‘इरानको हिटलिस्टमा मेरो नाम शीर्ष स्थानमा छ, मेरो जीवन सधैँ खतरामा छ’: अमेरिकी राष्ट्रपति ट्रम्प

डिसी नेपाल
२५ असार २०८३ ९:३७

वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जीवन हर क्षण खतरामा रहेको र इरानीहरूको हिटलिस्टमा आफ्नो नाम शीर्ष स्थानमा रहेको दाबी गरेका छन्।

नेटो शिखर सम्मेलनबाट ‘एयर फोर्स वान’ विमानमा फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उडानका क्रममा सुरक्षा संवेदनशीलताका कारण पत्रकारहरूलाई झ्यालको पर्दा समेत बन्द राख्न भनिएको थियो।

यसबारे सोधिएको प्रश्नमा ट्रम्पले इरानीहरूलाई ‘खतरनाक मानिस’ भन्दै यो उडान पनि खतरनाक हुन सक्ने संकेत गरे। उनले पत्रकारहरूसँग ठट्टा गर्दै भने, ‘यदि मलाई केही भयो भने तपाईंहरूलाई पनि हुन्छ। सायद कुनै दिन तपाईंले आफ्नो पेसा परिवर्तन गर्नेबारे सोच्नुपर्नेछ।’

राष्ट्रपति ट्रम्पको यो अभिव्यक्ति र इरानसँगको शान्ति सम्झौता (युद्धविराम समझदारी) ‘समाप्त’ भएको घोषणा लगत्तै अमेरिका र इरानबीचको तनाव चरम उत्कर्षमा पुगेको छ। होर्मुज स्ट्रेटमा इरानले व्यापारिक जहाजहरूमाथि आक्रमण गरेपछि अमेरिकाले त्यसको बदलास्वरूप बुधबार रातिदेखि इरानमा दोस्रो पटक व्यापक हवाई हमला सुरु गरेको हो।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार इरानको जहाजहरूमाथि आक्रमण गर्ने क्षमतालाई ध्वस्त पार्न यो सैन्य कारबाही गरिएको हो। अमेरिकी सेनाले इरानका महत्वपूर्ण सैन्य अड्डा, बन्दरगाह र विमानस्थलहरूलाई निशाना बनाएको छ।

इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार दक्षिणपूर्वी इरानको सिस्तान र बलुचिस्तान प्रान्तमा पर्ने इरानसहर विमानस्थलमा भएको आक्रमणमा एक अग्नि नियन्त्रकको मृत्यु भएको छ भने उडान सञ्चालन भवनमा क्षति पुगेको छ। मध्यरातमा सो क्षेत्रमा चारवटा ठुला विस्फोटका आवाज सुनिएका थिए।

यसका साथै इरानको रणनीतिक बन्दरगाह सहर चाबहार र कोनारक लगायतका क्षेत्रमा पनि अमेरिकी बमबारी जारी छ। चाबहार फ्रि जोन अर्गनाइजेसनका अनुसार अमेरिकाको आक्रमणपछि सम्भावित क्षतिबाट जोगाउन गोदाममा रहेका करिब ३०० भन्दा बढी सवारीसाधनहरू सुरक्षित स्थानमा सारिएको छ।

यसअघि मंगलबार मात्र अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। इरानले पनि अमेरिकी आक्रमणको जवाफमा कुवेत, बहराइन र कतारमा रहेका अमेरिकी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी ब्यालेस्टिक मिसाइल र ड्रोन प्रहार गरेपछि ती खाडी मुलुकहरूमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजाइएका छन्।

राष्ट्रपति ट्रम्पले इरानको परमाणु निशस्त्रीकरण नै अमेरिकाको मुख्य उद्देश्य रहेको स्पष्ट पार्दै इरानले वार्ताका क्रममा झूट बोलेको आरोप लगाएका छन्। उनले स्थिति अझै बिग्रिएमा इरानका विद्युत गृह र पानी शुद्धीकरण केन्द्र (डेसालिनेशन प्लान्ट) जस्ता नागरिक पूर्वाधारहरूमा समेत आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.