नेपाली स्रष्टाहरूका स्वर अब अमेरिकी ‘लाइब्रेरी अफ कङ्ग्रेस’ को स्थायी अभिलेखमा: विश्वभरका अनुसन्धानकर्ताका लागि खुला
काठमाडौं। नेपाली साहित्यका डेढ दर्जन मूर्धन्य स्रष्टाहरूको आफ्नै आवाजमा रेकर्ड गरिएका रचनाका अंशहरू अब विश्वकै सबैभन्दा ठूलो पुस्तकालय, अमेरिकाको वासिङ्टन डी.सी.स्थित ‘लाइब्रेरी अफ कङ्ग्रेस’ को स्थायी अभिलेखको हिस्सा बनेका छन्।
दक्षिण एसियाली साहित्यिक ध्वनि अभिलेख परियोजना अन्तर्गत संकलन गरिएका नेपाली, नेपालभाषा र मैथिली भाषाका यी विशिष्ट ध्वनि सामग्रीहरूलाई हालै नयाँ डिजिटल स्वरूपमा विश्वव्यापी रूपमा सार्वजनिक गरिएको हो।
झण्डै एक वर्ष लामो पुनर्संरचना तथा अनलाइन प्रस्तुतीकरणको काम सकिएसँगै अब विश्वभरका पाठक, अध्येता र अनुसन्धानकर्ताहरूले यी अनमोल साहित्यिक सम्पदामा सजिलै पहुँच पाउन सक्ने लाइब्रेरी अफ कङ्ग्रेसले जनाएको छ। यस ऐतिहासिक कार्यले नेपाली भाषिक संसारका सशक्त आवाजहरूलाई अन्तर्राष्ट्रिय साहित्यिक जगत् र साझा स्मृतिभित्र सधैँका लागि सुरक्षित गराएको छ।
यसअघि सन् २००४ मा लाइब्रेरी अफ कङ्ग्रेसले नेपालका स्थापित नक्षत्रहरू राष्ट्रकवि माधव घिमिरे, मोहन कोइराला, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम, बानीरा गिरि, भुवन ढुङ्गाना र दिनेश अधिकारीका स्वरमा रचनाहरू संकलन गरेको थियो।
सोही ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै अहिले सम्पन्न नयाँ परियोजनाले समकालीन र नयाँ पुस्ताका प्रभावशाली स्रष्टाहरूका स्वरलाई पनि विश्व साहित्यिक मञ्चमा समेटेको छ। नयाँ सङ्ग्रहमा प्रा.डा. अभि सुवेदी, अशेष मल्ल, कालीप्रसाद रिजाल, कृसु क्षेत्री, धीरेन्द्र प्रेमर्षि, नारायण ढकाल, प्रतिसरा सायमी, भुवनहरि सिग्देल, मनु मञ्जिल, माया ठकुरी, मोमिला, राजेन्द्र विमल, शारदा शर्मा, श्रवण मुकारुङ, सरुभक्त र ज्ञानुवाकर पौडेल लगायतका मूर्धन्य साहित्यकारहरूका आवाज संकलित छन्।
यो संग्रह केवल सिर्जनाको दस्तावेज मात्र नभएर स्रष्टाको आफ्नै उच्चारण, लय, शैली र तत्कालीन भाषिक संस्कृतिलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने एउटा महत्त्वपूर्ण कडी बनेको यसै परियोजनामा समेटिएका साहित्यकार कृसु क्षेत्रीले बताए।
नेपालसहित बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाका २० भन्दा बढी भाषामा सिर्जना गर्ने एक सयभन्दा बढी प्रतिष्ठित लेखकहरूको सहभागिता रहेको यो ‘SALRP’ परियोजना दक्षिण एसियाली साहित्यिक ध्वनि सम्पदाको एक विशिष्ट र अद्वितीय अभियान हो।
उपन्यास, कथा, नाटक, कविता र निबन्ध जस्ता विविध विधालाई समेटेको यस सङ्ग्रहले यस क्षेत्रको भाषा, शैली र विषयवस्तुको विविधतालाई एकै ठाउँमा समेटेको छ। सन् २००२ देखि सुरु भएको यस परियोजनाको वेबसाइटमा स्रष्टाहरूको ध्वनि अभिलेखसँगै उनीहरूको तस्बिर र संक्षिप्त जीवनी समेत अध्ययन गर्न सकिन्छ, जसलाई ‘साउथ एसियन डिजिटल कलेक्सन’ मार्फत अध्ययन-अनुसन्धानका लागि खुला गरिएको छ।
नयाँ अनलाइन प्रविधिमार्फत गरिएको यो प्रस्तुतीकरणले नेपाली र नेपालका अन्य रैथाने साहित्यलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न बलियो पुलको काम गरेको छ भने यसलाई बीसौँ र एक्काइसौँ शताब्दीको दक्षिण एसियाली साहित्यिक चेतना, सांस्कृतिक स्मृति र सिर्जनात्मक उत्तराधिकारको एक अनुपम दस्तावेजका रूपमा हेरिएको छ।






डिसी नेपाल





Facebook Comment