नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

डिसी नेपाल
१३ असार २०८३ २१:३७

काठमाडौं। पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले ७५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

शनिबार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्लाको सिलगुडी–चम्पासारी निवासी ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस रहेका छन्।

प्रहरीका अनुसार उनीहरू बाप्र०३–००१ ख ५३०४ नम्बरको यात्रुवाहक बसमा काकडभिट्टाबाट काठमाडौंतर्फ यात्रा गरिरहेका थिए। शंकाका आधारमा गरिएको खानतलासीका क्रममा उनीहरूले लुकाइछिपाइ बोकेको ७५ ग्राम ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बरामद गरिएको पदार्थ प्रतिबन्धित लागूऔषध ब्राउन सुगर भएको प्रारम्भिक अनुमान गरिएको छ। बरामद वस्तु परीक्षणका लागि पठाइएको र दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *