त्रिपुरेश्वर आत्मदाह प्रकरण: ‘नो पार्किङ’ को विवाददेखि आत्मदाह र मृत्युसम्मको प्रहरी विवरण

डिसी नेपाल
२६ असार २०८३ १५:०१

काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाको विस्तृत विवरण बाहिर आएको छ। उपलब्ध प्रहरीको आधिकारिक प्रतिवेदन अनुसार, पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको विषयलाई लिएर नगर प्रहरीसँग भएको विवाद र ह्विल लक लगाइएपछि सिर्जना भएको तनावका कारण यो दुःखद घटना घटेको पुष्टि भएको छ।

घटनाको सुरुवात असार २५ गते बिहान करिब ११:१० बजे भएको थियो, जब मुगुको सोरु गाउँपालिका वडा नं. १ घर भई हाल भक्तपुर बस्ने गणेश नेपालीले बा.प्र. ०२-०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकल राहदानी विभागको २ नं. गेट अगाडिको ‘नो पार्किङ’ क्षेत्रमा पार्क गरेका थिए।

सो स्थानमा ड्युटीमा खटिएकी काठमाडौँ महानगरपालिकाकी नगर प्रहरी जवान मिना नगरकोटीले सिठी फुक्दै त्यहाँ पार्किङ गर्न मिल्दैन भनी अन्यत्र लैजान अनुरोध गर्दा नेपालीले सुरुमा सो कुरालाई बेवास्ता गरेका थिए।

मोटरसाइकल नहटाए ह्विल लक लगाइदिने चेतावनी दिएपछि नेपाली नगर प्रहरीसँग रिसाउँदै गालीगलौजमा उत्रिएका थिए। नगर प्रहरी जवानले आफ्नो मोबाइलबाट सो भिडियो बनाउन थालेपछि नेपाली मोटरसाइकल लिएर विभागको ३ नं. गेटतर्फ भागेका थिए।

तर, ११:२० बजेतिर नगर प्रहरी जवान नगरकोटी ३ नं. गेट अगाडि पुग्दा नेपालीले पुनः नो पार्किङ क्षेत्रमै मोटरसाइकल राखेर बसिरहेको पाएपछि उनको मोटरसाइकलको पछाडिको टायरमा ह्विल लक लगाइदिएकी थिइन्, जसलाई लिएर दुई पक्षबीच भनाभन भएको स्थानीयले समेत देखेका थिए।

त्यसपछि नगर प्रहरीले उक्त मोटरसाइकल कार्यालयसम्म लैजान गाडी पठाइदिन रिपोर्ट गरेकी थिइन् भने १२:०० बजेतिर प्रहरी बिट टेकुबाट खटिएका प्रहरी हवल्दार बिकास बुढाथोकीले नेपालीलाई प्रारम्भिक सोधपुछ र सम्झाइबुझाइ गरेका थिए। सो क्रममा नेपाली भने २ नं. र ३ नं. गेटतर्फ निरन्तर ओहोरदोहोर गरिरहेका थिए।

दिउँसो १२:१२ बजेको समयमा नेपालीले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकालेर पानीको बोतलमा राखेको अर्की नगर प्रहरी जवान मिना तामाङ समेतले देखि सोधपुछ गर्दा, नेपालीले ‘मेरो मोटरसाइकलको पेट्रोल निकाल्न नपाउने ?’ भन्दै बोतल आफ्नो ज्याकेटको भित्री भागमा लुकाएर हिँडेका थिए।

सीसीटीभी फुटेज अनुसार, नेपालीलाई पेट्रोल निकाल्ने कार्यमा अन्य एक जना व्यक्तिले सहयोग गरेको र दिउँसो १:३६ बजे महानगर प्रहरीको गाडी घटनास्थल आइपुगेको देखिन्छ। त्यसको लगत्तै १:३७ बजे नेपालीले २ नं. गेटतर्फबाट आफ्नो शरीरमा पेट्रोल छर्की भिजिसकेको अवस्थामा दौडिँदै ३ नं. गेट अगाडि आइपुगेका थिए। १:३८ बजे नागरिकहरूको सहकार्यमा आगो निभाइएको र १:३९ बजे प्रहरीले तत्काल प्रतिक्रिया जनाउँदै उपचारका लागि समन्वय गरेको सीसीटीभी फुटेजमा कैद भएको छ।

कार्यालयबाट जानकारी पाएलगत्तै घटनास्थल पुगेका प्रहरी हवल्दार बिकास बुढाथोकी सहितको टोलीले शरीरका विभिन्न भाग जलेको अवस्थामा रहेका घाइते नेपालीलाई तत्कालै बा २ ज १५८० नम्बरको ट्याक्सीमा राखी महाबौद्धस्थित वीर अस्पतालमा उपचारका लागि पुर्‍याएको थियो।

घटनास्थलमा पुगेको प्रहरी वृत्त कालिमाटीको टोलीले मुचुल्का तयार गरी अनुसन्धानका लागि पेट्रोल राखिएको बोतल, लाइटर र घाइतेको जलेको कपडा समेत सङ्कलन गरेको थियो। प्रहरी वृत्त जनसेवाको टोलीले अस्पताल पुगेर घाइतेको अवस्थाको भिडियोग्राफी तथा साक्षीहरूको कागज गराउने कार्य सम्पन्न गरेको थियो।

वीर अस्पतालमा उपचाररत घाइते गणेश नेपालीको असार २६ गते बिहान ११:१९ बजे उपचारकै क्रममा मृत्यु भएको आधिकारिक जानकारी डि.अ. मार्फत प्राप्त भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *