सिद्धान्त, मूल्य र मान्यतालाई थप सशक्त बनाउन तथा सङ्गठनलाई बलियो पार्न आफूले इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्पष्ट दृष्टिकोण र शालीन व्यक्तित्वका रूपमा चिनिने पोखरेलले महाधिवेशन प्रतिनिधिहरूसँग मत र सहयोगको अपेक्षा राखेका छन्।

मन्त्री पोखरेलको उम्मेदवारीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले प्रस्ताव गरेका छन्। मल्लको समर्थन र प्रस्तावसँगै पोखरेलको उम्मेदवारीलाई लिएर महाधिवेशन प्रतिनिधिहरूमा थप उत्साह देखिएको छ। मन्त्री पोखरेलको उम्मेदवारीलाई पार्टीका विभिन्न २१ जना प्रतिनिधिहरूले समर्थन जनाउँदै समर्थकका रूपमा हस्ताक्षर गरेका छन्।

चितवनमा जारी यस महाधिवेशनमा नीतिगत छलफलका साथै नयाँ नेतृत्व चयनको प्रक्रिया पनि सुरु हुँदैछ। रास्वपाले यस महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र र भविष्यको कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

बन्दसत्रका कार्यक्रमहरूसँगै प्रतिनिधिहरूको चहलपहल बढेको छ भने नेतृत्वका आकांक्षीहरूले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ। मन्त्री पोखरेलको यो घोषणाले पार्टीको केन्द्रीय समितिमा युवा र नयाँ नेतृत्वको प्रतिनिधित्वको विषयमा पनि बहस थपिएका छन्।

पार्टीको बन्दसत्रमा पेस हुने प्रतिवेदनहरू र त्यसपछिको निर्वाचन प्रक्रियाबाट रास्वपाले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ, जसमा मन्त्री पोखरेलको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *