अविरल वर्षा र पहिरोले देशभरका सात सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, यात्राअघि जानकारी लिन प्रहरीको आग्रह

डिसी नेपाल
२१ असार २०८३ १०:१६

काठमाडौं। अविरल वर्षा, बाढी, पहिरो तथा सडक मर्मतका कारण आइतबार बिहानसम्म देशभरका सात वटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार विभिन्न स्थानमा आएको पहिरो र सडक क्षतविक्षत भएका कारण यातायात सेवा प्रभावित भएको हो भने चार वटा स्थानमा अहिले एकतर्फी रूपमा मात्रै सवारी साधन सञ्चालन भइरहेका छन्।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुन्जेबेसी सडकखण्डमा बाढीको उच्च जोखिम रहेकाले सम्भावित दुर्घटना टार्न सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

यस्तै मकवानपुरको इन्द्रसरोवर-महालक्ष्मी सडकखण्डमा मर्मत कार्य जारी रहेकाले सडक पूर्ण रूपमा बन्द गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी सडकखण्ड पनि भीषण पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ।

गण्डकी प्रदेशतर्फ कास्कीको पोखरा-२२ क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गमा पहिरो खसेका कारण अहिले एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ भने स्याङ्जाको ब्यासेरी-बेनी-जोमसोम सडकखण्ड पहिरोकै कारण पूर्ण रूपमा बन्द छ। पाल्पाको मालमुल-पाल्पा सडकखण्डमा भने खसेको पहिरो हटाएर यातायात सेवा पुनः सुचारु गरिएको प्रहरीले जनाएको छ।

यसैगरी पश्चिम नेपालका हिमाली तथा पहाडी जिल्लाका सडकहरू पनि वर्षाका कारण प्रभावित भएका छन्। रुकुम पश्चिमको आठबिसकोट-रिजुगार्ड जोड्ने भेरी करिडोर अविरल वर्षाका कारण दुई फरक स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।

रोल्पाको परिवर्तन गाउँपालिका-१ शेलाबाङ क्षेत्रमा पर्ने घोराही-रुकुम शहीद मार्गमा पहिरोका कारण एकतर्फी मात्रै गाडी चलिरहेका छन्।

सुदूरपश्चिमको बझाङस्थित छविसपाथीभेरा-जालेबगर क्षेत्रमा रहेको जयपृथ्वी राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।

देशभरका विभिन्न राजमार्गहरूमा अवरोध सिर्जना भएपछि प्रहरीले सर्वसाधारणलाई यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक परे वैकल्पिक मार्गको प्रयोग गर्न विशेष आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *