दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा व्यावसायिक रूपमा सञ्चालन गरिएको ड्रागन फ्रुट फार्ममा लटरम्म फलेको, पाकेको र फल्ने तयारीमा फुलेका ड्रागन फ्रुट । ड्रागन फ्रुट जेठदेखि फल्न सुरु गर्ने र असोजसम्म फलिरहने किसान बताउँछन् । तस्बिरःः कुलदीप न्यौपाने/रासस
बागमती। हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८ लाखभन्दा बढीको कारोबार भएको छ। स्थानीयस्तरमा उत्पादित ड्रागन फ्रुटको प्रवर्द्धन, बजार व्यवस्थापन तथा यसको स्वास्थ्य लाभबारे उपभोक्तालाई जानकारी गराउने उद्देश्यका साथ बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिका र प्रादेशिक कृषि थोक बजारद्वारा संयुक्त रूपमा महोत्सव आयोजना गरिएको हो।
महोत्सव सुरु भएको दुई दिनमा रु १८ लाखभन्दा बढीको कारोबार हो। शनिबारसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन तीन हजार ५०० किलो र दोस्रो दिन चार हजार ५०० किलो ड्रागन फ्रुट बिक्रीबाट उक्त रकम बराबरको करोबार भएको हेटौँडा उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मीले जानकारी दिए। उनका अनुसार महोत्सवमा हेटौँडा, मकवानपुरगढीलगायत स्थानबाट किसानले बगैँचाबाट सङ्कलन गरेका ताजा तथा प्राङ्गारिक ड्रागन फ्रुटको प्रदर्शनी र बिक्री गरिरहेका छन्।
महोत्सवका अवसरमा ड्रागन फ्रुटको नयाँ खेती गर्न इच्छुक किसानका लागि माटोको तयारी, बिरुवा रोपन, स्याहारसम्भार तथा रोग व्यवस्थापनसम्बन्धी निःशुल्क प्राविधिक परामर्श सेवासमेत प्रदान गरिएको छ। हेटौँडा र आसपासको हावापानी ड्रागन फ्रुटखेतीका लागि उपयुक्त देखिएको भन्दै सहभागी किसानले महोत्सवले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराएको बताएका छन्।
महोत्सवले स्थानीय कृषि उत्पादनको बजारीकरणसँगै कृषि पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।






डिसी नेपाल





Facebook Comment