विश्वकपमा नयाँ विवाद: रातो कार्ड पाएका बालोगुनलाई खेल्न दिने फिफाको निर्णय, ट्रम्पले दबाब दिएको भन्ने चर्चा!

डिसी नेपाल
२२ असार २०८३ ८:५०

काठमाडौं: विश्व फुटबलको सर्वोच्च संस्था फिफाले अमेरिकी फरवार्ड फोलारिन बालोगुनमाथि लागेको एक खेलको स्वतः निलम्बन स्थगित गरेपछि विश्वकपमा नयाँ विवाद सुरु भएको छ।

सामान्यतः रातो कार्ड पाएपछि खेलाडीले अर्को खेल अनिवार्य रूपमा गुमाउनुपर्ने स्थापित नियम रहे पनि बालोगुन अब बेल्जियमविरुद्धको अन्तिम–१६ को महत्वपूर्ण खेल खेल्न पाउने भएका छन्।

बालोगुनले बोस्निया एन्ड हर्जेगोभिनाविरुद्धको समूह चरणको खेलमा रातो कार्ड पाएका थिए। प्रतियोगितामा तीन गोल गर्दै अमेरिकाका सर्वाधिक गोलकर्ता बनेका उनी निलम्बनका कारण नकआउट चरण गुमाउने अपेक्षा गरिएको थियो। तर फिफाले अचानक उनको निलम्बन स्थगित गरेको घोषणा गरेपछि निर्णयको निष्पक्षतामाथि व्यापक बहस सुरु भएको हो।

फिफाले आफ्नो निर्णय अनुशासन संहिताको धारा २७ अन्तर्गत गरिएको जनाएको भए पनि निलम्बन किन स्थगित गरियो भन्नेबारे विस्तृत कारण सार्वजनिक गरेको छैन। विश्वकप इतिहासमा यस प्रकारको व्यवस्था पहिलोपटक प्रयोग गरिएको बताइएको छ। यसअघि १९६२ को विश्वकपमा ब्राजिलका गारिन्चा मात्र रातो कार्ड पाएपछि पनि अर्को खेलमा सहभागी भएका खेलाडी मानिन्छन्।

फिफाको निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि फुटबल विश्लेषकहरूसम्म अमेरिकालाई विशेष सुविधा दिएको आरोप लगाइएको छ। प्रतियोगिताको समान नियम सबै टोलीमा समान रूपमा लागू हुनुपर्ने मान्यताविपरीत निर्णय भएको भन्दै आलोचना भइरहेको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई बालोगुनको निलम्बन पुनरावलोकन गर्न आग्रह गरेको भन्ने समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक भएको छ। यद्यपि उक्त दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

उता बेल्जियम फुटबल संघले फिफाको निर्णयप्रति औपचारिक आपत्ति जनाउँदै प्रतियोगिताको नियम र निष्पक्षताको मर्मविपरीत भएको प्रतिक्रिया दिएको छ। संघले सबै टोलीका लागि एउटै नियम लागू हुनुपर्ने धारणा राखेको छ।

फुटबल विश्लेषकहरूले पनि यस निर्णयले भविष्यमा रातो कार्डसम्बन्धी अनुशासनात्मक कारबाहीमाथि थप अपिल, कानुनी विवाद तथा निर्णयप्रति अविश्वास बढ्न सक्ने चेतावनी दिएका छन्। विश्व फुटबलमा निष्पक्षता र पारदर्शिताको विषय फेरि एकपटक बहसको केन्द्रमा आएको छ।

अब सबैको ध्यान बेल्जियमविरुद्धको अन्तिम–१६ को खेलमा हुनेछ, जहाँ बालोगुनको सहभागितासँगै फिफाको निर्णयमाथिको विवाद अझ चर्किने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *