कोशी अस्पतालको जग्गा अतिक्रमणमुक्त गराउन स्वास्थ्य र गृहमन्त्रीको संयुक्त कदम
विराटनगर। कोशी अस्पतालको सरकारी जग्गालाई अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले आइतबार संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गरेका छन्।
शनिबार मात्रै अस्पतालको नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिएकी थिइन्। सोही निर्देशनको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि आइतबार गृहमन्त्रीसहित पुनः अस्पताल पुगेर उनले अतिक्रमित संरचनाको अवस्थाबारे विस्तृत स्थलगत निरीक्षण गरेकी हुन्।
निरीक्षणपश्चात् आयोजित उच्चस्तरीय छलफलमा अस्पतालको स्वामित्वमा रहेको सरकारी तथा सार्वजनिक जग्गामा बनेका सम्पूर्ण अवैध संरचनाहरू तत्काल हटाउने निर्णय गरिएको छ।
गृहमन्त्री गुरुङले सम्बन्धित निकायलाई कानुनअनुसार अतिक्रमित संरचना खाली गराउन निर्देशन दिँदै यस कार्यका लागि स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक समन्वयका साथ परिचालन गरिने स्पष्ट पारे।
यस्तै, स्वास्थ्यमन्त्री मेहताले अस्पताल प्रशासनले गत असार ५ गते जारी गरेको १५ दिने सार्वजनिक सूचनाको म्याद सकिँदासमेत संरचना खाली नगरिनु दुःखद् भएको उल्लेख गर्दै अबको एक साताभित्र अस्पताल परिसरलाई जसरी पनि अतिक्रमणमुक्त गराइने प्रतिबद्धता व्यक्त गरिन्।
उनले सरकारी अस्पतालको सम्पत्ति संरक्षण गर्नु स्वास्थ्य सेवा सुधारको महत्त्वपूर्ण आधार भएको बताउँदै अस्पतालको सम्पूर्ण पूर्वाधार बिरामीको सेवाका लागि मात्र उपयोग हुनुपर्नेमा जोड दिइन्।
अस्पताल प्रशासनका अनुसार कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति तथा देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका छन् भने त्यसको केही भाग व्यावसायिक प्रयोजनका लागि समेत प्रयोग हुँदै आएको छ।
यसअघि शनिबार मन्त्री मेहताले कोशी अस्पतालको विस्तृत अनुगमन गर्दै अस्पताल परिसरमै एउटा विशेषीकृत आँखा अस्पताल स्थापना गर्ने तयारीबारे प्रारम्भिक छलफल गरेकी थिइन्।
त्यसका साथै आकस्मिक कक्ष, वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गरी सरसफाइ, पूर्वाधार व्यवस्थापन, निर्माण कार्य समयमै सम्पन्न गर्न तथा अतिक्रमित संरचना हटाउने प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन उनले अस्पताल प्रशासनलाई निर्देशन दिएकी थिइन्।






डिसी नेपाल





Facebook Comment