धान उत्पादन बढेपनि आत्मनिर्भरता अझैं टाढा : विष्णु विलास अधिकारी

डिसी नेपाल
१५ असार २०८३ ८:४७

काठमाडौं । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवले नेपालमा धान खेतीको महत्व र खाद्य सुरक्षाको विषय उजागर गर्छ । पछिल्ला केही वर्ष नेपालमा धानको उत्पादन बढे पनि देश आत्मनिर्भर नभएको, जमिन घट्दै गएको, सिंचाइ अभाव, जलवायु परिवर्तन र मलको कमी प्रमुख चुनौती भएको बताउँदै आएका छन् ।

२३ औं राष्ट्रिय धान दिवसको अवसर पारेर नेपाल न्यूज बैंकले धानबाली विज्ञ प्राध्यापक डाक्टर विष्णु विलास अधिकारीले नेपालमा धान उत्पादन बढे पनि देश अझै आत्मनिर्भर बन्न नसकेको बताएका छन् । उनले धान खेतीको क्षेत्रफल घट्दै जानु, सिंचाइको अभाव, जलवायु परिवर्तन र रासायनिक मलमा बढ्दो निर्भरता मुख्य चुनौतीका रूपमा औंल्याएका छन् ।

धान नेपालीहरूको प्रमुख खाद्यान्न बाली हो र अहिले अधिकांश नेपालीको भोजन धानमै निर्भर बन्दै गएको छ । विगतमा मकै, गहुँ, कोदो, फापर जस्ता अन्नको प्रयोग बढी हुने गरे पनि अहिले खानपानको बानी परिवर्तनसँगै धानको माग बढेको उनले बताए ।

धानमै विद्यावारिधी समेत गरेका प्राडा अधिकारीले धान खेतीको क्षेत्रफल निरन्तर घटिरहेको जानकारी दिए । उनका अनुसार पहिले करिब १५ लाख हेक्टरमा धान खेती हुने गरेकामा अहिले करिब १४ लाख २० हजार हेक्टरमा मात्र खेती भइरहेको छ । घडेरी, सडक विस्तार, बस्ती विकास तथा जमिन बाँझो बस्ने प्रवृत्तिका कारण खेतीयोग्य जमिन घट्दै गएको उनको भनाइ छ ।

यद्यपि, पछिल्ला वर्षहरुमा धान उत्पादनमा केही सुधार देखिएको उनले बताए । गएको आर्थिक वर्षमा करिब ५९ लाख ६० हजार टन धान उत्पादन भएको र औसत उत्पादकत्व ४.१९ टन प्रतिहेक्टर पुगेको जानकारी उनले दिए । यो अघिल्लो वर्षको तुलनामा वृद्धि भए पनि त्यसको मुख्य कारण पर्याप्त वर्षा र केही क्षेत्रमा सुधारिएको सिंचाइ व्यवस्था रहेको उनले स्पष्ट पारे ।

‘हाम्रो उत्पादन त्यति नराम्रो होइन, तर उत्पादकत्व अझै कम छ,’ उनले भने, ‘नेपालमा सुनिश्चित सिंचाइ सुविधा सीमित भएकाले उत्पादन धेरै हदसम्म मनसुनमा निर्भर छ ।’ उनका अनुसार करिब ३०–३५ प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिंचाइ सुविधा पुगेको छ भने बाँकी क्षेत्र वर्षाको भरमा खेती गरिन्छ ।

जलवायु परिवर्तनले धान खेतीमा गम्भीर असर पारिरहेको उनले बताए । समयमा पानी नपर्नु, रोपाइँको बेला सुख्खा पर्नु र काट्ने समयमा अत्यधिक वर्षा हुनुजस्ता समस्याले उत्पादन घटाउने गरेको उनको भनाइ छ । ‘जुन वर्ष मनसुन राम्रो हुन्छ, त्यही वर्ष उत्पादन बढ्छ,’ उनले भने ।’

रासायनिक मल व्यवस्थापनमा पनि नेपाल कमजोर रहेको उनको विश्लेषण छ । नेपालमा मल उद्योग नहुँदा विदेशबाट आयात गर्नुपर्छ र समयमा मल आपुर्ति नहुने समस्या दोहोरिने गरेको उनले बताए । किसानहरू सन्तुलित मल प्रयोगभन्दा युरियामा बढी निर्भर हुँदा माटोको गुणस्तर कमजोर बन्दै गएको उनको भनाइ छ ।

उनले गोठे मल, कम्पोस्ट, हरियो मल र जैविक मलको प्रयोग बढाउनुपर्नेमा जोड दिए । ‘माटोमा प्रांगारिक पदार्थको मात्रा घट्दै गएको छ । यसलाई सुधार नगरेसम्म दीर्घकालीन उत्पादन वृद्धि सम्भव छैन,’ उनले बताए ।

प्रा.डा. अधिकारीले नेपालले हरेक वर्ष करिब ४५–५० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरिरहेको जानकारी दिए । उत्पादन बढे पनि देश आत्मनिर्भर नभइसकेको उनले बताए । भारतले सुगन्धित धानबाहेक अन्य धान निर्यातमा कडाइ गरेको उल्लेख गर्दै उनले भविष्यमा पैसा भएर पनि खाद्यान्न किन्न नपाउने अवस्था आउन सक्ने चेतावनी दिए ।

आत्मनिर्भर बन्न सरकारले सिंचाइ विस्तार, मल उद्योग स्थापना, गुणस्तरीय बीउ वितरण र किसान तालिमलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । ‘उन्नत बीउ मात्र प्रयोग गर्दा पनि १५ देखि २५ प्रतिशतसम्म उत्पादन बढाउन सकिन्छ,’उनले बताए ।

उनले कृषि अनुसन्धान परिषद्, कृषि विभाग र विश्वविद्यालयबीच प्रभावकारी समन्वय अभाव रहेको पनि उल्लेख गरे । किसानहरू कुन निकायमा जाने भन्ने अन्योलमा पर्ने भएकाले सबै निकायले साझा लक्ष्य लिएर काम गर्नुपर्ने उनले बताए ।

प्रा.डा. अधिकारीले युवाहरूलाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षित गर्नुपर्नेमा पनि जोड दिए । ‘देशको कृषि विकास बुढाबुढीले होइन, युवायुवतीले गर्ने हो,’ उनले भने,‘विदेशिएका युवालाई फर्काएर आधुनिक कृषि प्रविधिसहित उत्पादनमा जोड्नुपर्छ ।’

धानमा अत्यधिक निर्भरता घटाउन मकै, गहुँ, कोदो, फापर र चिनोजस्ता वैकल्पिक अन्नको प्रयोग बढाउनुपर्ने उनको सुझाव छ । साथै धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको भन्दै त्यसप्रति पनि सचेत हुनुपर्ने उनले बताए । नेपालमा जुम्ली मार्सी, छुम्रुङजस्ता स्थानीय धानका जातहरू रहेको उल्लेख गर्दै उनले ती जातको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए । ‘हामीसँग सुगन्धित, चिसो सहने र सुख्खा सहने धेरै स्थानीय जात छन् । तिनलाई जोगाउँदै उन्नत जातको प्रयोग बढाउन सके उत्पादनमा ठूलो सुधार गर्न सकिन्छ,’ उनले भने ।

हाइब्रिड बीउ, घट्दो माटो उर्वरता र किसानको समस्या प्रमुख चुनौती

धानबाली विज्ञ प्रा.अधिकारीले नेपालमा धान उत्पादन प्रविधि, किसानको अवस्था र कृषि नीतिका चुनौतीबारे गम्भीर प्रश्न उठाएका छन् ।

उनका अनुसार किसानहरू अहिले उच्च उत्पादन दिने वर्णशंकर (हाइब्रिड) धान जातप्रति आकर्षित भएका छन् । नेपालमा हाइब्रिड विकास कम भएको र अधिकांश बीउ भारत तथा चीनबाट आयात हुने गरेको उनले उल्लेख गरे । ‘यी जातले उत्पादन धेरै दिन्छन्, तर लागत पनि बढी हुन्छ,’ उनले भने ।

हाइब्रिड खेतीको विस्तारसँगै रासायनिक मलमा निर्भरता बढ्दा माटोको उर्वराशक्ति घट्दै गएको उनले चेतावनी दिए । गोठे मल, कम्पोस्ट र जैविक मलको प्रयोग घट्दै जाँदा दीर्घकालीन रूपमा माटो कमजोर बन्दै गएको उनको भनाइ छ । यदि यस्तै प्रवृत्ति जारी रहे भविष्यमा कृषि उत्पादनमा संकट आउन सक्ने उनले बताए ।

प्रा.डा. अधिकारीले नेपालमा मुख्यतः वर्षायाम (मनसुन) धान र चैते धान गरी दुई प्रकारका खेती प्रणाली रहेको बताए । मनसुन धानमा विविध जात प्रयोग गर्न सकिने भए पनि चैते धानका जात सीमित र विशिष्ट उत्पादनका लागि मात्र उपयोगी रहेको उनले स्पष्ट पारे ।

उनले किसानको लागत खर्च बढेपनि उत्पादनको उचित मूल्य नपाएकोमा चिन्ता व्यक्त गरे । सरकारबाट वास्तविक लागत अध्ययन नगरी मूल्य निर्धारण हुने भएकाले किसान मारमा परेको उनको भनाइ छ । ‘किसानको अवस्था बुझेर मूल्य निर्धारण नगरेसम्म उत्पादनमा स्थायित्व आउँदैन,’ उनले बताए ।

कृषि क्षेत्रलाई राज्यले कमजोर रूपमा हेरेको टिप्पणी गर्दै उनले किसानलाई सम्मानजनक पेशा बनाउनु आवश्यक रहेको बताए । विकसित देशहरूमा सानो प्रतिशत किसानले सम्पूर्ण जनसंख्यालाई खाद्यान्न उपलब्ध गराउने उदाहरण दिँदै उनले नेपालमा पनि कृषि व्यवसायलाई व्यावसायिक र सम्मानित बनाउनुपर्नेमा जोड दिए ।

उनले स्थानीय धान जात संरक्षण, उन्नत बीउ विकास, सिंचाइ विस्तार र मल व्यवस्थापन सुधारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । साथै, धानसँगै अन्य अन्नबालीको विविधीकरण गरी खाद्य सुरक्षालाई बलियो बनाउनुपर्ने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *