जंगली बँदेलका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु
गुल्मी। गुल्मीमा जंगली बँदेल नियन्त्रणका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको दुःखद मृत्यु भएको छ।
बाली जोगाउन राखिएको करेन्टमा परेर धुर्कोट गाउँपालिका-५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीकी ६० वर्षीया श्रीमती हुमकला भण्डारीको मृत्यु भएको हो। भण्डारी दम्पत्तीका दुई छोरा र एक बुहारी रोजगारीको सिलसिलामा दुबईमा रहेका तथा छोरीको विवाह भइसकेकाले घरमा उनीहरू दुई जना मात्र बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार भेषराज भण्डारीले घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा मंगलबार साँझ बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी बँदेल नियन्त्रणका लागि विद्युतीय धराप थापेका थिए।
प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माका अनुसार मध्यराति करिब १:३० बजे हुमकला उक्त धरापमा परेकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट श्रीमानले विद्युतीय धराप थापेको विषय हुमकलालाई जानकारी भए पनि मध्यरातमा बँदेल पर्यो कि भन्ने आशंकामा उनी एक्लै बारीतर्फ गएको र सोही क्रममा गल्तीवश विद्युतीय धराप छुँदा करेन्ट लागेको खुलेको छ।
धुरापमा परेर हुमकला चिच्याएपछि छिमेकीले थाहा पाएर प्रहरीको १०० नम्बरमा खबर गरेका थिए। धुर्कोट गाउँपालिका वडा नं. ५ का अध्यक्ष केशवराज भण्डारीका अनुसार श्रीमती धरापमा परेको र छिमेकीले प्रहरीलाई खबर गरेको धेरै समयपछि मात्र श्रीमान भेषराजले घटनाबारे जानकारी पाएका थिए।
करेन्ट लागेर गम्भीर घाइते भएकी हुमकलालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको भए पनि चिकित्सकले बिहान ३:२५ बजे उनलाई मृत घोषणा गरेका थिए।
यस दुःखद घटनापछि प्रहरीले विद्युतीय धराप थाप्ने भेषराज भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। वडाध्यक्ष भण्डारीका अनुसार प्रहरीले भेषराजलाई घटनाको मुचुल्का बनाउन आज बिहान तम्घासबाट गाउँमा ल्याएर पुनः फर्काएको छ।
मृतक हुमकलाको शव अहिले तम्घासमै राखिएको छ भने घटनाको विस्तृत अनुसन्धान सकिएपछि र विदेशमा रहेका छोराहरू फर्केपछि मात्रै शवको अन्त्येष्टि गरिने बुझिएको छ। जंगली जनावरले किसानको खेतीबाली नष्ट पार्न थालेपछि पछिल्लो समय गाउँघरमा धेरैले यस्ता असुरक्षित धरापहरु राख्ने गरेको स्थानीयले बताएका छन्।






डिसी नेपाल





Facebook Comment