‘अत्यन्त खतरनाक’ आँधीको चपेटामा गुआम र उत्तरी मारियाना, तटीय क्षेत्र ध्वस्त हुनसक्ने चेतावनी
अमेरिका। प्रशान्त महासागरमा अवस्थित गुआम र उत्तरी मारियाना टापुका बासिन्दाहरू ‘अत्यन्त खतरनाक’ आँधीको जोखिमबाट बच्न आइतबारदेखि नै आपतकालीन उद्धार केन्द्रहरूमा भेला हुन थालेका छन्।
‘बावी’ नाम दिइएको यो विनाशकारी आँधीले गुआम र उत्तरी मारियानाको तटीय क्षेत्रलाई नराम्ररी ध्वस्त पार्नसक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्। अत्यन्तै तीव्र गतिमा अघि बढिरहेको यो आँधी स्थानीय समयअनुसार सोमबार बिहान करिब १०:०० बजे यस क्षेत्र हुँदै पश्चिमतर्फ बढ्ने अनुमान गरिएको छ। यसको हावाको गति २६० किलोमिटर प्रति घण्टासम्म रहने देखिएको छ, जुन पाँचौँ तहको शक्तिशाली चक्रवात (हुरिकेन) बराबरको हो।
अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्लयुएस) ले यस आँधीलाई ‘अत्यन्त खतरनाक’ श्रेणीमा राख्दै आइतबार दिउँसो वा साँझदेखि नै उष्णकटिबन्धीय हावाको तीव्र लहर चल्ने र आँधीको केन्द्र आसपासका क्षेत्रमा ‘विनाशकारी’ क्षति हुनसक्ने बताएको छ।
भारी वर्षाका कारण ठूलो बाढी आउने र तटीय क्षेत्रहरू डुबानमा पर्ने उच्च सम्भावना छ। समुद्रमा करिब १० तले भवनको उचाइ जत्तिको अर्थात् ३५ फिट (१०.७ मिटर) सम्मका विशाल छालहरू उठ्ने भएकाले तटीय क्षेत्रमा अत्यन्तै जोखिमपूर्ण अवस्था सिर्जना हुने अनुमान गरिएको छ। आँधीको पूर्वसन्ध्यामा आइतबार गुआमका सडकहरूमा गाडीहरू निकै कम चलेका छन् भने भारी वर्षा र तीव्र गतिको हावाले टापुलाई प्रभावित पार्न सुरु गरिसकेको छ।
आँधीको त्रासका बीच स्थानीय बासिन्दा तथा पर्यटकहरूले आ-आफ्नो सुरक्षाको तयारी गरिरहेका छन्। गुआममा रेष्टुरेन्ट चलाउने ५५ वर्षीया पिन्की कुबाकुबले आँधीबाट आफ्नो संरचना जोगाउन ५०० डलरको प्लाईउड किनेर झ्यालढोका थप मजबुत् बनाएको बताइन्। कोरोना र आर्थिक मन्दीका कारण भर्खरै व्यवसाय सुरु गरेकी उनले धेरै दिन घरबाहिर बस्नुपर्दा भाडा र कर्मचारीको खर्च धान्न गाह्रो हुने चिन्ता व्यक्त गरिन्।
त्यस्तै, कंक्रिटको घर भएकी अर्की स्थानीय अरबेला पाउलिनोले छोरीहरू डराए पनि घर बलियो भएकाले सबै ठीक हुने आशा राखिन्। मौसम खराबीका कारण उडान रद्द हुँदा टोकियो फर्कन नपाएकी जापानी पर्यटक मिकु सकुराईले होटलमै बस्नुपर्दा डर लागिरहेको बताइन्। यद्यपि, यस्तो जोखिमपूर्ण समयमा पनि गुआमको ‘तालोफोफो बे’ मा भने केही साहसी सर्फरहरूले समुद्रको तीव्र हावा र छालको फाइदा उठाउँदै रमाइलो गरिरहेका भेटिएका थिए ।
करिब एक लाख ७० हजार जनसङ्ख्या भएको गुआम र ४० हजार जनसङ्ख्या भएको उत्तरी मारियानामा यसअघि मध्य अप्रिलमा आएको ‘सिन्लाकु’ चक्रवातले हजारौँको बिजुली अवरूद्ध गर्नुका साथै ठूलो भौतिक क्षति पुर्याएको थाहा हुन आएको छ ।
त्यस्तै, सन् २०२३ मा आएको अर्को ठूलो आँधी ‘मावर’ ले पनि यहाँ ठूलो विनाश निम्त्याएको थियो । आइतबार बिहानको प्रक्षेपणअनुसार बावी आँधी गुआम र साइपानको बीचमा पर्ने सानो टापु रोटा नजिकबाट गुज्रने सम्भावना छ। रोटाका मेयर अउब्री होकोगले आवश्यक सावधानी अपनाएर परिवार र समुदायलाई जोगाउन सकिने भन्दै नागरिकहरूको सुरक्षाका लागि प्रार्थना गरिरहेको बताएका छन्।
सम्भावित विपद्लाई मध्यनजर गर्दै संघीय आपतकालीन व्यवस्थापन निकायको टोली गुआममा तैनाथ भइसकेको छ। उनीहरूको वितरण केन्द्रमा ११ लाख लिटर पानी, १२ लाख जनाका लागि तयारी खाना, छ हजार ७०० ओछ्यान र ९० थान जेनेरेटर तयारी अवस्थामा राखिएका छन्।
टोलीले सुरक्षित आश्रयस्थल खोज्ने समय निकै कम रहेको भन्दै सतर्क गराएको छ । गुआम प्रशासनले कमजोर घरमा बस्नेहरूका लागि विद्यालयहरूमा पाँच वटा उद्धार केन्द्र खोलेको छ, जसको कुल क्षमता एक हजार ९०० जनाको छ ।
स्थानीय अधिकारी डेमन माइकल बोरजाका अनुसार विगतको ‘मावर’ आँधीबाट सिकेका पाठहरूका कारण यसपटकको तयारी निकै राम्रो छ । मावर आँधीका बेला बिजुली र पानी आपूर्ति सुचारु गर्न तीन महिना लागेकोमा सिन्लाकु आँधीका बेला भने तीन हप्तामै सेवा पुनर्बहाली गर्न सकिएको उनले स्मरण गरे।
युरोपेली सङ्घको ‘कोपरनिकस मरिन सर्भिस’ का अनुसार विश्वका महासागरहरूको तापक्रमले अहिलेसम्मकै उच्च रेकर्ड तोड्ने अनुमान गरिएको छ । तातो महासागरले उष्णकटिबन्धीय आँधीहरूलाई थप ऊर्जा प्रदान गरी झन् शक्तिशाली र वर्षा गराउने आद्र्रता बढाउने गर्दछ ।
यसैबीच, विश्व मौसम सङ्गठनले प्रशान्त महासागरीय क्षेत्रमा प्राकृतिक जलवायु घटना ‘एल निनो’ सुरु भइसकेको र आगामी दिनमा यो अझ बलियो हुने चेतावनी दिएको छ । सामान्यतया हरेक दुई देखि सात वर्षमा आउने र नौ देखि १२ महिनासम्म रहने एल निनोका कारण प्रशान्त महासागरको सतहको तापक्रम बढ्न गई विश्वभर नै हावा, वायुको चाप र वर्षाको ढाँचामा ठूलो परिवर्तन आउने गर्दछ ।






डिसी नेपाल





Facebook Comment