कान्तिलोकपथमा पहिरोको सास्ती: ठिंगनको पहिरो पन्छाउन नपाउँदै भर्याङडाँडामा खस्यो अर्को ठूलो पहिरो
मकवानपुर। हेटौंडा र काठमाडौँ जोड्ने छोटो दूरीको कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरका विभिन्न स्थानमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
सोमबार मध्यरात करिब १२:३० बजे मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगनस्थित सडकमा माथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक पहिलो पटक अवरुद्ध भएको थियो।
पहिरो खसेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक अर्जुन बरुवालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको भए पनि निरन्तरको वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले रातभर सडक खुलाउन सम्भव भएको थिएन।
प्रहरी र स्थानीय निकायको पहलमा मंगलबार बिहान ५:३० बजेदेखि ठिंगनको पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो। झन्डै एक घण्टाको निरन्तर प्रयासपछि बिहान ६:३५ बजे ठिंगन खण्डको सडक खुलाएर यातायात सुचारु गरिएको थियो।
तर, उक्त स्थानको पहिरो पन्छाएर सडक खुलाएको १० मिनेट पनि बित्न नपाउँदै बिहान ६:४५ बजे मकवानपुरकै भिमफेदी गाउँपालिका-८ भर्याङडाँडा क्षेत्रमा अर्को ठूलो पहिरो खसेपछि कान्तिलोकपथ पुनः पूर्ण रूपमा अवरुद्ध हुन पुगेको छ।
भर्याङडाँडामा खसेको पहिरो निकै ठूलो र लेदोसहितको भएकाले तत्काल सडक सञ्चालनमा आउने अवस्था नरहेको प्रहरीले जनाएको छ। हाल उक्त स्थानमा पहिरो हटाउने काम जारी राखिएको भए पनि घटनास्थलमा निरन्तर सिमसिम वर्षा भइरहेका कारण उद्धार तथा सडक खुलाउने कार्य निकै प्रभावित बनेको छ।
सडक अवरुद्ध भएपछि कान्तिलोकपथ भएर चल्ने सवारी साधनहरू र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।






डिसी नेपाल





Facebook Comment