विश्वकप २०२६: घरेलु टोली क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड समूह विजेता, पराजित क्यानडा पनि नकआउट चरणमा

डिसी नेपाल
११ असार २०८३ ६:२८

काठमाडाैं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक खेलमा स्विट्जरल्यान्डले घरेलु टोली क्यानडालाई पराजित गर्दै प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा स्विट्जरल्यान्डले क्यानडामाथि २–१ गोलअन्तरको महत्त्वपूर्ण जित निकालेको हो। यो जितसँगै स्विट्जरल्यान्ड समूह ‘बी’ को विजेता बन्दै अर्को चरणमा प्रवेश गर्न सफल भएको छ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमा नै स्विट्जरल्यान्डले आक्रामक रूप लियो। खेलको ४६ औँ मिनेटमा रुबेन वर्गासले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।

दबाबमा परेको क्यानडाविरुद्ध स्विट्जरल्यान्डले खेलको ५७ औँ मिनेटमा अर्को सफलता पायो, जहाँ जोहान मान्जाम्बीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। खेलको ७६ औँ मिनेटमा क्यानडाका प्रमिस डेभिडले एक गोल फर्काउँदै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि थप गोल हुन सकेन र स्विट्जरल्यान्डले जित सुनिश्चित गर्‍यो।

यस जितसँगै समूह चरणका तीन खेलबाट सात अङ्क जोड्दै स्विट्जरल्यान्ड शीर्ष स्थानमा रह्यो। पराजित भए पनि घरेलु टोली क्यानडा चार अङ्कका साथ समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्न सफल भएको छ।

यसै समूहको अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३-१ गोलअन्तरले पराजित गर्दै महत्त्वपूर्ण ३ अङ्क जोडेको छ। यो जितसँगै बोस्नियाको पनि क्यानडा समान चार अङ्क नै पुगेको छ, तर गोलअन्तरका आधारमा पछि पर्दा टोली तेस्रो स्थानमा खुम्चिन पुग्यो।

कतारलाई हराएको बोस्नियाको उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा पुग्ने गणितीय सम्भावना भने अझै बाँकी रहेको छ। अर्कोतर्फ, प्रतियोगिताभर मात्र एक अंक जोड्न सकेको कतार भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *